महिला राजनीतिमा बलिया भए शारीरिक हिंसा रोकिन्छ

  
  प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       | 182 Views   ||

 डा. बाबुराम भट्टराई
महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको तुटिनै मुख्य रूपमा महिला माथि हुने हिंसाको प्रमुख कारण हो । केही समययता नेपालमा महिला हिंसाका घटना बढिरहेका छन । यो अत्यन्तै चिन्ताको विषय हो । सामान्य रूपमा महिलामाथिको हिंसा विविध रूपमा हुने गरेको सबैलाई थाहा भएकै विषय हो । तर, केही समययता मुख्य रूपमा लैंगिक हिंसाले बलात्कारको रूप अत्यन्त भयंकर ढंगले लिएको छ, जुन चिन्ताजनक छ ।
सामान्य अवस्थाका महिला मात्र नभएर अत्यन्त कलिलो उमेरका बालबालिका र अत्यन्त पाको उमेरका वृद्धामाथि समेत बलात्कार हुने र त्यो कुकृत्य पराया परचक्रीका साथै आफन्त र रगतका नाताबाटै समेत हुने गरेका धेरै घटना प्रकाशमा आएका छन । यससँगै राज्यको उच्च ओहदामा रहेका सुरक्षा अधिकारी समेत यस्ता घटनामा मुछिएका कुराले विषय वस्तुलाई अत्यन्त गम्भीर बनाएको छ । बलात्कारका घटना अहिले एक्कासी बढेका हुन अथवा अहिले प्रकाशमा आउने क्रम चाहिँ बढेको हो ? बलात्कार वास्तवमा के हो ? भन्ने विषयमा हामीले ठीक ढंगले बुझ्नु आवश्यक छ ।
जतिवेला देखि मानव जातिको विकास भयो, त्यतिवेलादेखि नै लैंगिक श्रम विभाजन पनि भयो । त्यस यता महिला र पुरुष बीचको सम्बन्धमा लैंगिक भेद गर्ने र महिलाको लैंगिक भूमिकालाई अपहेलना र अपव्याख्या गर्दै जाने प्रचलन बढ्दै गएको पाइन्छ । समाजका विभिन्न चरण खासगरी दासयुग र सामन्तवादी युगलाई नियाल्दा महिलालाई एउटा यौन वस्तुका रूपमा, सन्तान उत्पादनको साधनका रूपमा मात्रै लिने प्रचलन बढेर गयो । त्यो समयमा महिलालाई बलात्कार गर्नु सामान्य हो भन्ने रूपमा पुरुषले ग्रहण गर्थे । सायद त्यतिवेला बलात्कार भनिएन पनि होला । पौराणिक कथामा आफूलाई भगवान भन्नेहरूले समेत जबर्जस्ती करणी, बलात्कार गरेका घटना हामीले सुन्छौँ । यसो हुँदै आउँदा यसका रूपहरू समयक्रम अनुसार फरकफरक हुँदै गएपनि महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको तुटिनै मुख्य रूपमा महिलामाथि हुने हिंसाको प्रमुख कारणको रूपमा हामीले मान्नुपर्ने हुन्छ । खासगरी पुरानो युगमा जतिवेला विज्ञानको आविष्कार भइसकेको थिएन, त्यतिवेला महिला र पुरुषको लिंग भेदका सामाजिक भूमिका बारे पुरुषको मात्र यौनचाहना हुन्छ, पुरुषको वीर्यले मात्र सन्तान उत्पादनमा भूमिका खेल्छ र महिलाले गर्भाशय मात्र प्रदान गर्छन भन्ने अर्थमा गलत ढंगले परिभाषित गरियो । त्यस अर्थमा पुरुषले यौन सम्बन्धमा पूर्ण रूपमा आफ्नो एकाधिकार कायम गर्ने र महिलालाई सन्तान उत्पादनको भाँडो,वस्तुका रूपमा मात्रै बुझ्ने एउटा प्रवृत्ति बन्यो ।

वैज्ञानिक रूपमा पनि त्यो अल्पबुझाई थियो भने सामाजिक,सांस्कृतिक रूपमा पनि त्यो विभेद थियो । त्यसकारणले गर्दा महिलाका यौन चाहनालाई कहिल्यै स्थान दिइएन । वंश निर्माण गर्ने,सन्तान उत्पादन गर्ने, मानव जातिको निरन्तरता दिने क्रममा महिलाको भूमिकालाई ठीक ढंगले स्वीकार गरिएन, परन्तु पूर्ण रूपले पुरुषको एकाधिकार कायम गरियो ।
हाम्रो समाज जहाँ पुराना मूल्य–मान्यताका आस्था भत्किएका छन र नयाँ वैज्ञानिक संस्कार, संस्कृति र आस्था पनि निर्माण भइसकेको छैन, यस्तो संक्रमणकालीन अवस्थामा महिला बढी लैंगिक हिंसाको सिकार भएको देखिन्छ । यसप्रति हामी अत्यन्त गम्भीर बन्नुपर्छ । नेपालको सन्दर्भमा अहिले पछिल्लो चरणमा महिलामाथि जुन हिंसाका घटना भएका छन्, यसलाई हामीले अन्त्य गर्नैपर्छ । पहिलो, महिला र पुरुषको यौन र लिंग सम्बन्धी बुझाइको अन्तरलाई प्रष्ट पार्नुपर्छ । महिला–पुरुष लिंग भनेको प्राकृतिक रूपमा श्रम विभाजन हो भने यौन भनेको लिंगको विभाजनका आधारमा देखिने यौनिक प्रवृत्ति, चाहना र भूमिकाको अभिव्यक्ति हो । सबैभन्दा पहिले लिंगभेद हुन्छ तर यौनिक रूपमा उनीहरूबीच चाहना र भूमिका बराबर हुन्छन् । त्यस हिसाबले उनीहरूमा विभेद् गरिनु हुँदैन । असमानता होइन, लैंगिक भिन्नता मात्र हो भन्ने कुरालाई हामीले बुझ्ने र बुझाउने गर्नुपर्छ । दोस्रो, अहिलेको आधुनिक लोकतान्त्रिक युगमा महिला र पुरुषले प्राकृतिक रूपमा सन्तान उत्पादनको भूमिकादेखि लिएर समाज निर्माण, आर्थिक विकास र समृद्धि, राजनीति र राज्यसत्ताका सबै अंगमा बराबर भूमिका खेल्न सक्छन भन्ने मान्यता हामीले स्वीकार गर्नुपर्छ । राजनीतिक रूपमा महिला र पुरुषलाई बराबर ढंगले स्थान दिने हो भने महिलामाथि पुरुषले एकाधिकार जमाउने र बल प्रयोग गरेर हिंसात्मक गतिविधि गर्न सक्दैन । तेस्रो, हाम्रा धार्मिक, सांस्कृतिक संस्कार जुन महिलाविरोधी छ, महिलालाई यौन शोषण गर्ने र महिलाको यौनिक आकांक्षालाई निषेध गरेर पुरुषको एकाधिकार जमाउने जुन प्रवृत्ति छ, त्यसलाई हामीले सामाजिक, सांस्कृतिक क्रान्तिमार्फत अन्त्य गर्नुपर्छ । महिलामा पनि पुरुष जत्तिकै यौन चाहना हुने र यो उनीहरूको आफ्नो अधिकारको कुरा पनि भएकाले कुनै पनि पुरुषले महिलालाई एकतर्फी रूपमा यौन शोषण गर्ने अधिकार प्राप्त गर्न सक्दैन ।
। त्यसैले आजकल विकसित समाजमा लोग्नेले पनि श्रीमतीको सहमतिविना यौन सम्बन्ध राख्नु हुँदैन भन्ने मान्यता स्थापित भएको छ र यदि पतिले पनि जबर्जस्ती करणी गर्छ भने त्यो अपराध हुन्छ भनेर सभ्य समाजले कानुनी रूपमै परिभाषित गरेको छ । हाम्रो देशमा पनि हाल सालै बनाइएको फौजदारी र देवानी संहितामा श्रीमानले समेत श्रीमतीको इच्छाविपरीत जबर्जस्ती गर्न हुँदैन भन्ने प्रावधान राखिएको छ । यसलाई गम्भीरतापूर्वक स्थापित गर्नुपर्छ । त्यसका निम्ति बृहत रूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक अभियान चलाउनु पर्छ । चौथो, हाम्रो जस्तो देशमा अहिले यस्ता विकृति बढ्नुको पछाडिको कारणमा हाम्रै सामाजिक, आर्थिक संरचना भत्किएर खासगरी युवामा निराशा, पलायन, कुण्ठा बढ्दै जानु पनि हो । यस्ता कुण्ठा पोख्न महिला माथि भौतिक ढंगले आक्रमण गर्ने र यौनजन्य अपराध गर्ने प्रवृत्ति पनि बढ्दो छ । यसलाई ठीक ढंगले सम्बोधन गर्नुपर्छ । यस सँगसँगै जोडिएको डिजिटल प्रविधि मार्फत अश्लील चित्र, अश्लील भिडियो व्यापक रूपमा प्रसारित भएको छ । त्यसको पहुँचका कारणले गर्दा पनि मानिसमा अनावश्यक ढंगले यौनिक उत्तेजना बढ्ने र त्यसको अभिव्यक्ति महिलामाथि बलात्कारको हदसम्म जाने प्रवृत्ति पनि थपिन पुगेको छ । यस्ता कुरालाई हामीले कडाइपूर्वक निषेध गर्नुपर्छ । त्यस्ता अश्लील तस्बिर, भिडियोलाई सरकारले नियम बनाएर रोक्न सक्नुपर्छ । पाचौँ, महिलामाथि जुन ढंगले अहिले हिंसा भइरहेको छ, सत्तामा रहनेले आफ्नो सत्ता र शक्तिको दुरुपयोग अथवा सम्पत्तिको दुरुपयोग गरेर महिलामाथि अनावश्यक ढंगले दबाब दिने प्रवृत्ति बढेको हामी पाउँछौँ ।
राजनीतिक रूपमा महिला र पुरुषलाई बराबर ढंगले स्थान दिने हो भने महिलामाथि पुरुषले एकाधिकार जमाउन र बल प्रयोग गरेर हिंसात्मक गतिविधि गर्न सक्दैन । कार्यालयमा पनि उपल्लो दर्जाका कर्मचारीले आफूभन्दा तल्लो दर्जाका महिला कर्मचारीलार्ई दबाबमा पारेर यौनजन्य क्रियाकलाप गर्ने प्रवृत्ति पाइन्छ । यस्तै शान्ति–सुरक्षाको जिम्मा लिएको प्रहरीका अधिकारी समेतले पनि त्यस्तो प्रकारको यौन हिंसा गरेको घटना बाहिर आएका छन । राजनीतिक नेतृत्व पनि यसबाट अछुत छैन । पछिल्लो चरणमा दैनिक जसो महिला हिंसाका घटना हामी सुनिरहेका छौँ । त्यस मध्ये कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण एउटा केस स्टडीका रूपमा पनि आएको छ । एउटा बालिका माथि बलात्कार र हत्या भएको दुई महिना भइसक्दा पनि राज्यले त्यसका अपराधीको किटान गर्न सकेको छैन अथवा त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेको छ । यो अत्यन्तै गम्भीर प्रकृतिको विषय हो ।
सरकारले बनाएको छानबिन टोलीमा रहेका कानुनी पृष्ठभूमिका व्यक्तिबाट अपराधी चिनिएको तर अपराधी लुकाउन खोजिएको र प्रतिवेदनलाई पनि लुकाउन खोजिएको भन्ने भनाइ आउनु अत्यन्त गम्भीर विषय हो । सत्ताको दुरुपयोग गरेर महिलामाथि यस प्रकारको हिंसा गरिन्छ, न्यायको मार्ग रोकिन्छ भने यो अत्यन्त गम्भीर विषय हो । महिलामाथि जुन प्रकारको विभेद, शोषण र बलात्कार जस्ता जघन्य अपराध भएका छन यसलाई एउटा राष्ट्रिय लज्जाको विषय मानेर यसको अन्त्य गर्नका निम्ति राजनीतिक, कानुनी, प्रशासनिक सबै क्षेत्रले कडा कदम चाल्नुपर्छ । पुरुषप्रधान सोच एकातिर छ भने नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने ठाउँमा प्रशासन, अड्डा, अदालत, शान्ति सुरक्षा लागू गर्ने ठाउँ पुरुषको बाहुल्य छ । त्यस कारणले गर्दा पनि महिलामाथि हुने यस्ता हिंसा र अपराधको ठीक ढंगले छानबिन गरी अपराधीलाई कारबाही गर्नुको साटो कुनै न कुनै बहानामा त्यसलाई ढाकछोप गर्ने, अल्झाउने प्रवृत्ति बढेर गएको छ । त्यसैले हामीले महिलालाई राज्यका सबै अंगमा बराबर अधिकार दिनुपर्छ, सम्पत्ति माथि पूर्ण अधिकार दिनुपर्छ भन्ने जुन नयाँ संवैधानिक र कानुनी व्यवस्था गरेका छौँ, त्यसलाई कडाइसाथ कार्यान्वयन गरी महिला र पुरुषलाई पूर्ण रूपले सबै क्षेत्रमा समान व्यवहार हुने परिस्थिति सिर्जना गर्नुपर्छ । यसरी मात्रै हामीले सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सक्छौँ । नयाँ पत्रिकाबाट साभार ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *