जुग्री जुलुस

  
  प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       | 298 Views   ||

कथा
नवीन विभास

दाङ । २०७२ भदौ ।

‘छोट्का तँ !’
‘अँ ।’
‘काँ जान लागिस् ?’
‘भुरान ।’
‘भुरान !’
‘अँ ।’
‘बौलाइस् !?’
‘अँ ।’
‘के काल बेसाउन सत्तिस् ?’
‘नाहींज्ञ ।’
‘उसो भए के खोज्न ?’
‘जुग्री ।’
‘जुग्री !’
छोट्का ‘थारु’ नेपाली भाषामा बोले । जिम्दार ‘खस’ नेपाली भाषामा ।
भुरान हिँडेको जुलुसमा सामेल हुन दौडिरहेका छोट्का जिम्दारसित आँखा जुँधाएर ठिंग उभिएका थिए । बाटो काटेर हिँड्ने छोट्का त्यस दिन भने जिम्दारलाई देखेर नक्कली खोकी खोक्दै आफैँ जिम्दारकहाँ पुगेका थिए । र, भेग्वा लगाएका बृद्ध थारु सुरुवाल भोटोमा सजिएका जिम्दारसित आमनेसामने उभिएका थिए ।
‘साँच्ची बौलाइस्’ भन्दै जिम्दार एकाएक झस्किए ।
होइन कि भनी जिम्दारले आफ्नो ‘जिम्दार आँखा’ मिचे ।
त्यसपछि हेरेः
हिजोको ‘छोट्का’ थिएनन् ।
‘कमैया’ र ‘मुसा’मात्र देख्ने जिम्दार आँखाले छोट्कालाई पहिलोपालि जग्गु थारु देख्यो ।
त्यसपछि ?
छाँगोबाट खसे ।
थारु लस्कर देखेर जिम्दारले ‘जनयुद्ध’ सम्झिए ।
त्यसपछि उनका आए क्रमशः साइँलो छोरो वासुदेवलाई ‘कमरेड’ बनाएर थारुलाई थामथुम पारेको । छोरा, बुहारी र छोरी÷ज्वाइँलाई सरकारमा जान सक्ने ठुला दलमा तैनाथ गरेको ।
(राज्यसत्ता त उनको छँदै थियो ।)
छोट्काको हातमा भाला थियो ।
थारुको हातमा यसअघि देख्ने भालालाई त्यस दिन भने जिम्दारले ‘एके फोर्टी सेभेन’ देखे । त्यसपछि जिम्दार मनमा एकाएक बैशाख १२ गतेको भुइँचालो गयो ।
अनि ?
जिम्दार चुपचाप घरतिर लागे । तर, जग्गुको कुराले जिम्दारलाई पछ्याउन छाडेन, ‘बाज्या, मै जुग्रीहँ लेख आइम । उहीसे नच्ना मन बा, मघौटा नाच ।’द्द
जिम्दार छिटोछिटो कोठाभित्र पसे । चुकुल लगाए । मन थामिएन । ‘मन राख्न’ हुन्छ कि भनी टिभीको ‘रिमोट’ दबाए ।
सरकारी टेलिभिजनले ‘नयाँ संविधानको स्वागत्मा दीपावली गर्न’ भनिरहेको थियो ।
जिम्दारले झ्यालको पर्दा ताने । उनका नजर झ्यालबाट सडक पुग्यो । एकाएक जिम्दार आँखा थारु लस्करमा पुगेर अडियो ।
झन उकुसमुकुसिए जब जिम्दारले देखे आश्मानी, प्रसादु, बुधनी, रिश्मान र सुगानीलाई ।
लस्करमा कोही श्रीमती छुटेका थिए त कसैका श्रीमान् । कसैका बहिनी छुटेका थिए त कसैका दाजु । कतिका प्रेमी भुरानमा थिए त कतिका प्रेमिका ।
जिम्दारले देखे, तड्पिरहेका थारुका सावँला अनुहार ।
त्यसपछि जिम्दारको अनुहार पसिनाले भिज्न थाल्यो ।
जग्गु नाच्दा न जिम्दारको खुसी खोसिन्थ्यो न जिम्दारको रहर पोखिन्थ्यो । तैपनि जग्गुले आफूखुसी जुग्रीसित ‘मघौटा नाच्ने’ भनेपछि जिम्दार आलसतालस भए । नाचेको कसरी हेर्ने भन्दै जुग्री भेट्न हतारिएका जग्गु सम्झेरै जिम्दार अत्तालिए ।

‘हँस्टीखेल्टी मैया बैठगिलघ,’ गत माघीमा तन्नेरी थारुमाझ जग्गुले आफ्नो प्रेमकथा यसैगरी थालेका थिए ।
झिङौरास्थित माघीको त्यो साँझ जग्गुको प्रेमकथामा समर्पित थियो ।
जग्गु र जुग्री एउटै गाउँका थिए । घाँस, दाउरा लिन मात्र होइन, गाई चराउन पनि सँगसँगै जान्थे ।
एक दिन जग्गुले जुग्रीलाई भने, ‘मै तुहिन भ्वाज करमद्ध ।’
सम्झदै जग्गुले यति भनेपछि आफूलाई थाम्न सकेनन् । उनको मन आँखाको बाटो लाग्यो । रोक्दारोक्दै बाहिरियो ।
त्यसपछि उनले नेलको खट देखाए । खट उस्तै थियो । तर नेल लगाइएको उनका गोडा भने चाउरिएर सिन्का भएका थिए ।
जग्गुले फेरि माघीमा जुग्रीसित नाचेको सम्झिए । दसैँमा सक्ख्या नाचेको पनि ।
यसै ओरालो लागेको उनको मन भक्कानिदै बग्यो ।
माघीमा र दसैँमा जग्गुले मादल बजाउँथे । गाउँथे । उनले बजाएको मादल र गाएको गीतको तालमा जुग्री नाच्थिन् ।
कोही जुग्रीसित बोले कि जग्गु रिसाउँथे ।
जुग्रीले भन्थिन्, ‘बोल्लसे का बिग्रल ट ?’छ
बठिन्याटहरुले जिस्काउँथे ।
जुग्रीले भन्थिन्, ‘मन पर्लसे जैम ।’ठ
जुग्री भुरान लाग्नुभन्दा केही दिनअघि मात्र बिहेको योजना बुनेका थिए ।
जस्तोः सँुगुर काट्ने । आफन्तजनलाई निम्तो दिने । भोज गर्ने ।
प्रेम पनि लुटाएर उनी कसरी कमैया भए भन्ने कथा सुनाउँदा त्यस साँझ जग्गु बेस्मारी बगे आफ्नै बिगतको बबईमा ।
‘बाज्या, ऊब्याला चुमठ् कि नाहीँ ? चुमठ् ट कसिक चुमठ्,’ड भावुक वातावरणलाई रसिक बनाउन एक युवाले सोधे ।
कथाले भावुक बनाए पनि ‘डल्ली भैंसीको मोही’ढले जोस थपेको थियो । मोहीको जोसको बाटोहुँदै कथा बाटो लागेको थियो ।
प्रश्न सुनेर जग्गु एकछिन थामिए ।
‘आम्हीसम् ध्यावर नि धुइलहुँ । नि पट्टीलसे हेर,’ज्ञण् जग्गुले सम्झना साच्न अहिलेसम्म पनि ओठ नपखालेको तर्क गर्दै युवा थारुलाई देखाए ।
साँझ ढल्दैगएको माघमा साँवला जग्गुको ओठ कति प्रष्ट देखियो कुन्नि ?
कति युवाले ‘होइन’ भने त कतिले अचम्म माने ।
जुग्रीसित दसैँ र माघीमा नाचेको फारोफारोगरी सम्झँदै आफूलाई आजको मितिसम्म साँचेका थिए । उनै सम्झना र रहर सम्झेर त जग्गु बाँचेका थिए ।
जुग्रीलाई भेटेर एकपालि आफ्नै भाषामा बच्पनका सबै याद उत्खनन् गर्ने जग्गु मन छ । र, विगतमा गर्न नपाएको मायाको नाउँमा जुग्रीसितै बेस्सरी रुन मन पनि ।

‘मै फें जइम जुग्रीहँ लीह ।’ज्ञज्ञ
भुरान जाने जुलुसमा जग्गु पनि सामेल भए ।
‘जात्तिसे कोट बुबा मैया नि लाख्ख हो निह निगिल ?’ज्ञद्द कतिपय तन्नेरी थारुले मर्ने बेला केको हरियो काँक्रा पनि भने ।
‘का हुइँ निलागी मैया । लक्ठा ।’ज्ञघ
‘काँकर नि गइलु ट निह ? कि ¥वाकल् ?’ज्ञद्ध
‘मन त रह । मैया फें रह । ट आँटभर निआइल ।’ज्ञछ
‘आँट ?’
‘जुग्री हँ भ्याटकर जैना आँट नहीँ आख नि गइनु ।’ज्ञट
‘काँ जे निआइल ऊब्याला ?’ज्ञठ
‘उहँ ट काँ जे निआइल ऊब्याला ?’ज्ञड
‘आब कस्सीक आइल ट ?’ज्ञढ
‘आपनअस पच्बुरल् डाडुभैया डिडीबाबु देख्ख । म्वारअस मैया लुटगइल, खुसी लुटगइल मङ्रु, सोगतवीर, बुधनी देख्ख चोटगर हुइनु ।’द्दण्
जुलुसमा हिँड्दाहिँड्दै जग्गु एकछिन उभिए । त्यसपछि उनले ‘यो मनले त अहिले नगए कहिल्यै भेट हुन्न भन्छ’ भने ।
तन्नेरी थारुले जग्गुलाई हौसाए । एक युवाले ‘यति धेरै बर्षसम्म कसरी थामेको’ भनी सोधे । जग्गुले ‘सपनामा त भेट भइरहन्छ नि’ भने ।
सपनामा त जग्गु र जुग्रीले एकअर्कालाई खुबै गुनासो गर्थे । बेलाबेलामा ‘छ बेला लाग्ला घाम’ भन्दै आफूलाई थाम्थे ।
त्यै सपना त थियो तिनका मन राख्ने बाटो ।
‘अब सपनामा हुने भेटले पुग्दैन’ भनी जग्गु पनि भुरान हिँडेको जुलुसमा मिसिएका थिए ।

तराईमा औलो उन्मुलन भयो ।
पहाडबाट मान्छे ओइरिए ।
त्यसबेला दाङका फाँटमा धान झुलेका थिए । पहेलपुर तोरी फुलेका थिए । र, तिनकै रङमा भूमिपुत्र थारुका अबोध मन खुलेका थिए ।
पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्रीजग्गु प्रेमको कोपिला लागेको थियो ।
औलो उन्मुलनपछि दाङ झरेका शासक खलकका आँखा पहेलपुर फाँटमा परे । थारु र अक्षर, थारु र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन । त्यसैले शासक खलकलाई ती फाँट कब्जा गर्न आइतबार कुर्न परेन ।
सिंगो पंचायत नै तिनका भएपछि छिनभरमै पहाडी मूलका शासक खलकले सारा फाँट आफ्नो बनाए । त्यसपछि हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जिम्दार भए भने थारु भूमिहीन ।
त्यसपछि ?
केही थान परेवा, केही थान भेडा, केही थान गाई धपाउँदै जग्गुका आफन्त भुरान लागे –सपना रोपी गुल्जार बनाएको थातथलोलाई घरी फर्किहेर्दै घरी आँसु पुछ्दै ।
‘कहाँ जाने ?’
थाहा थिएन ।
भन्थे, ‘भुरान ।’
‘कहाँ हो भुरान ?’
रोल्पाको लोकगीतजस्तै थियो, ‘जाँ लैजाला कर्मले उई हो मेरो घर ।’
कहाँ थियो त्यो भुरान ?
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर वा सीमापारि ।
पाइलापाइलामा बिच्छी र बाघसँग लुकामारी खेल्दै भुरान पुगे । कति मरे र कति पुगे भुरान ?
कसले गर्नु लेखाजोखा ?
त्यसबेला हो, जग्गु र जुग्रीको परिवार पनि रातारात भुरान लागेको ।
बागर पुग्दा जग्गु समातिए ।
भुरान जान बिलौना गरे ।
जिम्दारले सुनेनन् ।
जिम्दारले जग्गुको खुट्टामा नेल ठोके । सँुगुरको खोरमा थुने । काठले पेले । गोरूजस्तै नारे ।
मनमा पनि नेल ठोकिएका जग्गुले धितमरुन्जेल रुन पनि पाएनन् ।
त्यसबेला जग्गु १५ को घरमा पस्दैथिए भने जुग्री १८ को ।
सुरुमा थारुलाई जिम्दारले खेदे । ‘कजाउन’ चाहिने थारु पनि नरहनेगरी भुरान जान थालेपछि भने जिम्दारले नै थारुका गोडामा नेल ठोकेर रोेके ।
कजाउनलाई जबर्जस्त थुनेर राखिएका तिनै कमैयामध्ये एक थिए, जग्गु ।

कैलाली । २०७२ भदौ ।
नयाँ संविधानको स्वागतमा सरकारले दीपावली गरिरहेको बेला टीकापुरछेउ जुग्रीको गाउँमा भने कर्फु थियो । जलेर आधाउधि बचेको चोसेमोसे घरमा खरानी यत्रतत्र छरिएको थियो । र, आधा जलेको खट्टेमा अडेस लागेर जुग्री टोलाइरहेकी थिइन् ।
त्यै खट्टेमा उनकी भदैनी सुत्थिन् ।
मारिएकी भदैनीको किताब÷कापी खट्टे वरपर छरिएका थिए । अलि पर स्कुले झोलाको फस्नर खुलै थियो । चुलोछेवैमा थियो स्टिलको थाल । जसमा खाँदाखाँदै छाडेको आधा खाना बाँकी थियो ।
जुग्री खट्टेमा अडेस लागी लाहुरेनीजसरी जग्गुको बाटो हेरिरहेकी थिइन् ।
त्यस रात पनि जुग्रीलाई फेरि पिसाब लागेजस्तो भयो ।
मुख काटेर ठुलो बनाइएको प्लाष्टिकको ग्यालेननेर पुगिन् । पिसाब फेर्न गोन्याद्दज्ञ के सिमलेकी थिइन्, कान नै सुनो हुनेगरी आवाज आयो ।
ग्यालेन ढल्यो ।
त्यसअघि फेरेको पिसाब पोखियो भने आधाबाटो झरेको पिसाब जुग्रीको गोन्यामा ।
संविधानको स्वागतमा पड्केको पटका थियो त्यो ।
‘जनयुद्ध’ताका पनि जुग्रीको गाउँ यस्तै जगजगीमा थियो । त्यसबेला जुग्रीको भाइका तीन छोरा अनि धेरै आफन्त मारिएका थिए । उनको भाइसहित धेरै गाउँले बेपत्ता थिए भने धेरै आफन्त बलात्कृत ।
सुर्तैसुर्ताका गोलीले उनकी भाइबुहारी युद्धकालमै ढलिन् ।
बचेकी भदैनीलाई सरकारले मारेपछि सिर्फ जुग्री थिइन् । जुग्रीको साथमा थियो त जल्दाजल्दै सिला रहेको घर ।
१२ मिनेट पनि नबित्दै जुग्रीलाई फेरि पिसाब लागेजस्तो भयो ।
जाँगर नलागी उठिन् ।
अघि ढलेको ग्यालेननेर पुगिन् । पिसाब फेर्न गोन्या सिमलिन् । तर, एक तुर्का पनि झरेन ।
उनका भाइ सोङ्रालाई कर्फु लागेको बेला लगेका थिए । प्रचण्ड र बाबुराम भट्टराई बालुवाटार पसेर निक्लिदासम्म पनि सोङ्राको अत्तोपत्तो थिएन ।
दाङबाट रातारात भुरान छिर्दा सोङ्रा आमाको पिठ्युमा थिए । हिँड्न खोजेका थिए । तर झाडीमा सम्भव थिएन । हिँड्न नपाएपछि सोङ्रा खुबै रोएका थिए ।
किन किन अचेल जुग्रीलाई जग्गुसित भाइ पनि आउँछन् जस्तो लाग्न थालेको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट लेख्ने कार्यक्रम थियो ।
एकैचोटी टीकापुर पस्ने योजनाअनुरुप थारु टीकापुर पुग्दैथिए ।
टीकापुरको दक्षिणपश्चिम चिलम चौराहामा जुलुसलाई सरकारले रोक्यो ।
झडप भयो ।
जुग्रीको गाउँमा फेरि कर्फु लाग्यो ।
जिम्दारले लुटेका प्रेम खोज्दै, आफ्नो पहिचान खोज्दै जुट्दैथिए थारु । तिनले दिनहुँ प्रदर्शन गर्थे । नारा लाउँथे । कर्फुमै जुलुस निकाल्थे ।
जुग्री जुलुसको अघिअघि हिँड्थिन् ।
र, तिर्खाएका जुग्री आँखाले जग्गु खोज्थ्यो । बेपत्ता सोङ्रा खोज्थ्यो । मारिएका भदैभदैनी खोज्थ्यो ।
उनको अन्तरमनले भन्थ्योः जग्गुसित यसपालि भेट हुन्छ ।
जुग्रीले जग्गुसित अल्लारेमै लाएको माया र दाङबाट बोकीआएको सम्झना फारोफारो गरी आफूलाई धानेकी थिइन् ।

कैलाली र दङाली पत्रकारले लेखेका समाचार सार हुन् यी, जो तपाईंले पढ्नुभयो । काठमाडौंबाट प्रकाशन÷प्रसारण नभएपछि सामाजिक संजालमा पेशेका ती पत्रकार पनि आँधी आएको रातमा हल्लिरहेको डाँडामाथिको लाँकुरी भएका छन् ।
तिनले जुग्री र जग्गुबारे यस्तो लेखेर बिट मारेका छन्ः
जुग्री र जग्गु भेट भएपछि अँगालोमा बेरिदा राताराता भएका तिनका अनुहार एक्कै झल्को भए नि हेर्न मन छ । फुलेका तिनका साँवला अनुहार क्यामेराले क्लिक्क पार्न मन छ । जुग्रीको जोडी माघीमा छमछम मघौटा नाचेको हेर्न मन छ । सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल मात्र आउने काठमाडौंका मिडियामा तिनलाई देख्न मन छ । र, सुन्न÷हेर्न÷पढ्न मन छ, तिनीहरुसँगै तिनका प्रेमकथा ।
(तपाईं त आँ गर्दा अलङ्कार बुझ्ने मान्छे, भन्नुस् त, कहिले हेर्न÷सुन्न÷पढ्न पाइन्छ ?)

Leave a Reply

Your email address will not be published. Required fields are marked *