सेवा प्रवाहमा घोराहीको महत्वपूर्ण उपलब्धी, कर संकलन वडा कार्यालयबाटै

  
  प्रकाशित मितिः बुधबार, साउन २, २०७५       | 223 Views   ||

पाण्डव शर्मा घोराही ,

आर्थिक वर्ष २०७५÷०७६ देखि घोराही उप–महानगरपालिकाले वडा कार्यालयबाटै कर सङ्कलनको काम गर्ने भएको छ । अहिले उप–महानगरवासीहरु घर जग्गा लगायतका विभिन्न कर तिर्न उप–महानगरपालिकाको कार्यालयमा आउन बाध्य भएका छन् ।
कर संकलनलाई व्यवस्थित गर्नका लागि सफ्टवरको निर्माण गरिएको मेयर नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार अब कर संकलनको काम वडा कार्यालयबाटै कम्युटर सिष्टमबाट गरिने छ । उप–महानगरपालिकाको १९ वडामा भने नेट र विजुलीको व्यवस्था नभएकाले तत्काल यो कार्यक्रम लागू हुने छैन । ‘१९ नं का जनतालाई पनि हामीले सामान्य कर तिर्नका लागि उप–महानगरपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्ने छौं,’ चौधरीले भने, ‘तत्काललाई त्यहाँ रसिदबाट भएपनि कर संकलनको काम गरिने छ ।’
वडा कार्यालयबाट कर संकलन हुँदा उप–महानगरवासीहरुलाई निकै सहज हुने उनको भनाई छ । ‘विगतका नगरपालिका र गाविस मिलेर उप–महानगरपालिका बनेको हो, यसको भूगोल निकै ठूलो छ,’ चौधरीले भने,‘जनतालाई संघीयता कार्यान्वयन पछि झन बढि दुःख भएको थियो ।’ अब जनताले विकासको माग गर्न उप–महानगर मै आउनुपर्ने परिपाटीको अन्त्य भएको उनको भनाई छ ।

उप–महानगरले सबै वडाहरुमा भवन निर्माणको कामलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । अहिले केही वडाहरु मात्रै आफ्नै भवनमा काम गरिरहेकाछन् । केही वडाहरु भाडामा बसेर वडाको कार्यालय सञ्चालन गरिरहेका छन् । यहि कारण वडाहरुको व्यभार समेत बढेको छ ।

सबै वडामा स्वास्थ्य क्लिनिक

उप–महानगरपालिकाले सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भएको छ । उप–महानगरवासीलाई सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य क्लिनिकको अवधारणा ल्याइएको हो । ‘आम सर्वसाधारणले सानो तिनो रोगको उपचार स्वास्थ्य क्लिनिकहरुबाटै पाउन भन्ने हाम्रो उद्देश्य हो,’ मेयर चौधरीले भने, ‘बजार क्षेत्रमा समेत शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ ।’

वडा जोड्ने सडक कालोपत्रे उच्च प्राथमिकतामा

घोराही उप–महानगरपालिकाले सबै वडा कार्यालय जोड्ने सडकलाई तत्काल स्तरवृद्धि सहित कालोपत्रे गर्ने भएको छ । सबै वडा कार्यालय जोड्ने सडकको टूयाक भने खुलिसकेको उप–महानगरपालिका कार्यालयले जनाएको छ । सबै वडामा समानुपातिक विकास पुगोस भन्ने उद्देश्यले वडा कार्यालयबाट उप–महानगरपालिकाको कार्यालय जोड्ने सडकलाई कालोपत्रे गर्न थालिएको चौधरीले जानकारी दिए । विकासको प्रमुख आधार भनेकै सडक भएकाले सडक कालोपत्रे र स्तरवृद्धिमा उप–महानगरको ध्यान केन्द्रित भएको उनी बताउँछन् । ‘सडक सञ्जाल विना उप–महानगरपालिकाले आफ्नो विकासका कामहरु जनताको माझमा लैजान सक्दैन,’ चौधरीले भने, ‘आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै घोराही उप–महानगरपालिका क्षेत्रभित्र १४ मिटर सडक खण्डमा कालोपत्रेको काम भएको छ ।’

शहरी क्षेत्रका भित्री गल्लीहरु पनि धमाधम कालोपत्रे भइरहेकाछन् । उप–महानगरले केन्द्रिय अनुदान, सडक बोर्डको सहयोग तथा आन्तरिक लगानीबाट सडक कालोपत्रेको काम गरिरहेको छ । स्थानीय लागत सहभागीतामा पनि सडक कालोपत्रेको काम भइरहेको छ । स्थानीय लागत सहभागितामा सडक कालो पत्रे गर्न उप–महानगरवासीले इच्छुक भएको मेयर चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *