छैनन् यतिखेर
मेरा सबै दौंतरीहरु
हेर्दा हेर्दै, सम्झदा–सम्झदै
खोलाझैं बगेर गए कि
अथवा
हावामा कावा खाँदै
बादलको देशमा पुगे कि
जिउँदै छन्
एउटै बेञ्चमा बसेर
पढेका स्कूलहरु
जिस्किदै खेल्दै गरेका
हरिया चउरहरु
र, अघिपछि गर्दै हिडेका
लामा–लामा बाटाहरु
कतै देख्छु सपनामा पनि
खै, कता हराए
आफन्तभन्दा पनि प्रिय दौंतरीहरु
कसरी विछोड गराउँदो रहेछ
समयले
जिउँदैछन् सँगै हिडेका
पदचापहरु
जिउँदै छन् मनभरि गडेका
सम्झनाहरु
एकलास–एकलास समय
यादगारीका श्रृंखलाहरु
आइरहन्छन्
निरन्तर–निरन्तर
थोरै कुरा नजान्दा
भारतीय शिक्षकले
‘तुमलोग हिमालयके खच्चड हो’
भन्दा, एकै स्वरमा
कडा प्रतिवाद गरेका थियौं
र, भनेथ्यौं
‘तुमलोग इण्डियन गधे हो’
समयको फेरले
कता हराए ती साथीहरु
कतै हरायो होला
त्यो भारतीय शिक्षक पनि
प्रिय दौंतरीहरु !
छिमेकीको त्यो हेपाहा प्रवृत्ति
झन् मौलाएको छ यतिखेर
अहिले राष्ट्रवाद हराएको छ
देशभक्ति हराएको छ
तर पनि प्रिय दौंतरीहरु
तिम्रा सपनाहरु फुलाउने
अभियानहरु टुटेका छैनन्
समयको ज्वारभाटासँग
निरन्तर जुधिरहेछन् ।