विद्यार्थीको रुची प्राविधिक शिक्षा तर्फ किन ?

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 214 Views   ||

अभिमत

आत्मनिर्भर हुन प्राविधिक शिक्षा

इभा श्रेष्ठ, विद्यार्थी, दीपज्योती नर्सिङ कलेज, घोराही

हामी सबै विद्यार्थीहरुको चाहना अध्ययन पुरा गरिसकेपछि सहजंै रोजगारी प्राप्त होस भन्ने चाहना हुन्छ । तर, नेपालमा धेरै पढे,लेखेका युवाहरु वेरोजगार छन् । देशमा रोजगारी नपाईएपछि युवाहरु विदेश पलायन हुनु परेको छ । हाम्रो शिक्षा परम्परागत रहँदै आएको छ । व्यवहारीक र बैज्ञानिक शिक्षा अहिलेको आवश्यकता हो ।युवाहरुलाई रोजगारीको अवसर राज्यले दिन सकिरहेको छैन । केहीलाई रोजगारी त देला तर, सरकारले सबैलाई तत्कालै रोजगारी दिने अवस्था छैन । त्यसैले हामीले अध्ययन गरेर आफैं आत्मनिर्भरको बाटा अपनाउनुपर्छ । त्यसका लागि प्राविधिक शिक्षानै अहिलेको आवश्यकता हो । म पनि सानै देखि नर्सिङ पेशा प्रति आर्कषित थिए । घरमा पनि मेरा आफन्त पर्ने दिदीहरु नर्स हुनुहुन्छ । त्यसैले सानैदेखि नर्स बन्ने मेरो रहर थियो । त्यसैले नर्सिङ शिक्षा पढ्न थाले । हामीले यो कोर्ष पूरा गर्नका लागि ४ लाख ७५ हजार रुपैयाँ कलेजलाई बुझाउनु पर्छ । त्यसैगरी मासिक ७ हजार होस्टेल फिस रहेको छ । समग्रमा यो कोर्ष पूरा गर्न सबै खर्च गरेर करिव १२ लाख रुपैयाँ खर्च हुने देखिन्छ । केही सिमित परिवार बाहेक धेरैले यति धेरै रुपैयाँ खर्च गरेर आफ्ना सन्तानलाई नर्स पढाउन सक्दैनन् । त्यसका लागि राज्यले ध्यान दिनुपर्छ । अहिले छात्रवृतिको व्यवस्था त छ तर, त्यो निकै कम कोटा छ ।सबैलाई निःशुल्क पढाउन नसके पनि राज्यले छात्रवृत्तिको कोटा बढाएर अरु थप विपन्न वर्गका परिवारका छोरा,छोरीलाई नर्सिङ पढ्ने वातावरण तयार गर्नुपर्छ । नर्स बढी सकेर धेरै विद्यार्थीहरु रोजगारीका लागि विदेश जाने गरेकाछन् । नेपालमा नर्सिङ पेशालाई हेर्ने दृष्टिकोण अहिले पनि राम्रो छैन । अस्पतालहरुमा पनि नर्सहरुलाई डोमिनेट गरिन्छ भन्ने सुनिन्छ । यी सबै विकृतिको अन्त्य गर्नैपर्छ ।

नर्सको काम देखेर पढ्न थाले

लक्ष्मी केसी, विद्यार्थी दीपज्योती नर्सिङ कलेज, घोराही

नर्स बन्ने मेरो सानै देखिको रुची हो । म सानैं छदा नै नर्सको ड्रेसनैं  मन पथ्यो । अस्पतालमा नर्सहरुले काम गरेको देखेर मलाई उनीहरु प्रति निकै सम्मान जागेर आउँछ । नर्स पेशा निकै सम्मानित पेसा हो ।नर्सहरुको उचित सेवा र स्याहार,सुसारबाट धेरैको ज्यान अकालमा मृत्यु हुनबाट बचेको हुन्छ । नर्सिङ पेशालाई हामीले सामाजिक सेवाको पेशा मान्नु पर्छ । किनकी थोरै आम्दानी गरेर भएपनि विरामीको सेवा गर्नु आफैमा महत्वपूर्ण सामाजिक सेवा हो । हाम्रो समाजमा अहिले पनि नर्स पढ्ने छोरीहरुलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्छ । हाम्रो समाजमा अहिले पनि पेशा राम्रो होइन भन्ने परम्परागत तथा गलत सोचाई रहेको छ । शहरी क्षेत्रमा विस्तारैं केही परिवर्तन आएपनि ग्रामीण क्षेत्रमा अहिले पनि नर्सहरुलाई हेयको भावले हेरिन्छ । अब समाजमा नर्सलाई हेर्ने दृष्टिकोण बदल्नु पर्छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउनका लागि राज्यले ध्यान दिनुपर्छ ।अहिले पनि नर्सिङ पढ्नका लागि विदेशमा जाने चलन छ । यहि कारणले बार्षिक करोडौं रुपैया विदेशमा गइरहेको छ । अहिले पनि ग्रामीण क्षेत्रमा नर्स पढाई हुँदैन ।नर्स पढ्नका लागि हामी विद्यार्थीहरु राजधानी र विकसित शहरहरुमा जानुपर्छ ।त्यसले धेरै खर्च भइरहको हुन्छ ।अब राज्यले गाउ,ँगाउँका विद्यालयहरुमा नर्सिङ शिक्षा पढाइको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य संस्थाहरुमा अनिवार्य नर्सको दरबन्दी हुने व्यवस्था गर्नुपर्छ । अहिले ठूला अस्पताल र शहरी क्षेत्रका अस्पतालमा मात्रै नर्सहरु छन् । गाउँका साना स्वास्थ्य संस्थाहरुमा नर्सहरु छैनन् । अहिलेको महंगो नर्सिङ शिक्षाको शुल्क घटाउनुपर्छ । आर्थिक अवस्था कमजोर भएकै कारणले पढ्न नपाएका विद्यार्थीहरुलाई राज्यले निशुल्क पढ्ने व्यवस्था गर्नुपर्छ ।

प्रविधि बिना मुलुकको विकास सम्भव छैन

जनक वली, विद्यार्थी राप्ती इञ्जिनियरिङ कलेज,दाङ

अहिलेको दुनिया प्रविधिको हो । प्रविधिको विकास विना मुलुकको विकास सम्भव छैन । विकसित मुलुकहरुले प्रविधिकको विकास गरेरै आफ्नो मुलुकको विकास गर्न सम्भव भएकाछन् । नेपालमा केही बर्ष पहिलेसम्म प्राविधिक शिक्षाको खासै पढाई हुँदैन थियो । केही कलेजहरुले मात्रै प्राविधिक शिक्षा दिइरहेका थिए । पछिल्लो दशक मुलुकमा प्राविधिक शिक्षाको तीव्र विकास भएको छ । यसतर्फ विद्यार्थीहरुको आकर्षण पनि निकै बढेको छ । म पनि विद्यालय तह देखिनै कम्प्यूटर चलाउन निकै रहर लाग्थ्यो । इन्टरनेटको माध्यमबाट धेरै कुराहरु सिक्ने अवसर मिल्छ । नेपालका गाउँ, गाउँमा अझै पनि प्राविधिक शिक्षा पुगिसकेको छैन । हामीले एसएससी दिएर प्राविधिक शिक्षा पढ्ने अवसर प्राप्त ग¥यौं । अब विद्यालय तह देखिनै प्राविधिक शिक्षा पढाई हुनुपर्छ । अहिले प्राविधिक जनशक्तिहरु उत्पादन हुने क्रम बढे पनि उनीहरुलाई रोजगारीको अवसरको सुनिश्चितता हुन सकेको छैन । अब सरकारले प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुलाई अनिवार्य रोजगारीको व्यवस्था सृजना गर्नु प¥यो । प्राविधिक शिक्षा पढेका विद्यार्थीहरु विदेश पलायन हुने समस्या पनि बढेको छ । यहाँ उत्पादित जनशक्ति विदेश पलायन हुँदा मुलकको विकासमा टेवा पुग्दैन् । नेपालमा रोजगारी नपाउनु र पाए्पनि न्यून ज्याला मात्रै पाउने भएकाले विद्यार्थीहरु राम्रो कमाई गर्ने आशामा विदेश पलायन भइरहेका छन् । अहिले सरकारी कार्यालयहरुमा पनि प्राविधिक शिक्षा खासै छैन । पुरानै जनशक्तिले काम गर्नुपर्ने भएकाले सरकारी कार्यालयका काम कारवाही प्रभावकारी हुन सकेका छैनन् । पुरानै परम्परागत तरिकाले चलिरहेको हुनाले आम सर्वसाधारणको काममा ढिलाई भइरहेको हुन्छ । सरकारले शिक्षालाई पूर्ण निःशुल्क बनाउने भनेको छ । तर, अहिले पनि प्राविधिक शिक्षा निकै महङ्गो छ । विपन्न वर्गका परिवारका छोराछोरीहरुले प्राविधिक शिक्षा लिन पाएका छैनन् ।

सरकारले अब नर्सिङ शिक्षालाई सर्वसुलभ गराउनु पर्छ ।

दीपिका डाँगी,विद्यार्थी सञ्जिवनी नर्शिङ कलेज,घोराही, दाङ

मैले यस वर्ष जनज्योती विद्या मन्दिर घोराहीबाट एसएलसी पास गरेको हुँ ।अहिले घोराहीकै सञ्जिवनी नर्सिङ कलेजमा स्टाप नर्समा भर्ना भएको छु । स्वास्थ्य सेवामा लाग्ने मेरो सानै देखिको रहर हो । म स्टाप नर्स भएर ग्रामीण क्षेत्रका विपन्न वर्गका सर्वसाधारणहरुको सेवा गर्न चाहन्छु । हाम्रो मुलुक नेपालमा शहरी क्षेत्रमा मात्रै स्वास्थ्य संस्थाहरु केन्द्रित भएका छन । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य तर्फ राज्यले कुनै ध्यान दिएको छैन । संविधानमा सबै नागरिकको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिने भनेर लेखेको छ रे । तर,अहिले पनि कैयौं विपन्न वर्गका विरामीहरुआर्थिक अभावकै कारण मृत्यु शैयामा छट्पटाउनु परेको छ । अहिले पनि सामान्य उपचारका लागि राजधानी अथवा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता छ । कैयन नेपालीले उपचार मै घरखेत बेचेरै जीन्दगी बर्बाद भइरहेका छन् । सरकारले निःशुल्क भनेका औषधीहरु पनि बजारमा महंगो मूल्यमा विक्री भइरहेका छन् । जनशक्तिको उचित व्यवस्थापन हुन सकेको छैन । अब सरकारले स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्तिलाई अनिवार्य गाउँमा गएर निश्चित समय सेवा गर्ने व्यवस्था गर्नुपर्छ । नर्सिङ शिक्षा निकै महंगो छ । यति धेरै चर्को शुल्क पढेर नर्स भएपनि उचित कमाई हुँदैन भन्छन् । पढ्ने खर्च धेरै हुने तर,रोजगारीका अवसर नमिल्ने र मिले पनि निकै कम तलवमा काम गर्नुपर्ने हुन्छ । सरकारले अब नर्सिङ शिक्षालाई सर्वसुलभ गराउनु पर्छ । अहिले नर्सिङ क्षेत्रमा निकै श्रम शोषण भइरहेको छ भन्ने सुनिन्छ । अहिले छात्र वृत्तिको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्र वृत्तिको व्यवस्था गरिनुपर्छ ।प्राइभेट संस्थामा न्यून ज्यालामा काम गराउन बन्द गर्नुपर्छ । उनीहरुलाई पनि निश्चित पारिश्रमिकको व्यवस्था गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *