जनताका गुनासा सुन्न मेयर गाउँ,गाउँमा

  
  प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५       | 163 Views   ||

तुल्सीपुर÷जनताका गुनासो सुन्न तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे गाउँमै पुग्न थालेकाछन् । जनताको सुखदुखमा साथ रहेर काम गर्ने बताउँदै आएका मेयर पाण्डेले तुलसीपुर उपमहानगरपालिकाको वार्ड नं. १७, र १९ का गाउँमा पुगेका मेयरलाई जनताले धेरै गुनासा र सुझाव दिएकाछन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ का पशुपालक वसन्तकुमार शर्माले कृषकले उत्पादन गरेको कृषिजन्य बस्तुको मुल्य निर्धारण गर्न नपाउँदा उत्पादन बढाउन नसकिएको गुनासो मेयरसँग पोखे भने आफूले उत्पादन गरेको बस्तुको मुल्य विचौलियाले निर्धारण गर्ने परिपाटीका कारण आफूहरु लगानी बढाउन डराउने गरेको उनको भनाई छ । आफूले उत्पादन गरेको बस्तुको मुल्य आफूले नै तोक्न पाउनुपर्ने माग राख्दै शर्माले कृषकलाई मारेर विचौलिया मोटाउने काम स्थानीय सरकारलाई रोक्न आग्रह गरे । त्यसैगरी विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले साना योजनालाई पनि समेटनुपर्ने कुरा मेयरसँग राखे । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने माग राखे ।

त्यस्तै विजौरीकै कमानसिंह डाँगीले सामुदायिक विद्यालयको अवस्था खस्किदै गएकाले शैक्षिक सुधारका लागि पहल गर्नुपर्ने माग मेयरसँग राखे । बिजौरीकै लेखनाथ खत्रीले वेलझुण्डी खानेपानी नेतृत्वविहिन भएकाले त्यसलाई निकास दिन आग्रह गरे । दुधरासका टेकवहादुर चौधरीले छाडा गाई बस्तुका कारण वालीनालीमा नोक्सानी भएको गुनासो राख्दै त्यसलाई नियन्त्रण गर्न मेयर पाण्डेसँग आग्रह गरे । सोहि ठाउँकै मानवहादुर डाँगीले पहुँचको भरमा बजेट बाँडिएको गुनासो पोख्दै जनताका माझबाट योजनाको छनोट गर्नुपर्ने सुझाव राखे । विजौरी कुटीचौरका पुर्णवहादुर पुनले पशुलाई पनि वडाले सुत्केरी भत्ता दिएर कृषकलाई उत्प्रेरित गरेकोमा उपमहानगरपालीकालाई धन्यवाद दिए ।

जिज्ञासाका साथ जनताका गुनासो सुनेका मेयर पाण्डेले करका कारण जनतालाई अफ्ठेरो परेको भए त्यसमा पुनः विचार गर्न आफू तयार रहेको वताएका थिए । तुलसीपुरमा रहेको छाडा चौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिकाले तत्काल पहलकदमी लिने बताए । विकासका योजनामा चरमलापरवाही भएको गुनासो धेरै आएको बताउँदै नगरप्रमुख पाण्डेले यस बर्षबाट अनुगमनलाई कडाइ गरिने प्रतिबद्धता व्यक्त गरे । जनताका गुनासा सुन्न गाउँ पुगेका मेयर पाण्डेलाई चुनाव जितेर गाउँ नफर्कने जनप्रतिनिधि भन्दा फरक पहिचान बनाएकोमा जनताले धन्यवाद समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *