तीज ः हिजो र आज

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 177 Views   ||

डा.नम्रता पाण्डे
मानिसले आफ्नो मौलिक स्वभाव बिर्सेर आयातित अनुकरणमा सुख खोज्नु सामान्य हुन थालेको छ । समय,ऋतु र मौसमको परिवर्तनसँगै आउने पर्वहरूमा आफ्नै मौलिकता र संस्कृति छिपेको हुन्थ्यो । तिनै पर्व मध्येको तीज पारिवारिक मौलिकता बोकेको,मस्तीले भरिएको, संगीतले गुन्जिएको र उत्सवले झाँगिएको हुन्थ्यो । आमा–हजुरआमा भन्नुहुन्छ– हाम्रो पालामा त यस्तो हुन्थ्यो बाबै, अहिले त तीज फेरिएछ । उहाँहरुको त्यो जमाना धेरै बर्ष पुरानो होइन २०–३० वर्ष अघिको न हो ।

हजुर आमाले जमाना फेरिए छ भन्नुको तात्पर्य हाम्रा चाडपर्व मनाउने प्रचलनमा गुणात्मकता हराउँदै गएको भन्ने भाव सहजै अनुभव गर्न सकिन्छ । पर्व र संस्कृतिको जुन मान्यता र मिठास थियो, त्यसको गुणात्मकता कसरी नाप्ने ?जनैपूर्णिमा शुरु नहुँदै तीजका कार्यक्रम र तीन दिन मनाइने तीज आजभोलि महिनौं लगाएर मनाइनुले खै के, खै के झैं लाग्छ । तीजे भाका र शब्दको मौलिकता हराएको छ । तीजे गीत आफ्ना स्वतस्फूर्त रचना जसमा आफ्ना जीवनका भोगाइ,समाजका कुरीति र अन्याय, देवी, देवताका प्रार्थना, बाआमा र छोराछोरी बीचको विवाह, प्रेम भएर नयाँ घर गएकी छोरीले तीजमा माइत आउँदा पोख्ने भावना समेटिएका हुन्थे । दिदीबहिनी भेला भएर मौखिक रचना गरिएका हुन्थे । आज आवाज उठ्ने महिला सशक्तीकरण र स्वतन्त्रता अनि महिलाले लिनुपर्ने घरका जिम्मेवारी र त्यसमा पनि बुहारीले सहनु पर्ने व्यावहारिक कठिनाइलाई तीज पर्वले खुलस्त भएर उजागर गर्ने अवसर दिएको हुन्थ्यो । महिलाको प्रतिभा र आत्मविश्वास गीतकै माध्यमबाट छताछुल्ल भएर पोखिँदा एक किसिमको सुन्दरता थपिएको हुन्थ्यो ।

आज महिला अधिकारका कुरा गर्न तीज कुर्नु पर्दैन । कुनै गीत गाएर आफ्ना पिर,मर्का र प्रेमलाई पोख्नु पर्दैन । सबै छोरीलाई घरमा दुःख नहोला । मन लागेको बेलामा बुहारीलाई माइत जान रोक छैन । तर जुन संस्कार हो,त्यसमा मौलिकता पनि छैन । पर्वको विशेषता झल्किने संस्कार,व्यवहार,फेसन र खानपान नहुँदा धेरै परिवर्तन महशुस हुनु स्वाभाविक हो । तीजे भाका र यसको मर्म फेरिएर तीजे गीतको नाममा रत्यौली, दोहोरी र छाडापनले भरिएको महशुस हुनु स्वाभाविकै हो । पुराना तीजका गीत चेतनामूलक, सन्देश मूलक र घटना प्रधान हुने गर्दथे । तर आजभोलि तीज भड्किलो हुँदै गएको, परम्परा र संस्कार धान्ने नाममा विकृति र विसंगति भित्रिँदै गरेको महशुस हुन्छ आमाहरूको पुस्तालाई । विल्कुल पारिवारिक र महिलाको पर्व मानिने तीजमा पुरुषहरूले तीजे गीत गाउने र नाच्ने गर्दा पारिवारिक शिष्टता र सभ्यताको मूल्य नरहेको अनुभूति हुन्छ । तीजको मौलिकता भनेकै माइती र चेलीको भावनात्मक सम्बन्ध, परिवार भेट भएर मनाउने तीज भएकाले परिवारसँग बसेर गाउन र नाच्न सुहाउने खालका गीतले मात्र तीजको वास्तविक अस्तित्व कायम राख्छ । आजका तीजे गीतले सरासर मौलिकतालाईनै चुनौती दिएकाछन, त्यसैले यसको भविष्य के हुने हो ?

मौसम अनुसारको फलफूल, तरकारी र खाद्यान्न प्रयोग गरिनु तीजको दर खाने अर्को विशेषता थियो । वर्षायामको पर्व, खेतीपातीको काम सकेर छोरी,चेली माइतमा गई फुर्सदले मनाउने यो पर्वको वैज्ञानिक महत्वपनि छिपेको छैन । हरिया सागपातको प्रयोग,दर खाएपछि व्रत–उपवास बस्ने प्रचलन धार्मिक भन्दा पनि स्वास्थ्य दृष्टिले आवश्यक र महत्वपूर्ण छ । धेरै चिल्लो, पिरो, गुलियो र गरिष्ठ भोजन ग्रहण गरेपछि एकदिन मात्र भएपनि उपवास बस्नु,पानी प्रशस्त पिउनु र पेट सफा हुन दिनु आफैंमा वैज्ञानिक छ । धर्म त्यो हो, जसले शरीर स्वस्थ राख्छ, मन सफा राख्छ र विवेकले चेतनाको उच्च स्तरबाट काम गर्दछ । शरीरलाई स्वस्थ राख्नु शरीरको धर्म हो भने मन,वचन र कर्मलाई सकारात्मक र सत्यको मार्गमा प्रयोग गर्नु वास्तविक धर्म हो । देवी पार्वतीले व्रत बसेर शिवजी प्राप्त गरेको कथालाई सच्याएर भगवान शिवले देवी पार्वतीलाई सिकाउनु भएको ध्यानको कला अनुशरण गर्नु आजका चेलीहरूलाई अति जरुरी भइसकेको छ ।

अस्तव्यस्त जीवन र भड्किलो संस्कार अनि बिग्रँदो स्वास्थ्य र तनावग्रस्त जीवनलाई आनन्दित बनाउन ध्यान र मौनको जरुरत छ । तीजको पहिचान कसरी कायम राख्ने चिन्ता भन्दा पनि आफ्नो पहिचान के हो चिन्न सके वास्तविक धर्म त्यही हुनेछ । आज पर्व, संस्कृति, पहिरन, खानपान र शिष्टता असहज लाग्नुको मुख्य कारण पनि आफ्नो स्वभाव बिर्सेर देखासिकी र प्रतिस्पर्धालाई अनुकरण गर्नु हो । बहिर्मुखी जीवनशैलीले आन्तरिक स्वभावलाई दमित गराउँदै लगेको छ । आफ्नो स्वभावको, जीवन जिउनुको, जीवनमा खुसी र आनन्दको अनुभूति गर्ने कला पहिचान गर्न सकेको क्षणनै वास्तविक संस्कार, सभ्यता र शिष्टताको पहिचान हुनेछ ।
अन्र्नपूर्ण दैनिकबाट साभार ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *