संस्कृतिलाई सामाजिक बनाऔं विकृत होइन

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 276 Views   ||

यतिवेला सबैलाई तीजको रमझमले छोपेको छ । विशेषगरी महिला दिदीबहिनीहरुका लागि तीजको महत्व रहने गरेको छ । तीजको धार्मिक मान्यता भन्दा पर सामाजिक जागरण पैदा गराउने उदेश्यले यस पर्वको महत्वलाई माथि उठाउने महिला जगतको संंख्या बढ्दो छ भने यसको मौलिकतालाई विकृत पार्ने प्रवृति पनि बढ्दो छ । महिला संघ,संस्थादेखि स्कूल, व्यवसायिक संस्थाहरु समेतले तीज सांस्कृतिक कार्यक्रमको रुपमा महिना दिन अघि देखि दर खाने परम्पराको रुपमा यसलाई मनाउन थालेकाछन् । परम्परा देखिनै सांस्कृतिक महत्व बोकेको तीजको रौंनकताले जति महिला वर्गलाई आकर्षित गर्छ त्यतिकै बढ्दो उछिङकलता र भड्किलोपनाले असुरक्षाको वातावरणलाई पनि प्रसय दिइरहेको छ ।
धार्मिक मान्यतामा तीज विवाहित महिलाले श्रीमानको दिर्घायुको कामना गदै बसिने व्रत हो भने अविवाहितहरूले सुयोग्य वरको आशामा व्रत बस्ने गर्छन् । यस समयमा महिलाहरूले नाचगान गर्ने, कथा सुन्ने र पुजाआजा गर्ने गर्छन । तीजको वेला घर गएकी चेलीलाई माइतीले बोलाई दरको रुपमा मिठो,मसिनो खान दिने प्रचलन परम्पराकाल देखि चलिआएको छ । त्यस्तै महिलाले गीतको भाकामा घरमा खेपेका दुःख र पीडाका भारीलाई माइतीको आँगनीमा संगी,साथीहरुका साथ बिसाउने पर्व उहिले देखिनै चल्दै आएकोछ । तर आजको बदलिएको आधुनिक युगमा परम्पराकाल देखि चल्दै आएका रिती र पर्वहरु त मानिन्छन तर आधुनिक शैलीले । जस्तो तीजको उही परम्परा र शैलीलाई आज महिला शसतिmकरणको रुपबाट मनाउने गरिन्छ । गीत र संगीतको भाकामा महिला माथि हुने विभेद र अन्यायको विरुद्ध आवाज बुलन्द गर्ने सामाजिक रुपान्तरणको अभियानको रुपमा यो पर्वलाई लिइन थालेको छ । धार्मिक मान्यतामा विश्वास नगर्ने महिलाहरुले पनि साथीभाईहरुसँगको भेटघाट, नाचागान र दुःख, सुख बाँडने अवसरलाई महत्व दिएर यसलाई प्रगतिसिल पक्ष मान्ने गरेकाछन् । तर हाम्रो समाजलाई आधुनिक शैलीले छोप्दै लगेको छ ।

हाम्रा मौलिक परम्परा र संस्कृतिहरु परिमार्जित गर्ने नाममा तड्कभड्कको शैलीमा विकसित हुँदै गएकाछन् । तीज महिला दिदीबहिनीहरुले आपसमा सद्भाव, प्रेम र सुख, दुःख साट्ने भन्दा बढि गहना देखाउने प्रचलनको रुपमा विकसित हुँदै गइरहेको छ । पर्वहरुलाई महङ्गा बनाउँदै लगेका कारण गरिव, मजदुर र कम आय भएका मानिसका लागि संस्कृतिहरु खुसी भन्दा बढि पीडा दिने स्तरमा जान थालेकाछन् । बढ्दो शहरीकरण चेतना र आम्दानीसँगै फुसदिला महिलाहरूको भड्किलो पहिरन,खानपान तथा नाचगानका दृश्य आजभोलि महिनैभरी देखिंदै आएको छ । यस्ता देखासिकीले आर्थिक रूपले पछाडि परेका महिला वर्गलाई हिनता, खिन्नता र लोभ बढाइदिने नकारात्मक र विकृत तरिकाले तीज मनाइरहेका त छैनौं ? एक पटक सोच्ने गरौँ ।

तीजले छोएको रौंनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन । हरेक बर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन र तीजको उत्साहमा फरक सांगीतिक माहोल सृजना हुने गर्छ । तर मौलिक गीतहरुको साटो अश्लिल अनि दुई अर्थ लाग्ने गीतहरुको भद्धा प्रयोगले तीजको माहौललाई प्रदुर्षित बनाइरहेको कुरा तर्फ सबैको ध्यान पुग्न आवश्यक छ । रत्यौलीका गीत र तीजका भाकाहरु एक जस्ता हुन थालेकाछन । सस्तो लोकप्रियताका लागि श्रोता,दर्शकहरुले यस्तै मन पराउँछन भन्दै तथाकथित मसला हालेर तीजका लागि तयार पारिने गीतहरुले नै तीजलाई अश्लिल र भड्किलो बनाउदै लगेकाछन् । चाहे लाउडस्पिकरमा घन्किने गीत हुन या थपडीका आवाजमा सबैतिर विकृत छाडा संस्कृतिले प्रसय पाएको देखिन्छ । जसको असर हाम्रो मनोसामाजिक, सांस्कृतिक र आर्थिक रुपमा परिरहेको छ । महङ्गा सुनका गहना,रंगीविरंगी साधन लगाउने र दरखाने, खुवाउने नाममा चल्न थालेको होडबाजीलाई रोक्न जरुरी छ । घर,घरमा वा पार्टीप्यालेस वा होटलमा जमघट भएर खर्चिलो भोज आयोजना गर्ने यस्तो भड्काउ संस्कृतिमा रमाउन थालेका महिला दिदीबहिनीहरुले सोच्न जरुरी छ कि हाम्रा साँस्कृतिक पर्वहरुले प्राकृतिकता, मौलिकता र सरलतामा सुन्दरता खोजिरहेका हुन्छन तड्कभड्कता देखाएर होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *