सम्बोधन फूलको

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 309 Views   ||

महोदय,
तिमीले
सुँघ्दैमा मेरो बास्ना रित्तिन्न
तिमीले छुँदैमा मेरो सौन्दर्य
मर्दैन
तिमीले चोर्दैमा
मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो,जो जान्छन
मलाई होइन,
मेरो लाश लिएर जान्छन

भगवान सम्झेर चढाउँछन
जब ढुंगालाई
म उम्रेको माटो मेरो हुन्न
म फुलेको बोट मेरो हुन्न
मैले सजाएको देश मेरो हुन्न
महोदय,
सुनगाभा फुल्ने ठाउँमा लालीगुराँस नफुल्ने
हल्लाले
सयपत्री फुल्ने ठाउँमा
गोदावरी नफुल्ने हल्लाले
मेरो निद्रा बिथोलिरहेछ
र आँखामा नाचिरहेछ
सम्भावित
एउटा महासंग्राम
त्यसैले महोदय,
मेरा लाशहरूको फोहोर
थुप्रिनु अघि
रगतको आहालमा
देश डुब्नु अघि
मेरा हाँगाहरू काट

लाठी देऊ अन्धाहरूलाई
मेरा पातहरू टिप

टपरी देऊ भिखारीहरूलाई
मेरा हाँगाहरू भाँच

बार लगाऊ
यो देशको सिमानामा
मलाई चुँड
र बाँड ती मलिन अनुहारहरूलाई
मेरो मुस्कान
जो रुँदारुँदा हाँस्न बिर्सेका छन
रंग देऊ
ती खुइलिँदै र हराउँदै
गएका टोपीहरूलाई
जसले
अचानोबाट थुतेर बचाउन
खोज्दै छन देश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *