शहरीकरणलाई व्यवस्थित गर्ने घोराहीको योजना,ग्रामीण क्षेत्रमा पनि अनिवार्य नक्सापास

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 182 Views   ||

पाण्डव शर्मा
घोराही । घोराही उपमहानगरपालिकाले शहरी क्षेत्रलाई व्यवस्थित गर्नका लागि नयाँ नीति अवलम्वन गरेको छ ।
चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा बन्ने नयाँ घरलाई पनि अनिवार्य नक्सापास गर्नुपर्ने व्यवस्थाको कार्यक्रम अघि सारेको छ । चालू अवस्थामा रहेका सबै घरहरुको अभिलेखिकरण राखिने उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए । ‘हामीले गाउँ,गाउँमा अभियान नै सञ्चालन गरेर पुराना घरहरुको अभिलेखिकरण तयार गर्ने छौं,’ उनले भने– ‘उपमहानगरपालिकालाई व्यवस्थित शहरको रुपमा परिणत गर्ने हाम्रो योजना रहेको छ ।’

ग्रामीण क्षेत्रमा भवन बनाउन चाहने सर्वसाधारणहरुका लागि उपमहानगरपालिकाले नमुना नक्सा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । ‘ग्रामीण क्षेत्रमा पनि भूकम्प प्रतिरोधी घर बनाउनैपर्छ,’ चौधरीले भने–‘हामीले भविष्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर काम गरिरहेका छौं ।’नक्सापास गर्ने भन्दैमा सबै भवन पिलर सहितको बनाउनुपर्छ भन्ने बुझाई गलत भएको मेयर चौधरीको भनाई छ । पिलर विना पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिने विधि रहेको चौधरीले जानकारी दिए । ‘भूकम्पिय जोखिमबाट बच्नका लागि सबै घर पिलर वा पक्की हुनुपर्छ भन्ने छैन,’ उनले भने– ‘हामीले काठ तथा माटोको प्रयोगबाट बनाउने घर पनि भूकम्प प्रतिरोधी गराउन सक्छौं ।’

सरकारको नीति नबन्नेहरुलाई कानूनी कारवाही गर्ने महानगरले योजना बनाएको छ । अहिले घोराहीमा अटेरी गरेर मापदण्ड विपरित बनाइएका भवनहरु भत्काउने काम शुरु भएको छ । शुरुमा सचेत बनाउने र सचेत बनाउँदा बनाउँदै पनि भवन बनाउनेहरुको घर कानूनको अधिनमा रहेर भत्काइने उपमहानगरपालिकाले जनाएको छ ।
यहि नीति अन्तर्गत मापदण्ड मिचेर बनाइएका घरहरु भत्काउन शुरु गरिएको छ । उपमहानगरपालिको सचेत गराउँदा, गराउँदै अटेर गरेपछि घोराहीको शहिद गेटमा निर्माणाधीन एक भवनको दुई वटा पिलर भत्काइएको छ । सडकदेखि ६ मिटर दुरी छोडेर भवन बनाउनु पर्ने नियम भएपनि सो भवन निर्धारित दुरी नछोडेर बनाइएको पाइएपछि उपमहानगरपालिको भत्काएको हो ।
उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले सो स्थानमा नरेस विकले बनाउदै गरेको उक्त भवन मापदण्ड अनुसार नभएकाले भत्काइएको जानकारी दिए । उनका अनुसार गत साउन १५ गते तत्काल काम रोकेर प्रकृया पु¥याउन उपमहानगरले पत्र काटेको थियो । तर, विकले अटेर गरेर भवन निर्माण शुरु गरेका थिए ।

उपमहानगरले जनप्रतिनिधीहरु आएपछि मापदण्डलाई मिचेर बनाएर सबै संरचनाहरु भत्काउने चेतावनी दिएको छ । कानुनको उलङ्घन गरेर काम गर्ने कसैलाई अधिकार नभएको भन्दै मापदण्ड बिपरित बनाईएको संरचनाहरु भत्काउने बताएको हो ।
मुख्य सडकमा सडकको बिच देखी २१ मिटर र किनार देखी ६ मिटर छोडेर मात्रै संरचना बनाउन पाईने नियम रहेको छ । नगर प्रमुख चौधरीले मापदण्ड बिपरित नियम मिचेर बनाईएका त्यस्ता संरचनाहरु सूचि तयार पार्न समेत पूर्बाधार महाशाखालाई निर्देशन दिईसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *