सिचाईमा दीर्घकालिन गुरुयोजना आवश्यक

  
  प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       | 195 Views   ||

विगतका बर्षहरुको तुलनामा यसबर्ष दाङमा धान खेती लगाउन ढिलाई भएको छ । समयमा प्रर्याप्त बर्षा नहुँदा किसानले ढिला गरी धानखेती शुरु गरेका छन् । अझैं किसानहरु बाली लगाउन खेतमै व्यस्त छन । कृषि क्षेत्रका विज्ञले समयमा खेती नलागेका कारण यसबर्ष धान उत्पादन घट्ने बताइरहेका छन् । नेपालको प्रमुख उत्पादनको क्षेत्र भनेकै कृषि हो । कृषि उत्पादन नै कम हुने भएपछि मुलुकको आर्थिक वृद्धि दरमा अपेक्षाकृत गति नआउने निश्चित छ । नेपालमा विगत देखिनै समृद्धिका लागि कृषि उत्पादनमा वृद्धि गर्नुपर्छ भनेर नारा लाग्दै आएको छ । तर त्यसको व्यवहारिक कार्यान्वयनका लागि उचित पहलहरु हुन सकेका छैनन् ।

नेपालको कृषि क्षेत्रमा धेरै खाले समस्याहहरु छन् । त्यसमध्ये प्रमुख समस्या भनेको सिचाईको उचित प्रबन्ध नहुनु हो । दाङकै सन्र्दभमा हेर्ने हो भने अहिलेसम्म ठूला सिचार्इंका आयोजनाहरु बन्न सकेका छैनन् । आकाशे बर्षाको भरमा किसानले खेतिपाती गर्नुपर्ने बाध्यता रहेको छ । दाङमा प्रशस्त खेती योग्य जमिन भएपनि अहिले मुश्किलले २ वाली लाग्ने गरेको छ । दाङ लगायत तराईका धेरै जिल्लामा बर्षेनी ४ वाली लगाउन सकिन्छ । तर,सिचाई अभावकै कारण सिजनका वाली मात्रै लाग्ने गरेको छ । यसले गर्दा तरकारी तथा खाद्यान्नमा हामी परनिर्भरतामै बाँच्नुृ परेको छ । अहिले खाद्यान्न र तरकारीमा मात्रै नेपालबाट बार्षिक अबौंको पूँजी भारत पलायन भइरहेको छ । नेपालको अर्थतन्त्रलाई मजवुत बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो । त्यसका लागि हामीले खाद्यन्न तथा तरकारीको आयातलाई विस्थापन गरेर आत्मनिर्भर हुनैपर्छ । हामीसँग अहिले ठूला उद्योगधन्दाहरु छैनन् । उद्योग खुलि हाले पनि भारतिय बजारसँग प्रतिष्प्रर्धा गरिहाल्न सक्ने अवस्था छैन । र अहिले नै बस्तुको निर्यात गरिहाल्ने अबस्था पनि छैन । सरकारले चालू आर्थिक बर्षमा कृषि क्षेत्रमा ४० अर्ब १४ करोड विनियोजन गरेको छ । यो कुल बजेट १३ खर्ब १५ अर्बको ३ दशमलव ०५ प्रतिशत हो । यो बजेट रकम चालू आर्थिक वर्षको तुलनामा ८ अर्ब ३५ करोडले कम हो । सरकारले आगामी पाँच वर्षभित्र कृषि क्षेत्रमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको छ । तर, उत्पादन बढाउनका लागि ठोस कार्यक्रम ल्याउन सकेको छैन । पछिल्लो समय कृषि क्षेत्रमा भइरहेको तीव्र खण्डीकरण र कृषि क्षेत्रमा आकर्षण नहुनु पनि प्रमुख समस्याको रुपमा देखिदैं आएको छ ।

विगतमा सिचाईंका आयोजनाहरु सञ्चालन गरेर कृषि योग्य भूमिलाई सिचित गर्ने सरकारका योजनाहरु नआएका होइनन् । तर,ती आयोजनाहरुमा जग्गा अधिकरण, स्थानीय समस्या समाधान लगायतका विषयमा रुम्लिएका छन् । दाङलाई सिंचित गर्नका लागि माडीको पानी झार्ने योजनाहरु प्रस्तुत हुँदै आएका छन् । तत्कालका लागि यो निकै महत्वाकांक्षी योजना मानिए पनि दिर्घकालिन रुपमा समस्या समाधानका लागि यसको अर्को कुनै विकल्पनै छैन । अहिले अल्पकालिन समस्या समाधानका लागि ग्वारखोलामा हाइड्यामको योजना अघि सारिएको छ । उक्त योजनालाई तत्काल सम्पन्न नगर्ने हो भने आगामी बर्षमा थप समस्या झेल्नुपर्ने देखिन्छ । अहिले स्थानीय तहबाट पनि माथिल्लो क्षेत्रमा साना तथा मझौंला खाले कृत्रिम जलाशयहरु पनि निर्माण भइरहेका छन् । यसले पनि केही क्षेत्रमा सिचाईको सुविधा पु¥याउनेनै छ । अब दाङमा सिचाईको समस्या समाधानका लागि अल्पकालिन र दिघकालिन गरेर दुई प्रकारका योजनाहरु अघि सारिनुपर्छ । तत्कालको समस्या समाधानका लागि ग्वारखोला लगायतका अन्य खहरे खोलाको उत्तरी भागमा हाइड्याम निर्माण तथा कृतिम जलाशय निर्माणमा जोड दिनुपर्छ । दिर्घकालिन समस्या समाधानका लागि माडीको पानी दाङ उपत्यकामा झार्नका लागि सरकारले उचित कदम चाल्नै पर्छ । यी योजनाहरु समयमै शुरु हुन सकेनन भने भविष्यमा दाङ उपत्यका खण्डहरमा परिणत हुन बाट रोकिन सक्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *