सामाजिक भावले चलचित्रमा प्रवेश गरेको हँु

  
  प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       | 399 Views   ||

पाण्डव शर्मा, दाङ  । घोराही– १३ निवासी रिना बस्नेतको सानै देखि अभिनयमा रुची थियो । उनी बच्चै देखि सामाजिक काममा हमेसा सहभागी हुन्थिन् । २०६० सालमा उनले अभिनयको तालिम समेत लिइन् । रेडक्रसमा सहभागी भएकी
रिनालाई त्यहिँबाट अभिनय सिक्ने थप प्रेरणा जाग्यो । त्यतिबेला रेडक्रसले नै सिन्धुपाल्चोकको चौतारामा १० दिने अभिनय तालिम दिएको थियो । रिनाले अहिलेसम्म करिव दुई सय ५० ओटा नाटकमा अभिनय गरिसकेकी छन् । उनी नाटकको लेखन निर्देशन तथा अभिनय गर्ने गर्दथिइन् । ‘जनचेतनामुलक नाटकहरु देखाउनु मेरो मुख्य उद्देश्य थियो,’ उनले भनिन्, ‘नाटक देखाउनकै लागि विभिन्न स्थान सम्म पुगेको छु ।’ नाटक क्षेत्रमा लागे पछि ठूलो पर्दामा काम गर्ने उनको रहर जागेर आयो । त्यहि भएर अहिले उनले ठूलो पर्दाको फिल्ममा हात हालेकी छन् । दाङका पूराना पत्रकार, साहित्यकार तथा निर्देशक केएल पीडितले निर्देशन गरेको ‘लावाजुनी’ नामक चलचित्रको निर्माता हुन् रिना । सो चलचित्रको निर्मातामा युवा नेता गेहेन्द्र बस्नेत र बसन्तराज भट्ट पनि छन् । ‘लावाजुनी एउटा ऐतिहासिक विषय समेटेको मौलिक चलचित्र हो, यसले नेपाली समाजमा भएको उत्पीडनलाई देखाउन खोजको छ,’ उनले भनिन् । लावाजुनी मुक्तकमलहरी बालिकाको कथा समेटेर बनाइएको चलचित्र हो । यसमा छोरीहरुलाई शिक्षाको ज्योती देखाउनुपर्छ भनेर देखाउन खोजिएको छ । चलचित्र निर्माणमा करिव ५० लाख रुपैयाँ खर्च भइसकेको रिना बताउँछिन् । ‘हामीले यसलाई व्यावसायिक प्रायोजनका लागि भन्दा पनि सामाजिक प्रतिविम्व देखाउने हिसाबले निर्माण गरेका छौं ।’
त्यसो त रिना अहिले घोराहीको एक सहकारीकी व्यवस्थापक हुन् । उनका एक छोरा र छोरी अहिले अध्ययनरत छन् । श्रीमान रोजगारीका लागि विदेशमा छन् । चलचित्रमा लाग्नका लागि श्रीमानबाट राम्रै सहयोग पाएको उनी बताउँछिन् । ‘राम्रो काम गर्न थालेकाले होला घर परिवार सबैबाट सहयोग मिलेको छ,’ उनी भन्छिन्, ‘हामी महिलाहरु पनि
समाज रुपान्तरणका यस्ता अभियानहरुमा सहभागि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ लावजुनी घोराही, देउखुरी, बर्दिया लगायतका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । चलचित्र देश विदेशमा प्रर्दशनको तयारी भइरहेको छ । चलचित्रमा नेपाली समाजको ऐतिहासिक पक्षलाई समेटिएकाले यसलाई सबैले हेर्न जरुरी रहेको उनको
भनाई छ । ‘फिल्ममा नेपाली समाजको  वर्गीय उत्पीडितलाई देखाउन खोजिएको छ, यो अन्य फिल्म जस्तो सस्तो लोकप्रियताका लागि निकालिएको होइन,’ रिनाले भनिन् । सयौं वर्ष पछि यहि फिल्म हेरेर नयाँ पुस्ताले नेपाली समाजमा देखिएको वर्गीय उत्पीडितलाई बुझ्न पाउने फिल्मका निर्देशक केएल पीडित बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *