पाण्डव शर्मा, घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा घोराहीमा निर्माणाधीन वृहत सभागृह परम्परागत ढंगले निर्माण हुने भएको छ । नयाँ भवन तथा सभागृहहरुमा अण्डरग्राउण्ड पार्किङको सुविधा सहितको भवनहरु बन्न थालेपछि सभागृह भने २०÷२५ वर्ष पहिलेको अबधारणा अन्तर्गत बन्न थालेको छ ।
उद्योग वाणिज्य संघले उक्त सभागृहलाई प्रदेशस्तरी सभागृहको नाम दिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले योे ५ नं प्रदेश स्तरीय सभागृह बन्ने दावी गर्छन् । तर, प्रदेशस्तरीय बहुउद्देश्य भनिएको सभागृहमा पार्किङको बारेमा भने कुनै सोँचनै बनाइएको छैन । यसले निर्माण भइहाले पनि उक्त सभागृह खासै प्रयोगमा आउन नसक्ने प्रष्ट देखिन्छ ।
उद्योग वाणिज्य संघका पदाधिकारीहरु सभागृहको नजिकै अर्को खालि जग्गा भएकाले त्यहाँ पार्किङको व्यवस्था गर्न सकिने वताउँछन् । तर, घोराहीको केन्द्रविन्दुमा रहेको जग्गालाई पार्किङमा मात्रै प्रयोग गर्ने सोच बनाउन अपरिपक्व सोँच मान्न सकिने स्पष्ट आधार छ । दाङ उवासंघका अध्यक्षले अघिल्लो महिना ५ नं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ लाई प्रदेशस्तरीय भनिएको उक्त सभागृहको अवलोकन गराएका थिए । अवलोकनकै क्रममा मन्त्री सोनामले उवासंघको काम प्रति असन्तुष्टि व्यक्त गरेका थिए । ‘अण्डरग्राउण्ड विनाको यति ठुलो सभागृह बनाउन खोज्नु दुरदर्शी सोँच नभएरै हो,’ उनले भने, ‘अर्को खालि जग्गालाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।’ तीव्र शहरीकरण भइरहेकाले घोराहीको केन्द्रमा रहेको सभागृहमा अण्डर ग्राउण्डको व्यवस्था नगरीनु दुःखद पक्ष भएको सोनाम वताउँछन् ।
उक्त सभा गृहको डिपिआर बनाउँदा दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा हेमराज बञ्जाडे थिए । यस बिषयमा जिज्ञासा राख्दा बन्जाडेले बिगतमा भएका कुरा कोट्याउनु भन्दा नयाँ हुने कुरामा ध्यान दिनुपर्ने बताए । ‘हामीले विगतमा सोच, विचार गरेरै सभागृहको काम गरेका हौं, हामीसँग नजिकै जग्गा पनि छ,’ उनले भने,‘अब पुराना कुराको पछि नलागौं, नयाँ बन्ने काम तर्फ सबैले ध्यान दिनुपर्छ ।’
पहिलो चरणमा ४ तलाका लागि स्वीकृत भएको उक्त सभा गृहका लागि सरकारले २६ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको छ । यति ठूलो रकम खर्च गरिएको उक्त सभा गृहमा थप केही रकम खर्च गरेको भए सयौं सवारी साधन अटाउन सक्ने अण्डरग्राउण्ड पार्किङ हुने थियो । १२ कठ्ठा ७ धुर क्षेत्रफलमा उतm सभागृह बन्न लागेको छ । त्यसको नजिकै रहेको ७ कट्ठा जग्गामा पनि गेष्टहाउस सहितको भवन बनाउने लक्ष्य उवासंघको रहेको छ ।
पुरानो डिजाइनमा भवन बनेकोमा उवासंघकै पदाधिकारीहरु असन्तुष्ट छन् । ‘हचुवाको भरमा योजना ल्याएर कुनै अध्ययन बिनै काम शुरु गरियो,’ उवासंघका एक सदस्यले भने,‘बाहिर सुनाउँदा हाम्रो पहलमा सभागृह बन्यो भनेर भन्न त सकिएला तर,त्यसको समुचित ढंगले उपयोग हुन सकेको छैन ।’
अहिले उवासंघका पदाधिकारीहरुनै पार्किङ प्रति चिन्तित हुन थालेका छन् । सुविधा सम्पन्न कुर्सी राख्दा समेत १२ सय जना अट्न सक्ने उक्त हलमा ती व्यक्तिहरुका सवारीसाधन पार्किङ गर्नु निकै चुनौतिपूर्ण देखिन्छ । उवासंघका अध्यक्ष नारायण भुसालले बाँकी रहेको जग्गामा अण्डर ग्राउण्ड र अन्य तलामा पनि पार्किङ गराइने बताए ।