राप्तीको रुवाई

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 453 Views   ||

नियात्रा ः
भेषराज रिजाल
यस्तै तालले पुगिन्छ त गन्तब्यमा ।गुँडतिर फर्किरहेका चराहरू गोधुलीको धमिलो क्षितिजमा हराउँदै थिए,तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खंलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यास लाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल । सम्बत २०७२ साल माघीको दिन घोराहीस्थित बाह्रकुने दहको मेला हेरेर खलङ्गा पुगेथ्यौँ टोलराज र म । खलङ्गालाई आधार शिविर बनाएर स्वर्गद्वारी समेत टेकेथ्यौँ हामी । धेरैदिन देखि नारायण भण्डारीको पाहुना भएर बसेका हामी काठमाडौं जान निक्लिएथ्यौँ आज ।

बाग्दुले बूढाले आँगनबाट खोरतिर सार्दै थियो बाख्रापाठा । घिच्याउँदा र तान्दापनि म्याँम्याँ गर्दै बूढासँगै मायालु अनुनय गरिरहेथे पाठाहरू । मेरो मस्तिष्कमा भने नाचिरहेथे बाह्रकुने दह किनारमा काटिएका भेडाका पाठाहरू । पशु जति मायालाग्दा हुन्छन उति नै निरीह पनि ।मान्छेको दयामायामा निर्भर छ तिनको प्राण । अरुको हातमा प्राण सुम्पेर निश्चिन्त रमाउने पशुको मायाले चिमोट्यो मुटु,काटियो मन, हलिल्यो हृदय र रसाए आँखा ।

विस्तारै अँध्यारिँदै थियो डाँडाको फेद । एक्कासी अँध्यारिएथ्यो मनको फाँट । मोटर ग्यारेजका कामदारको गोजी (रुमाल जस्ता देखिन्थे आकासमा बादलका टालाहरू) । ती टालाले अनकन्टार पहाडी बस्तीमा झारेथे आफू जस्तै कालो छाया । सोचेथेँ, चिसो दिनमा भोकानाङ्गा बस्ती माथि छाया झार्ने कालो बादलले दुनियाँको कति सराप खेप्दो हो ? ब्रेक बिग्रिएको बस बिना औजारै मर्मत गर्न लागिरहेथे चालक, सह–चालक र बस धनी । टाइम पासले समेत बिना मिस्त्री बन्दैन भनेर हिँड्यो । मिस्त्री खोजेर बनाउने यात्रुको सुझाब लत्याउँदै घुँडा धसेर कस्सिइरहेथे उनीहरू । यात्रुको टिकटको पैसा फिर्ता दिने त धेरैपरको कुरा ।
ʽफर्कौँ भो खलङ्गै,भोलि बिहानको बस चढौँला ।ʼ टोल तर्क थियो ।

ʽयो बस छोडेर अर्को विकल्प खोजौँ बरु ।ʼ रिजाल राय थियो ।ʽपखौं र हेरौँ, अरु यात्रु पनि त छन ।ʼ भण्डारी भरोसा थियो । यस्तै तर्क, राय र भरोसाको वीरवले खिचडी पकाएर चिसो रातसँग भोका सपनाहरू पसारिरहेथ्यौँ हामी ।चिसो घोलिएको साँझमा न कसैको मनतातो स्पर्श थियो,न कसैको मनहेर्ने मुस्कान । तै पनि हाँस्न विर्सेका थिएनौँ हामी ।
ʽटाइमपासको बस चढ्दा वान्ता नभए अरु कसैकोमा हुँदैन ।ʼ गठिलो ज्यानको ड्राइभर टाइमपासलाई सम्झनु भएथ्यो भण्डारी । भण्डारीको कुराले हाँसिरहेका हामी फेरि मर्माहत भएथ्यौँ । हाम्रो बसको चारै कुनामा उभिएर टाइमपासले भर्खरै भनेको थियो (ʽयो बस केही गरे बन्दैन ।ʼ

एकैछिनपछि दुनियाँका अनेक विरोधाभासलाई चकित पार्दै खलासी कराएथ्यो (ʽबस बन्यो, छिटो चढौँ छिटो ।ʼबस बनेको सुन्दा पनि मन डराइरहेथ्यो । शंकाको सुइरो रोपिएको मन अँध्यारो मुख पारेर बोलेथ्यो (ʽअहिले बने पनि फेरि बिग्रिएर कतै खसाल्ने पो हो कि ? बरु यो चिसो रात बाग्दुले आकास ओढेर बिताउन पाए हुन्थ्यो यतै !ʼसुरक्षित यात्राको लागि सहाराको मसिनो त्यान्द्रो भेटिन्छ कि भनि खोजिरहेथेँ मैले । उल्टै टाउकै माथि मडारिएथ्यो कालो बादल ।

कालो बादलमा पनि चाँदीको घेरो हुन्छ भनेर निकै बेर बादलका आकृति र रुप रङ नियालेथेँ ।अँध्यारोले निल्दै लगेको बादलभित्र कहाँ देख्नु चाँदीको घेरो? रोल्पातिरबाट आउने बस फेला पार्न विकल्पहीन विकल्पको फेर समातेर नचढी भएको थिएन ब्रेक बिग्रेको बस । अनि त,जुम्री, दाखा क्वाडी हुँदै चेरनेटा पुगिएथ्यो । ओझेल हुन लागेको खलङ्गा र सेरोफेरो निरस आँखाले फर्केर हेरेथेँ मैले ।

ऐतिहासिक विरासतको धङधङी ओढेर डाँडामा ठिङ्ग उभिइरहेथ्यो खलङ्गा । रुञ्चे अनुहार लाएको बिजुवार खलङ्गाको छाया मुन्तिर हराइरहेथ्यो अँध्यारोमा । निर्वाहको साँगुरो गोरेटोमा घिस्रिरहेथे पश्चिमी पहाडका गाउँबस्तीहरू ।आशा र आश्वासनको दोबाटोमा अल्मलिइरहेथे राजनीतिका विद्रोही गोरेटाहरू । उस्तै अँध्यारो मुख लाइरहेथे मुलरानीलेक,भित्रीकोट र आसपासका अरू डाँडाकाँडा र लेकहरू । म अक्षरमा उतार्न खोज्छु निन्याउरो पहाडी अनुहार । मलाई थाहा छ,मेरो अक्षरले घट्दैन तिनको उदासी र गरिबी । आत्मरतिमा रमाउँदै आफैसँग सोध्छु (कति हेर्नु गरिबीले खाएको घरआँगन,अभावले निचोरेको अनुहार र फोहोरी खेलले बक्र बनाइदिएको दैनिकी ? बाहिर चन्द्रमाको धमिलो उज्यालो छरिएपनि मनको उज्यालो भित्तामा देखिँदै थियो । (बटारिएर खलङ्गातिर जाँदैगरेको सडक र विशाल फाँट बनाएर त्यसकै छातीमा लडिबुडी खेलिरहेको झिमरुक नदी ।
गाउँघर छोडेर हिँडेको मन बोलिरहेथ्यो एकोहोरो (अपरिचित मान्छेको भीडले बिरानो लाग्ने शहरजस्तो छैन गाउँघर ।

धुलो र फोहोरले ढाकिएर बिरामी भएको शहर जस्तो छैन गाउँघर । उता मान्छेको पदचापले खुइलिएर उजाड भइसक्यो शहर । बरु यता उज्याला आँगनले सम्पन्न लाग्छ गाउँघर । गरिब, मगन्ते र भिखारीको बस्ती भएको छ शहर । मुलुकमा समृद्ध केही छ भने गाउँघरको यही खुला प्रकृति । डरले गालेको मनको भित्तो समातेर चकचके ओर्लिएथ्यौँ हामी । हाम्रै सुरक्षार्थ बस पनि बिस्तारै गुडेझैँ ठानेर पलाएथ्यो थोरै भरोसा ।

माडी नदी किनारको चकचकेमा उभिएर सोचेथेँ( यही बाटो हो हिजो हामी स्वर्गद्वारी पुगेर फर्केको । पाण्डवहरू स्वर्गद्वारी हुँदै स्वर्ग गएको किम्वदन्तीले दुनियाँको लर्को लागेको छ यो बाटोमा । हुन पनि,प्युठान र रोल्पाका सुन्दर पहाडको मालामा गुथिएको एक थुङ्गा फूल रहेछ स्वर्गद्वारी । सामुन्नेका हिमचुलीको मोहक सौन्दर्य र मान्छेको आस्थाले सिङ्गारिएको स्वर्ग रहेछ स्वर्गद्वारी । घोराहीबाट होलेरी हुँदै स्वर्गद्वारी पुगेको स्मृतिसँग पनि मोहित भएथेँ म । माडी नदीको किनारैकिनार कुद्न थालेथ्यो बस । बसको ब्रेक बिग्रेको बिर्सेर गीत पो बजाउनथाल्यो गुरुजी । मानौँ, बाग्दुलामा घण्टौँसम्म मर्मत गरेको बस अर्कै थियो । बसको सिटमा टाँस्सिएका यात्रु पनि निश्चित देखिन्थे । छेवैको सिटमा बसेकी रुपसीको उन्माद, कटाक्ष र हाउभाउ देख्दा लाग्थ्यो, त्योभन्दा खुसी हुनुपर्ने क्षण नै हुँदैन ।
ʽअब चिन्ता नगरौँ बस राम्ररी मर्मत भएछ ! ʼ रुपसीतिर सङ्केत गर्दै बोल्नु भएथ्यो भण्डारी ।
ʽरुपले परिस्थितिको विश्लेषण गर्नेभए शायद ती रुपसी रोइरहेकी हुनेथिइन अहिले !ʼ खोइ किन हो उनको आक्रोशित भएथेँ म । मान्छेले कतिछिटो बिर्सन सकेका त्यत्रो पीडा ?

अक्षम्य अपराध बिर्सेर मुस्कुराउने नेपाली, बानी रत्तिभर मन पर्दैन मलाई । आकास भन्दा विशाल नेपाली, छाती देखेर गौरवान्वित सम्झनाले पनि शिर उँचो हुन दिएन मेरो ! पीरहरूको कालकोठरीमा थुनिएर कसरी कट्ला यो कालरात्री ? एकरात कटाउन पुरै जिन्दगी बिताउन परेजस्तो भइरहेथ्यो । बाहिरको अँध्यारो र बसभित्रको स्तब्धताले निचोर्दै ल्याएपछि मनभित्रै खुम्चिएथेँ म पनि । मनले हजारौँ प्रश्नको तिरमा उनिरहेथ्यो मलाई । कसरी सिर्जिन्छ बिग्रेको बसमा चढ्नैपर्ने बाध्यता ? बिग्रेको बस दुर्घटना भएर यात्रु तलमाथि परे कसले लिन्छ त्यसको जिम्मा, बस चालक वा सहचालकले, बस मालिकले, बस व्यवसायीले वा मुलुकी व्यवस्थाको नियामक सरकारले ? अहँ, कसैले लिनेछैन जिम्मेबारी । केबल दुईचार दिन मिडियाले लिनेछ नाम । न कुनै अनुसन्धान, न कसैलाई कारबाही ! अनि एउटा नियमित भवितब्य सम्झेर सबैकुरा बिर्सने छ दुनियाँले ।
कति भीर पाखामा दौडियो,कति घुम्तीमा मोडियो, रत्तिभर हेक्का थिएन मनमा ।

मनको अँध्यारोमै रुमल्लिएर छोडिएथे देवीस्थान, कुडुले र सिमलचौर । नयाँ ठाउँमा पुग्दा आफैलाई भुलेर संसार हेर्न हतारिन्छु म । हुरुक्क भएको चिजले ज्यान लिन्छ भन्ने सम्झेर चस्किएथ्यो मुटु । बसको गति सुस्त हुँदा मुटुमै ठोक्किएथ्यो खोलाको सुसाइ । पीरको रापले वाफिएको मन सम्हाल्न नसकेर हैरान भएथेँ म । मान्छे कमजोर हुँदोरहे, मन भाँडिए, मन छरिए ।
तन्द्रामा पनि खुस्किरहेथ्यो बसको ब्रेकको हावा । सामुन्नेको पहाडसँग तन्द्रामै बोलेथेँ म, चराहरूको सुरम्य गीतमा मग्न हुन पाउने तँ कति भाग्यमानी । सुकिला हिम टाकुराको दर्पण हेर्न पाउने तँ कति सम्पन्न । नदीको माला लाएर शीतल वनमा खेल्न पाउने तँ कति सुखी । तर, रात ओढेर निदाएको कालो पहाड एक धर्को मुस्कान समेत नछरी भित्तातिर फर्केर टोलाइरहेथ्यो । सोचेथेँ, पहाडको पनि मेरो जस्तै होला चोट र व्यथा ।
बडडाँडा छोडिएथ्यो । दरभानमा रोकिएर चियानास्ता गरिएथ्यो । झिमरुक र माडीको सङ्गम मनोरम ऐरावती देख्न नपाए पनि राप्तीको किनारैकिनार कुद्न थालेथ्यौँ हामी । सम्बत २०६५ साल जेठको पहिलोसाताको सम्झना दिलाएर सुसाएथ्यो राप्तीनदी ।
त्यो दिन आमाले फोनमा डाँको छोडेर रुनु भएथ्यो । राप्ती नदीमा बस खस्दा प्युठानी बन्धु भेषराज रिजालको मृत्यु भएको रहेछ । त्यही खबर सुनेर रुनु भएको रहेछ आमा । आफू जिवितै भएको प्रमाण पेश गर्दै अनेक गरेर आमाको रुवाइ रोकेको थिएँ मैले । साथीभाइ, आफन्त र शुभचिन्तकहरूलाई पनि सम्झाउनु परेथ्यो मैले ।
अहिले फेरि मेरो मनमा तुफान मच्याएर बगिरहेथ्यो राप्ती ।
सुन्दर दृश्य हेरेर गुड्दा गुड्दै कसरी नदीमा खसे होलान बिचराहरू ? सङ्लो पानीको कुन बिन्दुमा बिलाए होला तिनको गतिशील जीवन ? जीवन उत्सव मनाउँदै रमाएकाहरू मृत्युको मुखमा पुग्दा कस्तो कोलाहल वा स्तब्धता छाएहोला त्यहाँ ? त्यो सब मेरो कल्पना बाहिरको संसार थियो । जीवन र मृत्युको बीचमा केही सीमा, समय र दूरी हुन्छ भन्ने सोच्छु म ।

हामी पूर्वपश्चिम लोकमार्ग समातेर भालुवाङबाट पूर्वतिर हानिँदा दक्षिण,पश्चिम वेगिँदैथियो राप्ती । राप्तीले मेरी आमाको चित्कार र आँसु पनि बोकेर बगिरहेथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *