किन असुरक्षित हुदंैछन् बालबालिका ?

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       | 379 Views   ||

कन्चनपुर कि बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना यता पनि देशभर धेरै बालिकाको हत्या र बलात्कार भइसकेको छ । अपराधीहरु कति पक्डिन्छन त कति त्यतिकै छाडिन्छन् । आखिर किन बढिरहेको छ बालबालिका माथि यस्तो जघन्य अपराध ?बालकहरु अपहरित हुन्छन र अपराधीले फिरौती रकम माग्छ नदिए बालकको हत्या गरिन्छ । बालिका अपहरित हुन्छे र बलात्कार पछि हत्या गरिन्छ ।
वास्तवमा यस्ता काम चिनेजानेकै वा आफुले विश्वास गरेकै मान्छेबाट घात हुन सक्छ, जस प्रति हामी खास चनाखो हुँदैनौं र सर्तक हुँदैनौं । तर, अहिलेसम्म देखिएको घटना,विवरणबाट के स्पष्ट हुन्छ भने, अपराधी हाम्रै वरीपरी हुन्छन् । त्यसलाई हामी पहिचान गर्दैनौं । उनीहरुको नियत माथि कुनै पनि प्रश्न उठाउँदैनौं । जब उनीहरुको नियत थाहा हुन्छ,त्यसबेला हामी संकटको घेराबन्दीमा फसिसकेका हुन्छौं ।

चौतर्फी असुरक्षित

अहिले हाम्रो दैनिकी कसरी चलिरहेको छ ? समाज कसरी रुपान्तरण हुँदैछ ? युवाहरुको महत्वकांक्षा कसरी बढेर गइरहेको छ ? यी कुरामा हामी खास घोत्लिने गरेका छैनौं । एकातिर हामी आफ्नो काम धन्दामा मग्न छौं । अर्कोतिर छोटो बाटोबाट धेरै पैसा कमाउने मनोवृत्ति हुँर्कदै छ । प्रतिष्पर्धाको यो दौडमा श्रम,मेहनतको बलमा पैसा आर्जन गर्ने बाटो कतिलाई लम्बेतान लाग्न थालेको छ । छिटो र छरितो ढंगले पैसा कमाउने ‘आइडिया’ खोज्दै युवाहरु भौतारिरहेका छन । त्यही भिडमा यस्ता दुषित मानसिकता बोकेर हिँड्नेहरु पनि छन, जोसँग साना बच्चा माथि यौनजन्य कृत्य राख्ने मनोकांक्षा छ ।
यता आमाबुबालाई छोराछोरीसँग समय विताउने फुर्सद छैन । उनीहरु छोराछोरी कहाँ जान्छन, के गर्छन भनेर रेखदेख गर्न असमर्थ छन । यस्तो अवस्थामा अपराधिक मनोवृत्ति पालेकाहरुलाई सजिलो भएको छ, आफ्नो काम फत्ते गर्नका लागि । उनीहरुले खासगरी बालबालिकालाई आफ्नो जालोमा फसाउने गरेका छन । बालबालिकालाई प्रयोग गरेर यौन प्यास मेट्ने देखि पैसा आर्जन गर्नेसम्मको कृत्य गर्न उनीहरु उद्दत छन ।

अब के गर्ने त ?

हामी एकातिर के भनिरहेका छौं भने, बालबालिकालाई खुल्ला छाड्नु पर्छ । अर्कोतिर,बालबालिकालाई अभिभावकले रेखदेख गरेन । अभिभावकको पनि आफ्नै बाध्यता छन । उनीहरु दैनिक गुजाराका लागि आ–आफ्नो काममा व्यस्त छा । त्यही कारण छोराछोरीलाई निगरानी गरेर वा उनीहरुको पछि लागेर बस्न सक्दैनन् ।
बिहान खाजा,खाना ख्वाएर, लुगाफाटो लगाइदिएर विद्यालय पठाइदिन्छन् । विद्यालय पुगेपछि पढ्छन, लेख्छन, जान्ने हुन्छन भन्ने विश्वास हुन्छ । आफ्ना छोराछोरी सुरक्षित छन भन्ने लाग्छ । बालबालिका विद्यालय सकाएर अपरान्ह घर फर्कन्छन । घर फर्केपछि होमवर्क गर्छन, खेल्छन । आमा,बुबाले यतिबेला उनीहरुलाई खुल्ला छाडिदिन्छन् ।
ठिक यही मौकामा बालबालिका अपहरित हुन सक्छन् । बलात्कृत हुन सक्छन् । तर,घरभित्र वा विद्यालयमा पनि बालबालिका सुरक्षित छन भन्ने भ्रम त्याग्नुपर्छ । बालबालिकाहरु माथि विद्यालयमा पनि विभिन्न किसिमको हिंसा हुने गर्छ । उनीहरु माथि नियतवस ढंगले नराम्रा व्यवहार हुन्छन् । बेलाबखत यस्ता घटना सतहमा आउने गरेको छ । दोलखाको एक विद्यालयमा शिक्षकको पिटाइबाट विद्यार्थीको ज्यान गएको घटना पनि धेरै पुरानो भएको छैन । कतिपय बालिका माथि शिक्षकहरुले यौनजन्य दुव्र्यवहार गरेको घटना पनि छन । यसको अर्थ के भने, बालबालिका चारैतिर असुरक्षित छन । अब उनीहरुलाई कसरी सुरक्षा प्रदान गर्ने ? अभिभावक उनीहरुको सुरक्षालाई लिएर कसरी ढुक्क हुने त ?

अभिभावक सर्तक हुनुपर्छ

आफ्नो बच्चाको ख्याल राखौं । उनीहरु कहाँ गएका छन,कोसँग गएका छन, किन गएका छन ? यावत कुरामा निगरानी राखौं । निश्चय पनि बालबालिकालाई खुला रुपमा खेल्न छाड्नु पर्छ । यसको मतलव यो होइन कि उनीहरुको वास्तै नगरौं । उनीहरु माथि निगरानी राख्नुपर्छ । आफ्नो बच्चा कहाँ जान्छ, के गर्छ भन्ने कुरामा अभिभावक बेखबर भएर हुँदैन । कहाँ खेल्छ, कतिबेर खेल्छ भन्ने कुरा याद गर्नुपर्छ । निश्चित समयमा उनीहरु फर्कन्छन वा फर्कदैनन् ? ख्याल गर्नुपर्छ । साथै उनीहरुका लागि खेल्ने समय पनि निर्धारण गरिदिनु पर्छ । कति समय खेल्ने र घर फर्कने भन्ने कुराको टुंगो गर्नुपर्छ ।
आफुले चिनेजानेको मान्छे भएपनि उनीहरुको नियत कस्तो छ भनेर थाहा पाउन सकिदैन् । जो पायो त्यही मान्छेसँग घुमफिर गर्न पठाउने,धेरै निकट हुन दिने जस्तो भुल नगरौं । चिने जानेकै मान्छेले आफुलाई फन्दामा पार्न सक्छन् । आफ्नो बच्चालाई पनि सर्तक गराउनु पर्छ । कसैले कतै जाउँ भन्ना साथ खुरुखुरु हिँड्ने होइन,अभिभावकलाई सोध्ने वा अनुमति लिने अभ्यास गराउनु पर्छ । कसैले दिएको खानेकुरा क्वाप,क्वाप खाने होइन,अभिभावकलाई सोधेर मात्र खाने बानी गराउनु पर्छ । अभिभावक भन्दा टाढा जानु परेमा

विश्वासिलो मान्छेको मात्र साथ लाग्न सिकाउनुपर्छ ।

साथै कतिपय अवस्थामा उनीहरुलाई सुरक्षात्मक अवस्थामा रहनका लागि सर्तक गराउनुपर्छ । कसैले फकाई,फुल्याई गरेमा के गर्ने ? कसैले कुनै खाने कुरा दिएमा के गर्ने ? कसैले जर्र्वजस्ती समात्न खोजेमा के गर्ने भन्ने जस्ता कुरा अभिभावकले सिकाउनुपर्छ । अब त विद्यालयले पनि यस्तो दायित्व निर्वाह गर्नुपर्ने अवस्था छ । बालबालिकालाई कसरी रक्षात्मक रुपमा उभिने भन्ने कुराको पूर्व तयारी गराउनु आवश्यक छ ।
खासगरी शहरीया बालबालिकालाई एक्लै घरमा नछाड्ने, भरपर्दो व्यक्ति वाहेक अरुको साथमा हिँड्न नदिने,रेखदेख गर्न नसकिने ठाउँमा खेल्न पठाउने जस्ता गल्ती अभिभावकले गर्नु हुँदैन । जब गल्ती गरिन्छ, त्यसबेला गल्ती सुधार्ने समय पनि आफुसँग नहुन सक्छ । अनलाइन खवरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *