पार्टीमा योग्यता र क्षमताको मूल्याङ्कन हुनुपर्छ : माधव नेपाल

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५       | 217 Views   ||

पाण्डव शर्मा
घोराही । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा इमान्दार तथा सक्षम नेता तथा कार्यकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।

नेकपा दाङले आज घोराहीमा आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानाप्रदान कार्यक्रममा नेता नेपालले पार्टीमा योग्यता र क्षमता अनुसार सबैलाई उचित जिम्मेवारी दिइनुपर्ने बताए । ‘पार्टीमा सबैको भूमिका हुनुपर्छ, कामको मूल्याङ्कन हुनुपर्छ, सबैले समान जिम्मेवारी पाउनुपर्छ,’ उनले भने, ‘इमान्दार र योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाइनुहुँदैन ।’

पार्टीमा नेताहरुबीच विवाद भइरहेको छ भन्ने कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता नेपालले भने, ‘भित्र हुँदै नभएका कुराहरु बाहिर आइरहेका छन्, यसमा कुनै सत्यता छैन, ठूलो पार्टीमा सामान्य विभेद हुनु स्वभाविक हो तर, सबै कुरा छलफलको माध्यमबाट टुंगिन्छ ।’

अर्को प्रशंगमा नेपालले समयमै पुल तथा सडक निर्माण नगर्ने ठेकेदारलाई तत्काल कारवाही गर्नुपर्ने बताए । उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदारको ठेक्का रद्द गरेर कारवाही गर्नुपर्ने घारणा व्यक्त गरे । ‘म आउने क्रममा बाटोमा पुलहरु देँखे धमाधम काम भइरहेको होला भनेको त ६ वर्ष सम्म निर्माण हुन सकेको रहेनछ,’ उनले भने, ‘आखिर त्यस्ता हुतिहारा ठेकेदारलाई कारवाही किन नभएको हो ?’

केही निर्माण कम्पनीहरुले राम्रो काम गरे पनि निर्माण क्षेत्र अहिले वद्नामी भएको नेपालको भनाई छ । ‘विदेशमा ठूला ठूला परियोजनाहरु आठ÷नौ महिनामै सम्पन्न हुन्छन्,’ उनले भने, ‘ठूलाठूला एरपोर्टहरु एक वर्षमै तयार भएका छन् तर, हाम्रो मुलुकमा सडक तथा पुल निर्माणको काममा ढिलाई भइरहेको छ ।’ राजनीतिक दलका केही नेताहरुको संरक्षण र आडमा ती ठेकेदारले अटेर गरेको नेपालले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *