संघर्ष ः हिजो क्रान्तिका लागि,आज सन्तानका लागि

  
  प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५       | 122 Views   ||

पाण्डव शर्मा,  पाल्पाकी रचना उचाई, मगर र बझाङका सुजन दर्जी बीच २०६३ सालमा तत्कालिन जनमुक्ती सेनाको चौथो डिभिजन हात्ती खोरमा भेट भयो । सुजन २०५८ सालमा मुलुक परिवर्तनका लागि बन्दुक समातेर संघर्षमा गए । रचना पनि २०६० सालमा जनसेनामा भर्ती भइन् । सुजन जनसेनामा काम गर्दा कम्पनी सहायक कमाण्डर सम्म पुगे भने रचना सेक्सन कमाण्डरसम्म पुगिन् ।

जव तत्कालिन विद्रोही शक्ति नेकपा माओवादीले शान्तिपूर्ण वार्ता हुँदै संविधान सभाको एजेण्डा मार्फत मुलुकको मुल धारमा आयो र पार्टी सरकारमा गयो । युद्धकालका पुराना संरचनाहरु भत्कन थाले । जन कम्युनहरु विस्तारै विघटन तर्फ लागे । जनमुक्ती सेना पनि क्याण्टोनमेन्टमा थन्कियो । त्यहि क्यान्टोनमेन्टमा सुजन र रचनाको नयाँ जीवनको शुरुवात भयो ।

दुबैले एक अर्कालाई मन पराए । दुबै जना बिहे गर्ने निधोमा पुगे । पार्टीमा निवेदन हाले । पार्टीले बिहे गर्ने स्वीकृत दियो । अनि जनवादी विहे सम्पन्न भयो । क्याण्टोनमेण्ट भित्रै उनीहरुले पहिलो सन्तानको जन्म दिए । त्यससँगै उनीहरुको फौजी यात्रा टुंगियो । सानो काखे बच्चा भएकाले रचना नेपाली सेनामा समायोजन हुन पाएनिन् । सुजन पनि घाइते थिए । उनको शरिरमा दुई वटा गोली थियो । त्यसैले उनी पनि सेना समायोजमा जान पाएनन् ।

बन्दुकको नालबाट मुलुक परिवर्तनको सपना देखेका सुजन र रचनाको स्पीड पार्टीको नीति अनुसार परिवर्तन भयो । उनीहरु सरकारले दिएको केही राहत रकम लिएर घर फकिए । उनीहरु बीच अन्तरजातिय विवाह भयोे । काखे बालक च्यापेर जनसेनाको क्याण्टोनमेन्टबाट बाहिरिएका सुजन र रचनासँग राज्यले दिएको राहत बाहेक आफ्नो भन्नु केही थिएन । ‘हामीसँग सम्पत्ति भन्ने केही थिएन,खालि थियो आत्मविश्वास,’ सुजन भन्छन–‘शुरुमा पार्टीले कस्तो नीति अवलम्वन गर्ने हो भन्नेमा हाामी अलमल थियौं,हामीलाई लागेको थियो,अझंै संघर्षको मोर्चा सम्हालिन रहनुपर्छ ।

उनीहरुले निष्कर्ष निकाले– अब हामी आत्मनिर्भरको बाटोमा लाग्नुपर्छ । ‘क्याण्टोनमेन्टबाट निस्केर हामी तत्काल गाउँ जाने वातावरणनै भएन,’ रचना भन्छिन, ‘पुराना सम्वन्धहरु तोडिएका थिए,पार्टी र क्रान्तिको सम्बन्ध थियो । ‘हामी गाउँ नजाने निधो गरेयौं ।’

सरकारले दिएको राहतले उनीहरु दाङको घोराहीमा सानो होटल व्यवसाय गर्न थाले । केही वर्ष होटल गरेपनि त्यो उनीहरुका लागि दिगो हुन सकेन । सानो बच्चा भएकाले रचनालाई त्यति धेरै काम गर्न सहज थिएन । सुजन आफैंमा घाइते थिए । पछि उनीहरुले आफ्नो पेशा परिवर्तन गरे । सुजनले जनसेनामा हुँदै काठको काम गर्न सिकेका थिए । उनी घोराहीकै एक फर्निचर उद्योगमा काम गर्न थाले । रचना स्थानीय एक प्राइभेट कम्पनीमा सहयोगीको रुपमा काम गर्न थालिन् । यति गर्दासम्म उनीहरुले दोस्रो सन्ताननाई समेत जन्म दिइसकेका थिए । दुईवटा सन्तानलाई पढाउनुपर्ने । कोठा भाडाको जिन्दगी ।

सबै चिज किनेर खानुपर्ने । जागिरे आम्दानीले नपुग्ने भएपछि उनीहरुले कुखुरापालन समेत शुरु गरे । अरुकै जग्गा भाडामा लिएर कुखुरापालन गर्दा उनीहरुले राम्रै आम्दानी गर्न सफल भए । ‘हामीले एक सिजनमा ७० हजार रुपैयाँ फाइदा गछौं, ४५ दिनमा एक सिजन हुन्छ । तर, सबै सिजनमा राम्रो हुन्छ भन्ने छैन,’ सुजन भन्छन, ‘अहिले राम्रै गरिएको छ, आफ्नै कमाईबाट घोराहीमा घडेरी किनेका छौं, अब घर बनाउने पैसा कमाउनु छ ।’

व्यवसायमा लागेपछि उनीहरुको पार्टीमा त्यति सा¥होे सम्पर्क छैन । ‘हामीले जनसेनामा रहेर काम ग¥यौं,दाङको पार्टीसँग खासै सम्पर्क छैन,’ रचना भन्छिन, ‘तर, पार्टी र क्रान्तिको निकै माया लाग्छ, अझै पनि पार्टीमा जोडिएर काम गर्न मन छ ।’ अब भने आफ्नो व्यवसाय र राजनीति साथ,साथै लैजाने सोंचमा दुवैजना पुगेकाछन् । पार्टी सरकारमा रहेकाले जनयुद्धकालिन पूर्वजनमुक्ती सेनाको बारेमा राज्यले राहतका कार्यक्रम ल्याउनु पर्ने सुजनको भनाई छ । ‘हामी देशका लागि लडेका हौं,क्रान्तिमा लाग्दा हामीलाई कुनै व्यक्तिगत स्वार्थ थिएन,अहिले पनि छैन,’उनी भन्छन– ‘पार्टीमा लाग्दा घाइते भइयो,पढ्न पाइएन,सबैखाले सम्वन्धहरु भत्काएर पार्टीका लागि  लागियो,अब सरकारले केही राहतका कार्यक्रम ल्याओस भन्ने अपेक्षा हाम्रो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *