पाण्डव शर्मा
घोराही । पूर्वमन्त्री एवं नेकपाकी नेतृ रेखा शर्माले बहालवाला सांसद्लाई राजिनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई उम्मेदवार गराउने कुराको औचित्य पुष्टि हुनुपर्ने बताएकी छन् ।
पार्टीले राष्ट्रिय आवश्यकताको आधारमा गौतमलाई उम्मेदवार बनाउन खोजेको उल्लेख गर्दै उनले तर, यसको औचित्य वारे पार्टीले जनतालाई स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याईन् ।
‘पार्टी नेतृत्व, नेता र कार्यकर्ताले मात्र थाहा पाएर हुँदैन, यसको औचित्य वारे आम जनतालाई बुझाउन सक्नुपर्छ,’ उनले भनिन्, ‘वामदेव कमरेडलाई उम्मेदवार बनाउँदा पार्टीले त्यसबाट उत्पन्न हुने प्रभाव र परिस्थितिको भने आँकलन गर्नै पर्छ ।’
अर्को प्रशंगमा शर्माले पार्टी एकताको कामले चाँडै पूर्णता पाउने जानकारी दिइन् । ‘अलग अलग पृष्ठभुमि र बैचारिक धारबाट आएका दुई ठूला दलहरुबीच एकता हुँदा केही ढिलो हुनु स्वभाविक हो,’ उनले भनिन्, ‘अब पार्टी एकता प्रक्रिया चाँडै टुंगिन्छ ।’
मुलुकमा संविधान निर्माण भएर अहिले समृद्धिको दिशामा प्रवेश गरेको उल्लेख गर्दे शर्माले समाजवाद स्थापनका लागि पार्टीले बृहत् योजना ल्याउनुपर्ने आवश्यकता औंल्याईन् ।
‘अब हामीले मुलुकलाई छोटो समयमा दूू्रत ढंगले विकास गराउनुपर्ने छ,’ उनले भनिन्, ‘पछिल्लो दशक हामी संविधान निर्माणमा केन्द्रित भयौं, अबको दशक मुलुकको विकास तथा समृद्धि तर्फ लाग्नै पर्छ ।’