लोकतन्त्रको लोकतन्त्रीकरण

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 130 Views   ||

खिमलाल देवकोटा
आजसम्मको नेपाली राजनीति यात्रा जम्मा जम्मी लोकतन्त्रका लागि गरिएको लडाइँदेखि लडाइँसम्म भने फरक पर्दैन । जेल, नेल, हत्कडी, हिरासत, यातना, बेपत्ता जस्ता थुप्रै विधाहरू लोकतन्त्रका लागि गरिएका आन्दोलनका पर्याय बन्न पुगेका छन । राणा र राजाको शासन दुवै लोकतन्त्रको आन्दोलनका लागि नकारात्मक कोणबाट प्रेरणा थिए । राणाको विरोध गर्नु लोकतान्त्रिक आन्दोलनको धर्म थियो । राणा र राजाका विरुद्धको आन्दोलनमा सहभागी हुुनु त्यतिबेला जनताको कर्म थियो । राणा र राजाका शासनका विरुद्धमा जे ग¥यो त्यो सबै जायज हुने त्यतिबेलाको मर्म थियो । तर अब राणाको शासन,राजाको शासन पनि बिदा भयो । जनताको शासन कायम भएको छ । फेरि पनि सडक शान्त भएका छैनन् । राणा र राजाका हिमायतीहरू किनारा लागे तैपनि भिन्न भेषमा नेपाली जनताको त्याग, बलिदान र सौर्यबाट प्राप्त गणतन्त्रलाई ‘केरा गणतन्त्र’भन्नेहरूको कमी छैन । निषेधाज्ञा तोडेर ल्याएको गणतन्त्र निषेधाज्ञा तोड्दैमा उल्टिन्छ भन्ने भ्रम पनि यदाकदा देखापर्ने गरेको छ ।

यता झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकार छ । तर गोप्य मतदानको माध्यामबाटै समर्थन दिने जनतामा पनि राजनैतिक परिवर्तन पछि आर्थिक परिवर्तनको अपेक्षा पूरा नभएकोमा विस्तारै बेखुशी फैलँदो छ । गणतन्त्रका समर्थक आर्थिक विकासको अपेक्षा पूरा नभएका कारणले बेखुशी हुने, उता गणतन्त्रमा बेखुशी हुनेहरू बेला बखतमा गणतन्त्रकै विरुद्धमा हुने गरी सडकमा ‘केरा गणतन्त्र’ को नारा लगाउने संयोग मात्रै हैन होला । गणतन्त्रका समर्थक र विरोधी दुवै बेखुशी तर भिन्न ढंगले यो आजको यथार्थ हो ।

गणतन्त्र विरोधीहरूको लोकतन्त्रीकरण

स्वाभाविक छ कि जो गणतन्त्रका पक्षपाती थिएनन,उनीहरू प्राप्त गणतन्त्रलाई होच्याउने गरी केरा गणतन्त्र भन्दछन् । तिनै मानसिकताहरू लामो संघर्ष त्याग र बलिदानपछि भएको ऐतिहासिक राजनीतिक परिवर्तन र प्राप्त गणतन्त्रलाई बदनाम गर्न अनेकन बाहनाबाजी गर्ने गर्दछन् । यो उनीहरूको धर्म हो । तर राज्यको धर्म यो कुराको पुष्टि गर्नु हुनेछ कि गणतन्त्र,गणतन्त्रका विरोधीहरूका लागि पनि लाभदायक व्यवस्था हो ।

गणतन्त्र विरोधीहरूलाई पनि गणतन्त्रले हानी गर्ने छैन । यसका लागि सबैभन्दा पहिला गणतन्त्र विरोधीहरूको लोकतन्त्रीकरण गर्न जरुरी छ । गणतन्त्र,राजतन्त्र वा राणातन्त्र भन्दा कैयन गुणा बढी लाभदायक छ । राणा र राजाहरूको वैयक्तिक मनोमानी अन्त्य गर्ने बाहेक देश र जनताका लागि हानी गर्ने काम गणतन्त्रले के ग¥यो ? अर्थात गणतन्त्र किन उनीहरूका लागि प्रिय हुन सकेन । जबकि आम जनता र देशका लागि यही कुरा प्राण भन्दा प्यारो बन्यो । बरु गोली खान तयार छु गणतन्त्रको एजेण्डा भन्दा पछि हट्न सक्दिनँ भन्ने शहीदहरूका बाचा र बरु मृत्यु स्विकार्य छ राजतन्त्र स्विकार्य छैन भन्ने वाणीहरूको मर्म र महत्व बुझाउन जरुरी छ । यो कार्य गणतन्त्रवादीहरूका कथ्य र कर्म दुवैले पुष्टि गर्नुपर्छ । जरुरी छ । अन्यथा अथाह बलिदानबाट प्राप्त गणतन्त्रको अवमूल्यन हुने खतरा बढ्दो छ ।

गणतन्त्रवादीहरूको गणतान्त्रिकरण

गणतन्त्रवादी हुनु नै लोकतन्त्रवादी हुनु हो भन्ने सहज परिभाषाबाट मुक्त हुन जरुरी छ । बरु गणतन्त्रवादीहरूको पहिला गणतान्त्रिकरण र त्यसपछि लोकतन्त्रिकरण गर्नु त्यतिकै जरुरी छ भन्नेबाट आरम्भ गर्न उपयुक्त हुने छ । सँगसँगै गणतन्त्र तथा लोकतन्त्रका सञ्चालक,यसका संरचनाहरू,यसका मालिक जनताहरूको आनीवानी व्यवहार र आचरणमा पनि लोकतन्त्रिकरण गर्न जरुरी छ । गणतन्त्रका जिम्मेवार संस्थाहरूको लोकतन्त्रिकरणको खाँचो छ । गणतन्त्रवादीहरूको कार्यशैलीमा गणतन्त्रिकरण हुन जरुरी छ ।

लोकतन्त्रको लोकतन्त्रिकरण

लोकतन्त्रका लागि विगत ७० वर्षदेखि लडाइँ लडेको कुरा साँचो हो । २००७ सालमा प्राप्त सीमित लोकतन्त्र जोगाउन नसकेको पनि साँचो हो । करिब दश वर्षको सीमित लोकतन्त्रको अभ्यासपछि लोकतन्त्र खोसिएको पनि साँचो हो । खोसिएको लोकतन्त्रको जगमा दलविहीन पञ्चायतले शासन गयो । तर लोकतन्त्रका हिमायतीहरू अविराम संघर्षमा होमिइरहे । निरंकुश राजतन्त्रले घुँडा टेक्न बाध्य भएकै हो । तै पनि जनमत संग्रहका नाममा त कहिले संवैधानिक राजतन्त्रका नाममा सो प्रवृत्तिले आफूलाई जोगाउँदै, रूप फेर्दै, निरंकुशता कायम राखेको पनि साँचो हो । अन्ततः हातहतियार सहितको सशस्त्र विद्रोह र शान्तिपूर्ण संघर्षको संयुक्त तरिका मार्फत निरंकुशता ढालिएको साँचो हो । सो निरंकुशता ढालिएको एकदशक नपुग्दै त्यतिका बलिदानले प्राप्त गरेको गणतन्त्र ‘केरा गणतन्त्र’ भनिरहँदा पनि सोहि जमात चुपचाप रहनु चाहिँ अनौठो विषय हो । गणतन्त्र प्राप्तिको आन्दोलनका लागि निषेधाज्ञा,कफ्र्यु तोडिएको, कानुन, संविधानको उल्लंघन पनि भएकै हो । सेना,प्रहरी र कर्मचारीलाई पनि निरंकुश सत्तालाई साथ नदिन र त्यसका विरुद्ध विद्रोह गर्न भनिएकै हो । त्यति गरेर प्राप्त गरेको गणतन्त्रमा फेरि यतिबेला कतिपय तिनै पात्रहरू निषेधाज्ञा तोड्न उद्दत हुने स्थितिको सिर्जना किन भयो ? गम्भीर समीक्षाको विषय बन्नुपर्छ । गणतन्त्र प्राप्तिको आन्दोलनमा कुनै योगदान नभएका र भर्खर पार्टी खोलेर राजनीतिको प्रारम्भिक कक्षामा रहेकाहरू प्रति सहानुभूति बाहेक अरु केही छैन । तर गणतन्त्रका लागि संघर्षको कीर्तिमानीनै कायम गरेको नेपाली कांग्रेसको ‘केरा गणतन्त्र’ वालाहरूसँगको साझेदारी गम्भिर विषय हो । नेपाली कांग्रेसभित्रैको समस्याका कारणले ऊ त्यो ठाउँमा पुगेको हो ? वा उसलाई त्यो ठाउँमा पुयाउनका लागि हिजोका गणतन्त्रवादी सहयात्रीहरूको योगदान छ ? भन्ने बारेमा हिसाब,किताब गर्नैपर्ने भएको छ । नेपाली कांग्रेसलाई त्यो ठाउँबाट उद्धार गरेर ल्याउनु आजको आवश्यकता हो ।

लोकतान्त्रिक संस्थाहरूको लोकतन्त्रीकरण

लोकतन्त्र बहाली भएको छ । लोकतान्त्रिक संस्थाहरू एकसे एक मैदानमा कार्यरत छन । तर ती संस्थाहरूको आचरण,व्यवहार,काम कारबाही र शैलीमा लोकतान्त्रिक छाँया देखापरेन भने,ती संस्थाहरूले सम्पादन गर्ने काममा लोकतन्त्रको आभाष भएन भने संस्था लोकतन्त्रिकरण हुनु र नहुनुको खासै अर्थ हँुदैन । लोकतन्त्र भन्ने मात्रै हैन,लोकतन्त्र देखिन पनि जरुरी छ । लोकतन्त्र जप गर्ने मन्त्र मात्रै हैन, यो त काम व्यवहारमा प्रकट पनि हुन आवश्यक छ । लोकतन्त्र आफैँले फलाक्ने विषय मात्रै हैन, जनजनले आत्मसात पनि गर्न जरुरी छ । एक दशककै क्रममा लोकतन्त्र प्रति देखापरेका यी समस्या चानचुने होइनन् । यसमा कुनै ‘ग्य्राण्ड डिजाइन’ छैन भने जनजनका मनमा लोकतन्त्र भिजाउन जरुरी छ । यसका लागि लोकतन्त्रका लागि स्थापित संस्थाहरूको लोकतन्त्रीकरणनै उत्तम उपाय हो । ती संस्थाहरूको काम व्यवहारमा पारदर्शिता,कार्य सञ्चालनमा समावेशीता र जवाफदेहीपन र ती संस्थाहरूको निर्णय प्रकृयामा लोकतान्त्रिक मान्यताको अवलम्वन कम्तीमा पनि अपेक्षित विषय हुन । जनताको सहज पहँुचको ग्यारेण्टीले मात्रै सो संस्था जनताको आफ्नो संस्था बन्ने छ । जब जनताको आफ्नो संस्था बन्छ, तब जनताको प्रत्यक्ष नियन्त्रण,निगरानी र आवश्यकता परे हस्तक्षेप समेतको विधिद्वारा देखापरेका समस्याको सही निदान गर्न सकिने छ । यसो गर्न कुनै पनि हालतमा चुक्न हुँदैन् ।
लोकतान्त्रिक गणतन्त्र प्राप्तिको एक दशकको क्रममा देशले स्थिर सरकार पाएको छ । राजनीतिक अस्थिरताका कारणले निम्तिएका सबै समस्या अब दोहोरिने छैनन भनेर आशा गरिएका बेला एका एक विभिन्न बहानामा निषेधाज्ञा तोड्ने र कानुन र संविधानको अवज्ञा गर्ने व्यवहार देखापर्नु सामान्य विषय हैनन् । खडिखडाउ जनताका प्रतिनिधिहरूको संसद्ले एउटा अधिवेशन पूरा काम गर्न नपाउँदै कानुन संसदबाट हैन, सडकबाटै बन्नुपर्छ भन्ने दबाबहरू लोकतन्त्रका लागि सुहाउने कुरा पटक्कै हैनन । लोकतन्त्रसँग पटक्कै नसुहाउने यस्ता काम कारबाहीको उठान लोकतन्त्रमा विश्वास राख्ने पार्टी समेतको संलग्नतामा हुने कुराले अस्वभाविक जिज्ञासा जन्माएको छ । फेरि पनि यसो हुनुको समस्या सत्ता पक्षमा हो वा प्रतिपक्षमा ? खोज्न जरुरी छ । बस्तुनिष्ठ भएर समस्याको पहिचान र सो को समाधान यतिबेलाको खाँचो हो । अलोकतान्त्रिक गतिविधिका विरुद्धको अभियान लोकतान्त्रिक संस्थाहरूको अझ बढी लोकतन्त्रीकरण मात्रै हुन्छ । लोकतन्त्रमा स्थापित संस्थाहरूको लोकतन्त्रिकरण नै लोकतन्त्रवादीहरूका लागि सर्वाधिक शक्तिशाली हतियार हो । यो हतियार बलियो बनाउन फेरि पनि लोकतन्त्रकै लोकतन्त्रिकरण गणतन्त्रकै गणतन्त्रिकरण हो । विकास र समृद्धिको यात्रामा अकण्टक लाग्नपर्ने बेलामा गणतान्त्रिकरण र लोकतान्त्रिकरणको चिन्ता जायज मान्न सकिँदैन् । यसतर्फ सबै सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *