जनतालाई घर आँगनबाटै सेवा दिन खोजेका छौं

  
  प्रकाशित मितिः बुधबार, साउन २, २०७५       | 229 Views   ||

 

नरुलाल चौधरी, मेयर घोराही उप–महानगरपालिका

आर्थिक वर्ष २०७४, ०७५ सकिएको छ । यो बीचमा गरेका कामहरुको कसरी समिक्षा गर्नुभएको छ ?

हामीले आव २०७४÷०७५ मा गरेका कामको बारेमा समिक्षा गरेका छौं । हामीले सार्वजनिक सुनुवाई गरेका छौं । हामीले जनताको माझ यो बीचमा के ग¥यौं भनेर प्रष्ट रुपमा जानकारी राखेका छौं । घोराही उप–उपमहानगरपालिकाको पहिलो प्राथमिकता भनेको पूर्वाधार निर्माण हो । पूर्वाधारको विकास पछि अन्य विकास गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।

त्यसमा पनि घोराही उप–महानगरपालिकाले विषेश गरेर वडा कार्यालयको केन्द्र भाग देखि उप–महानगरपालिकाको केन्द्र भागसँग जोड्ने कुरालाई मुख्य प्राथमिकता दिएका थियौं । त्यहि कुरालाई अहिले पनि प्राथमिकता दिएका छौं । अहिले सबै ठाउँमा टू¥याक खुलिसकेकाछन् । खुलिसकेका टू¥याकमा स्तरवृद्धि गर्ने काम भइरहेको छ । हामीले गत बर्ष उप–महानगर क्षेत्र भित्र १८ किलोमिटर सडकमा कालो पत्रे गरेका छौं । आगामी बर्ष सडक कालोपत्रेलाई प्रमुख प्राथमिकतामा राखेको छौं । आगामी बर्षमा धेरै जसो उप–महानगर जोड्ने वडा सडकहरुमा कालोपत्रे हुन्छ । सैंघा जस्तो विकट ठाउँमा हामीले यस बर्ष टूयाक खोलेका छौं । आगामी बर्ष त्यसलाई स्तरवृद्धि गर्दै १२ महिना गाडी मोटर चल्ने अवस्थाको सृजना गर्ने छौं ।

अन्य कुन कुन क्षेत्रमा सुधार भएको छ ?

त्यसैगरी कृषिको विकास र खानेपानीको संरक्षणका लागि हामीले विभिन्न ठाउँमा ड्याम निर्माण गर्ने कुरा गरेका छौं । यस बर्ष मात्रै ६ वटा ड्याम निर्माण गरेका छौं । विगत सहित हाम्रो उप–महानगरमा कूल ड्यामको संख्या १२ वटा रहेको छ । चरिंगे र भोटे दह पनि कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण छन् । केही ठाउँमा माछापालन भएको छ । केही ठाउँमा बोटिङ शुरु हुन थालेको छ । यी क्षेत्रलाई हामीले पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न सक्छौं । हामी बहुउदेश्य ढंगले अगाडी बढाइरहेका छौं । ड्याम निर्माण भएपछि तल्लो भागका कुवा सुक्ने समस्याको अन्त्य हुँदैछ । दाङलाई खण्डिकरण हुनबाट बचाउन यी आयोजनाको महत्वपूर्ण भूमिका रहनेछ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने हाम्रो प्रमुख उद्देश्य हो । कृषकलाई पनि व्यसायी खेति तर्फ लगाउन पहल गरिरहेका छौं ।

यो त पूर्वाधार विकास तर्फ भयो । तपाई निर्वाचित भइसकेपछि यहाँका उप–महानगरवासीले के कुरा फरक पाए ?

दैनिक प्रशासनिक काममा धेरै सहज भएको छ । हाम्रो उप–उपमहानगरपालिका हिजोका गाविस र नगरपालिका मिलेर बनेको हो । हामीसँग हिजो संरचना थिएन । धेरैजसो वडा कार्यालयका भवननै थिएन । पुग्दो मात्रामा कर्मचारी थिएन । अहिले यी सबै कुराको हामीले व्यवस्थापन गरेकाछौं । कतिपय कार्यालय भाडामा कतिपय आफ्नै भवनमा सञ्चालन भएका छन् । यस वर्ष केही वडामा भवन निर्माणको काम भएको छ । आगामी वर्ष केही वडाहरुमा भवन निर्माणको योजना परेको छ । हामीले वडाबाटनै सबै काम गर्न खोज्दै छौं । वडाबाट हुने जम्मै काम त्यहिबाट सेवाप्रवाह गर्ने गरेका छौं । आम नगरवासीले उप–महानगरको केन्द्र भागमा आएर काम गर्नुपर्ने अबस्था छैन ।

अहिले पनि उप–महानगरवासीहरलाई कर बुझाउनको लागि उपमहानगरको कार्यालयमै आउनुपर्ने बाध्यता रहेको छ । यो कहिलेसम्म कायम रहन्छ ?

अहिले कर बुझाउने कुरामा केन्द्र भागमा आउनुपर्ने समस्या छ । त्यसपछि हामीहरुले कसरी सम्भव हुन्छ भनेर खोजीगरेका छौं । सफ्टवयर मार्फत कम्युटरबाट कर बुझ्ने व्यवस्था गर्न खोज्दै छौं । सबै वडामा यस वर्ष नेट जोड्ने काम गरेका छौं । हामी साउन पछि सबै वडा कार्यालयमा कर संकलनको काम हुन्छ । आर्थिक वर्ष २०७४÷०७५ मै वडा नं १० बाट कर संकलनको काम शुरु भएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा थप १७ वटा वडामा त्यहिबाट कर संकलनको काम हुन्छ । सैघा मात्रै यस्तो वडा हो जहाँ अहिले हामीसँग नेट छैन र विद्युत छैन । जसका कारण समस्या आएको हो । ती ठाउँका जनतालाई पनि कसरी सहज बनाउने भनेर हामीले छलफल गरिरहेका छौं । सकेसम्म त्यहाँका जनतालाई पनि उप–महानगरसम्म आउन नपर्नेगरी व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

रसिद बाटै भएपनि त्यहि कर उठाउने तयारी भइरहेको छ । जनताहरुलाई हाम्रो सम्पूर्ण सेवा वडाबाटै हुन्छ भन्ने कुराको अनुभुति दिलाउन खोजेका छौं । सानातिना विकासका लागि मन्त्रालयनै धाउनुपर्छ भन्ने कुराको अन्त्य हुन्छ । स्थानीय सरकारले सबै सेवा,सुविधा जनतालाई दिन्छ । सिंहदरवारको अधिकार गाउँ,गाउँमा भनेको पनि यहि हो । जनप्रतिनिधि आइसकेपछि धेरै कुरामा सुधार भएको छ । घोराहीमा फोहोर व्यवस्थापन र वर्गीकरण गर्ने कुरामा राम्रो उपलब्धी भएको छ । यस आम जनसमुदायले हामीलाई निकै साथ दिनुभएको छ । फोहोरलाई मोहोर बनाउने हाम्रो अभियान छ । फोहोरबाट उर्जा निकाल्नका लागि हामीले टेण्डर प्रक्रियामा गएका छौं । त्यसैगरी बजारको उचित व्यवस्थापनका लागि ठेलागाडाहरुलाई व्यस्थित गरिएको छ । जथाभावी तरकारी तथा फलफूलको व्यापार गर्ने परिपाटी अन्त्य भएको छ । स्वास्थ्यको क्षेत्रमा हामीले राम्रो उपलब्धि हासिल गरेका छौं । १९ ओटंै वडामा खोप क्लिनिक अनिवार्य हुनुपर्छ भन्ने कुरालाई अनिवार्य बनाएका छौं । अब छिट्टै कार्यान्वयन नभएका वडाहरुमा तत्काल स्वास्थ्य किल्निक सञ्चालन गर्ने छौं ।

विगत देखिनै यस क्षेत्रमा औद्योगिक क्षेत्र र चक्रपथको योजनाको चर्चा चल्दै आएको छ । यसको प्रगति के भइरहेको छ ?

अहिले हामीले बैकल्पि मार्गको अबधारणा आएको छ । कुइरेपानि देखि सर्रा सडकलाई १८ मिटर चौडा गरिएकोछ । यस बर्ष सबै जनताको सहयोगमा काम भएको छ । मूख्यमन्त्री ज्यूले यस वर्ष उक्त सडकका लागि १० करोड रुपैयाँ विनियोजन गर्नुभएको छ, यो छिट्टै स्तरवृद्धि हुन्छ । हाम्रो चाहना भएको तुलसीपुरबाट लमही हुँदै अन्यत्र जाने जति पनि सवारी साधनहरु छन, उनीहरुलाई घोराही आउनुपर्ने काम छैन भने त्यहि बैकल्पिक मार्गबाट जान्छन् ।

यसले घोराही बजार क्षेत्रमा सवारी चाप निकै घट्ने छ । सडक दूर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा यसले हामीलाई निकै सहज बनाउने छ । अहिले प्रदेश सरकारले कुइरेपानीदेखि धारपानी हुँदै सडकका लागि बजेट विनियोजन भएको छ ।त्यसैगरी घोराहीबाट हापुरहुँदै तुलसीपुर रक्षाचौर आँखा अस्पताल जाने बाटो टेण्डर भइसकेको छ । अहिले मुकुर्टी प्यूठान सडक घोराही हुँदै सडकलाई पनि माथिल्लो बेल्टबाट लगिने छ ।
यसै बर्ष यो मुख्य हाइवे सडक फोरप्लेनको प्रक्रिया अघि बढेको छ । तल्लो र माथिल्लो भेग जोड्यो भने दाङ भ्यालीकै एउटा रिङ रोड हुन सक्छ । प्रदेश सरकारले घोराही र तुलसीपुर उप–महानगरपालिकालाई जोडेर एउटै महानगरपालिका बनाउने लक्ष्य लिएको छ । हामीले रिङ रोडले प्रस्तावित महानगरलाईनै समेट्न सकोस भन्ने चाहन्छौं । औद्योगिक क्षेत्रको विषयमा निकै पहल भएको छ । घोराही उप–महानगरको प्रथम नगरसभाबाट पनि घोषण गरेका छौं । यस वर्ष कन्सलटेन्सहरु आएर त्यो ठाउँको अध्ययन गरेका छन् । म त्यहि ठाउँमा गएर जनतासँग छलफल गरिरहेको छु । त्यहाँका जनताले औद्योगिक क्षेत्रका लागि समर्थन गर्नुभएको छ । उद्योग वाणिज्य संघ पनि लागिरहेको छ । यसका लागि म उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

तपाई राजनीतिमा इमान्दार व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । तर, तपाई मेयर भइसकेपछि तपाई सल्लाकारहरुको घेरावन्दीमा पर्नु भएको छ भन्ने बजार हल्ला छ । के तपाई माथि सल्लाहकारहरु हावी भएकै हुन् त ?

हैन, हैन । यो मान्छेलाई लागेको मात्रै हो । सल्लाहकार भनेका घेरामा राख्ने बिषयनै होइन । उहाँहरुले सल्लाह दिने भएको घोराही उप–महानगरपालिकाको सिंगो विकास, सेवा प्रवाह कसरी गइरहेको छ र अँझ कसरी जनताका नजिक पु¥याउन सकिन्छ भनेर हो । उहाँहरुले कहि,कतैं पनि जनतालाई भेटघाट गर्ने कुरामा रोक्नु भएको छैन । जनताको काम गर्ने कुरामा उहाँहरुले कहिले पनि गलत सल्लाह दिनुभएको छैन । सल्लाहकार भनेकै उप–महानगरलाई सहयोग गर्ने हो । केही मान्छेलाई लाग्न सक्छ, लागेका कुरा होलान यथार्थ त्यो होइन । म घोराही उप–महानगरपालिकाको प्रमुख भएर काम गर्दा कहि, कतै त्यस्तो भएको मैले महशुस गरेको छैन ।

र, अन्त्यमा केही भन्नु छ कि ?

म सम्पूर्ण उप–उपमहानगरपालिकावासीहलाई यस क्षेत्रको विकासमा एकतावद्ध भएर लाग्न आग्रह गर्द छु । हाम्रो एक्लो प्रयासले मात्र विकास सम्भव छैन । यसका लागि सबै पक्ष र सरारकोरवाला निकायहरबीच साझेदारी हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *