दाङमा खालि जग्गाको अध्ययन गर्दै प्रदेश मन्त्री सोनाम, दाङ होला त प्रदेशको राजधानी ?

  
  प्रकाशित मितिः शनिबार, असार ३०, २०७५       | 272 Views   ||

पाण्डव शर्मा
घोराही । पाँच नं प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले घोराही उप–महानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गाको अनुगमन गरेका छन् ।

उनले घोराही उपमहानगरपालिकामा रहेको स्वर्गद्धवारी आश्रमको जग्गाको प्रत्यक्ष अवलोकन गरेका हुन् । त्यसैगरी वडा नं १६ का पर्यटकी क्षेत्र तथा खालि जग्गाहरुको अवलोकन गरेका हुन् । सोनामले सरकारी स्वामित्वमा रहेका जग्गाहरुको अवस्था र सम्भाव्यताको वारेमा जानकारी समेत लिएका छन् ।

पाँच नं प्रदेशमा सबैभन्दा राम्रो र समथर भुगोल भएको दाङ जिल्ला भएको उनले बताए । ‘दाङमा भौतिक पूर्वाधार निर्माणका लागि थुप्रै सरकारी स्वामित्वको जग्गा छ,’ उनले भने, ‘यहाँ पर्यटकीय क्षेत्रहरु पनि प्रशस्त छन्, ती क्षेत्रको प्रवद्र्धन गर्न हामीले प्रदेश सरकारको तर्फबाट योजना बनाउने छौं ।’

पाँच नं प्रदेशलाई पर्यटकीय हव बनाइने सोनामले बताए । लुम्विनी, सुकरौकोट, स्वर्गद्धारी र ठाकुरद्धारालाई समावेश गरेर वृहत योजना सहित पर्यटन क्षेत्रको विकास गरिने उनले बताए ।

सो क्रममा १६ नं वडाका अध्यक्ष लच्छिन बुढा मगरले वडाका विभिन्न क्षेत्रमा जलाशय संरक्षण तथा चिल्ड्रेन पार्क निर्माणको योजना प्रस्तुत गरेका थिए ।

त्यसैगरी १४ नं वडाको स्वर्गद्धारी आश्रमको जग्गा निरिक्षण गर्दै सोनामले आश्रमको भौतिक पूर्वाधार निर्माणका लागि यस पटक प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । त्यसैगरी उनले घोराहीको पूरानो बसपार्कमा रहेको निर्माणाधिन सभागृहको अवलोकन समेत गरेका थिए ।

उक्त अवसरमा १४ नं वडाका अध्यक्ष शक्तिराम डाँगीले बसपार्क नजिकै रहेको पार्कको विकास लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले पाँच नं प्रदेशको राजधानी दाङ नै उपर्युक्त भएकाले आवश्यक कदम चाल्न कानून मन्त्री सोनामलाई आग्रह गरेका थिए । ‘भौगोलिक, प्रशासनिक र राष्ट्रिय सुरक्षाको हिसावले दाङ जत्तिको राजधानी बन्न अरु जिल्ला उपर्युक्त छैनन्,’ उनले भने, ‘राजधानी बन्नका लागि यहाँ प्रशस्त जग्गा छ ।’

कानून मन्त्री सोनामले प्रदेशका सबै जनताले दिपावली गर्ने गरी प्रदेशको राजधानी तोकिने बताए । ‘हामी यही नाममा विभाजनको रेखा कोर्न चाँहदैनौं,’ उनले भने, ‘राजधानी तपाईहरुले अनुमान गरे अनुसार नै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *