पारिश्रमिक विना प्रशासनको शनिबारे सेवा

  
  प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       | 177 Views   ||

सरकारले हरेक हप्ताको शनिवार सार्र्वजनिक विदा दिने गरेको भएपनि त्योे सार्वजनिक विदालाई पनि दाङ जिल्ला प्रशासनले सेवाग्राहीलाई नै खर्चर्ने भएको छ । अन्य समयमा व्यस्त हुने सेवाग्राहीलाई मध्यनजर गदै साउन २ गते देखि शनिवारको दिन पनि प्रशासन कार्यालय दाङले सेवा दिन थालेको छ । शनिवार सेवा गरे वाफत कर्मचारीले कुनै पारिश्रमिक भने लिएका छैनन् ।

शनिवार पनि सेवा दिन थालेपछि त्यस बारे सकारात्मक र नकारात्मक रुपले विभिन्न कुरा भए । धेरैले ओभरटाईम काम गरेको ‘ओटी’ भत्ता लिनलाई सेवा शुरु गरेको भनेर टिप्पणी गरे तर दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफूहरुले कुनै पारिश्रमिक नलिएर सेवा शुरु गरेको बताए । उनीले भने ‘हामीले शनिवार काम गरेको कुनै पारिश्रमिक नलिएर सेवा प्रदान गरेका छौं र कुनै पारिश्रमिक नलिने विषयमा गृह मन्त्रालय लगायत सम्वन्धित माथिल्लो निकायमा जानकारी गराएका छौंं’ ।
शनिवार पनि सेवा दिने अभ्यास दाङमा यो पहिलो हो । व्यस्त कर्मचारी तथा शुक्रबार काम नसकेर बाँकी रहेको कामलाई आइतवार कुर्नुपर्ने बाध्यताको अन्त्य होस भनेर कर्मचारीले शनिवार नास्ता समेत नखाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

करिब ३५ जना कर्मचारीले जिल्ला प्रशासन कार्यालय दाङमा नियमित काम गर्छन् । ती कर्मचारी मध्य शनिबार ४ जना कर्मचारी खटाउने गरेको प्रजिअ श्रेष्ठले बताए । उनका अनुसार महिनामा एउटा कर्मचारीको एक पटक सम्म मात्रै शनिबार डिउटी पर्ने उनले बताए । ‘हामी कहाँ अहिले ३५ जना कर्मचारी कार्यरत हुनु्हुन्छ’ उनले भने ‘ती मध्य एउटा शनिबार ४ जना कर्मचारी खटाइरहेका छौं,एउटा कर्मचारीको महिनामा एकपटक मात्रै शनिवार डिउटी पर्छ ।’ यसले कर्मचारीलाई त्यति मार पनि नपर्ने र सेवा ग्राहीलाई सेवा दिन पनि सहज हुने प्रजिअ श्रेष्ठको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत सबै कर्मचारी लगभग दाङकै हुन् । त्यसमा पनि घोराही आसपास कै हुन् । एकजना कम्प्युटर अपरेटर मात्रै सप्तरीको भएको र अन्य कर्मचारी घोराही आसपासकै भएकाले पनि सेवा शनिबार प्रवाह गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *