औद्योगिक क्षेत्र स्थापना चालू आवभित्रै

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 217 Views   ||

पाण्डव शर्मा, घोराही ÷

बहुप्रतिक्षित दाङ औद्योगिक क्षेत्र स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम चालू आर्थिक बर्ष भित्रै हुने भएको छ ।
विगत डेढदशक देखि दाङमा औद्योगिक क्षेत्रको कुरा उठेपनि त्यसले मूर्त रुप लिन सकेको थिएन । औद्योगिक क्षेत्रका लागि डिपीआरको काम पूरा भइसकेको छ । औद्योगिक क्षेत्रका लागि उपयुक्त हुने वा नहुने भनेर यसअघि सम्भाव्यता अध्ययन गरिएको थियो । ‘सम्भाव्यता अध्ययनमा सकारात्मक नतिजा आएपछि डिपीआरको काम गरिएको हो,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भूसालले भने,–‘डिपिआर प्रतिवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पुगिसकेको छ,अब आवश्यक प्रकृया पूरा गरेर केही समयभित्रै औद्योगिक क्षेत्र घोषणा हुन्छ ।’

सकारले ७ वटै प्रदेशमा औद्यागिक क्षेत्र स्थापना गर्ने नीति अवलम्वन गरेको छ । यस अन्र्तगत चालू आर्थिक बर्षमा दाङमा औद्यागिक क्षेत्र घोषणा गरिदैछ । औद्योगिक क्षेत्र घोषणाको काम मन्त्रिपरिषदले गर्नुपर्ने भएकाले आवश्यक प्रकृयाका लागि उद्योग मन्त्रालयले फाइल अध्ययन गरिरहेको छ । सबै प्रदेशमा एकैपटक घोषणा गर्नुपर्ने भएकाले केही ढिलाई भएपनि दाङको फाइलमा भने कुनै समस्या नदेखिएको उद्योग मन्त्रालयले जनाएको छ । साविक धर्नाको १ र लक्ष्मीपुरको वडा नं. १ मा पर्ने करीब सात सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्न थालिएको छ । उक्त क्षेत्र अहिले घोराही उपमहानगरापलिका वडा नं ३ मा पर्छ ।

मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै सो क्षेत्रमा लगानी गर्न सरकार निजी क्षेत्र र दातृनिकायलाई सहयोग पुग्ने छ । विगतदेखिनै औद्योगिक क्षेत्र निर्माणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहलगर्दै आएको छ । औद्योगिक क्षेत्र स्थापना भएपछि सो क्षेत्रमा मझौला उद्योगहरु स्थापना हुने दाङ उवासंघका अध्यक्ष भुसालले जानकारी दिए । ‘सरकारले आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ रहेका उद्योगहरु पनि क्रमशः त्यहाँ स्थानान्तर हुने छन्,’ उनले भने, ‘औद्योगिक क्षेत्रले दाङको अर्थतन्त्रमा निकै टेवा पु¥याउने छ ।’
औद्योगिक क्षेत्रमा सरकारले आधारभूत पूर्वाधार निर्माणको काम गर्ने छ ।

उक्त क्षेत्रमा व्यसायीहरुले निश्चित शुल्क तिरेर उद्योग सञ्चालन गर्न पाउनेछन् । पछिल्लो समय दाङमा जग्गाको मूल्य तिव्र रुपमा बढिरहेकाले नयाँ उद्योगहरु आउन निकै गाह्रो भएको थियो । ‘उद्योग स्थापना गर्न भन्दापनि उद्योगका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन मै कैयौं गुणा बढी लगानी लाग्ने गरेको छ,’ भुसालले भने, ‘यहि कारणले गर्दा दाङमा अपेक्षाकृत ढंगले उद्योग धन्दाको विकास हुन सकेको छैन ।’

औद्योगिक क्षेत्रमा २४ सै घण्टा विद्युत आपूर्ति हुने भएकाले व्यवसायीहरुले लोड्सेडिङको मार खेप्नुपर्ने छैन । यहि कारणले बस्तुको उत्पादनमा लागत समेत कम पर्ने भएकाले उपभोक्ताहरुले सस्तोमा वस्तु खरिद गर्न पाउने भुसालले बताए । ‘औद्योगिक क्षेत्र भएको खण्डमा सरकारलाई निजी क्षेत्रको सुरक्षा गर्न समेत निकै सजिलो हुने छ,’ उनले भने, ‘एकै ठाउँमा धेरै बस्तु उत्पादन भएपछि बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने छ ।’ पछिल्लो समय दाङमा जथाभावी उद्योगधन्दा खुल्दा खेतीयोग्य जमिनको नाश भइरहेको छ । औद्योगिक क्षेत्र सञ्चालनमा आएमा दाङमा खेतीयोग्य जमिनको समेत संरक्षण हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *