सुन्दर पर्यटकीयस्थल रोल्पाको जलजला

  
  प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       | 258 Views   ||

रोल्पास्थित सबैभन्दा अग्लो पहाडको रुपमा रहेको जलजला पर्यटकीय स्थलको चिनिदैं गएको छ । भौगोलिक रूपमा निकै मनमोहक र रमणीय जलजला निकै सुन्दर छ । सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ भने सदरमुकाम लिवाङबाट पैदल दूरी कम पर्छ । जिल्लाको अग्लो स्थानमा रहेको जलजला थबाङ गाउँपालिकामा पर्छ । साविक थबाङ, जेलबाङ, धवाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको जलजलामा केही महिना हिउँ पर्छरुभने हिउँदमा भेडा–बाख्रा चरण क्षेत्र रहन्छ । जलजला प्रकृतिको सुन्दर ठाउँ हो । त्यहाँ बर्षमा मान्छेहरु वराह पूजा गर्न जाने गर्छन र उक्त क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य पनि बन्दै गइरहेको छ ।

समुद्र सतहबाट ३१९३ मिटर उचाइमा रहेको जलजला पहाडमा बैशाख,जेठ र साउने पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । जलजलाको सुन्दरताले सबैको मनलाई लोभ्याउँदै लगेको छ । जलजलाको पहाड बीचको समथल खोंचमा वराह मन्दिर रहेको छ । त्यहाँ विभिन्न समयमा श्रद्धालुको भीड लाग्ने गर्छरु। त्यहाँस्थित मन्दिरमा पूजाआजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । हरेक बर्ष रोल्पा, प्यूठान, सल्यान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, बाँके लगायतका जिल्लाबाट धार्मिक पर्यटकहरु जलजला पुग्ने गर्छन र त्यहाँको प्रकृतिसँग रमाउँदै पुजाआजा गर्ने गर्छन् ।

सदरमुकाम लिबाङबाट करिब २४ कोश उत्तरमा पर्ने जलजला क्षेत्रको भौतिक विकास गरेर धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउन त्यहाँका बासिन्दाहरु लागिपरेकाछन् । जलजला पर्यटन क्षेत्र विकास समिति नै गठन गरेर पहाडी गन्तव्यको विकास गर्न त्यहाँका युवाहरु अग्रसर रहेको त्यहाँका युवा नेता प्रवेश रोका,मगरले बताए । सरकारले उक्त समिति मार्फत बजेट विनियोजन गरे पछि मन्दिर,चौर तथा पदमार्ग निर्माण गरिएको थियो । ऐतिहासिक महत्वको जलजलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले चासो दिएको छ । जलजलालाई प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी पछिको गन्तव्य मानिन थालेको छ ।

जलजलामा मन्दिर र ताल निर्माण गरिएको छ । जलजलाको जमिन अचम्मको छ । सिमखेत प्रकारको जमिनमा पाइला राख्दा थलथल गर्छ । श्रद्धालुले जमिनमा हिँड्दा कपासमा हिँडे जस्तो अनुभव गर्छन् । जलजलामा धूपी, बाँज, सेतोगुराँस, लालीगुराँस, भोजपत्र, लेकाली, सल्ला लगायतका वनस्पति र जडीबुटीहरु पाइन्छन् । त्यस्तै डाँफे, मुनाल, कालिज, बनेल, बाघ, भालु, घोरल, मृग, राते लगायत पंक्षी तथा जनावरहरु पनि यहाँ भेट्टिन्छन् । जलजलाबाट धौलागिरी र सिस्ने हिमाल जस्ता श्रृंखलाहरु सजिलै देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *