महंगो भाडा तिर्न नसक्दा दाङको हवाई सेवा बन्द

  
  प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५       | 183 Views   ||

पाण्डव शर्मा, घोराही ÷ दाङको तुलसीपुर विमानस्थलमा पुनः उडान बन्द भएको छ । हवाई सेवा बन्द भएको तीन महिना वितिसक्दा समेत सञ्चालन गर्न तर्फ कसैको ध्यान गएको छैन । २०१६ सालदेखि २०४२ सालसम्म नियमित उडान भएको विमानस्थलमा त्यसपछि २०६० सम्म हवाई सेवा बन्द भएको थियो । त्यसपछि पटक,पटक सञ्चालन हुँदै, बन्दै हुँदै आएको थियो ।
पछिल्लो पटक सभामुख कृष्णबहादुर महराको पहलमा हवाई सेवा शुरु भएपनि पुनः बन्द भएको छ । तुलसीपुरबाट काठमाडौं जाने हवाई भाडा निकै महंगो भएपछि यात्रुहरु समेत समस्यामा पर्ने गरेका थिए ।तुलसीपुरबाट काठमाडौं जान ९ हजार भाडा निर्धारण गरिएको थियो । तर,नेपालगञ्जबाट काठमाडौंमा ३५ सयसम्म तिरेर यात्रुहरु जाने गरेकाछन् ।
तुलसीपुर विमानस्थलको क्षेत्रफल सानो भएकाले ठूला हवाई जहाज बस्न नसकेको तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले जानकारी दिए । उनका अनुसार यहाँ १९ सिट क्षमतको हवाइ जहाज मात्र बस्न सक्छ । विमानस्थलको क्षेत्र बिस्तार गर्ने ठाउँ समेत पर्याप्त छैन । इन्धन डिपो नभएका कारण पनि हवाई भाडा बढि भएको रिजाल बताउछन् । इन्धन हाल्न कै लागि दाङ आउने हवाई जहाजहरु सुर्खेत वा नेपालगञ्ज जानुपर्छ ।

हवाई दुर्घटना बढेपछि सरकारले सिङ्गल इञ्जिन भएका प्लेन उडान गर्न प्रतिबन्ध गरिसकेको छ । सिङ्ग इञ्जिन भएका विमान बन्द भएपछि तराईका विभिन्न क्षेत्रमा उडान भरिरहेका डवल ईन्जनका हवाई जहाज पहाडी क्षेत्र तर्फ केन्द्रित भएकाछन् । हवाई कम्पनीले पहाडी क्षेत्रका पर्यटकीय गन्तव्य स्थलहरुमा आफ्नो सेवा केन्द्रित गरेको रिजालले जानकारी दिए । उनका अनुसार तराईको तुलनामा पर्यटकीय क्षेत्रमा उडान भर्दा कम्पनीलाई निकै फाइदा हुन्छ । ‘पर्यटकीय गन्तव्य स्थलमा पर्यटक जाने भएकाले हवाई कम्पनीलाई धेरै फाइदा हुन्छ,’ रिजालले भने, ‘पर्यटकलाई महंगो भाडा असुल्न पाईने भएकाले विमानकम्पनीहरु पहाड तर्फ केन्द्रित भएका हुन् ।’
विगत लामो समयदेखि तुलसीपुरमा इन्धन डिपो स्थापना गर्न पहल थालिए पनि पछिल्लो पटक सरकारले प्रदेश स्तरिय इन्धन डिपो तुलसीपुरमै स्थापना गर्ने निर्णयले दाङवासी उत्साहित भएका थिए । तर, अहिले इन्धन डिपोको प्रक्रिया अघि बढ्न नसकेपछि दाङवासी फेरि निरास भएकाछन् ।

तुलसीपुरमा ठूला विमानहरु बस्न नसक्ने भएपछि त्यसलाई आन्तरिक विमानस्थलको रुपमा प्रयोग गर्ने सरकारको योजना रहेको छ । सरकारले दाङकै नारायणपुर क्षेत्रमा वैकल्पिक अन्र्तराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलको अघि सारेको छ ।सो विमानस्थल तुलसीपुरको वैैकल्पिक नभएर समग्र मुलुककै वैैकल्पिक भएको सरोकारवालाहरु वताउँछन् ।
सभामुख कृष्णबहादुर महराले दाङमा वैकल्पिक अन्तराष्र्टिय विमानस्थल निर्माणका लागि उचित पहल भइरहेको जानकारी दिए । दाङमा अन्तराष्र्टिय विमानस्थल निर्माण गर्न सकेको खण्डमा यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *