जिल्ला पार्टी एकताको काम चाँडै टुंगिन्छ

  
  प्रकाशित मितिः आइतवार, कार्तिक २५, २०७५       | 274 Views   ||

सुवास पुन,कार्यदल सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ

स्थानीय तहमा पार्टी एकीकरणको प्रकृया पुरा गर्न तपाई सहित ४ जनाको कार्यदल बनेको छ । अहिले कार्यदलले के काम गरिरहेको छ ?

कार्यदलले पार्टीले गर्नुपर्ने दैनिक भइपरी आउने कामहरु गरिरहेको छ । एकताको मुल बिषयमा पनि काम भएको छ । हामीलाई स्थानीय तहको सिफारीस गर्ने भन्ने जिम्मा दिइएको थियो । हामी छिटैं कार्यदलको बैठक बसेर स्थानीय तहको सिफारिस गर्ने छौं ।

अन्यत्र केही जिल्लाहरुले स्थानीय तहमा एकीकरण नै शुरु गरिसकेका छन् । केही जिल्लाहरुले सिफारिसको काम पनि गरेकाछन । दाङले किन ढिला गरेको हो ?

दाङमा पनि एकताको आन्तरिक गृहकार्य भइरहेको छ । तर,देखिने गरी कुनै परिणाम आएको छैन । हामीले पहिलो कामको रुपमा २ वटा पार्टी कार्यालयलाई एकीकृत गरेका छौं । अहिले एउटै छाता मुनी रहेर पार्टीको काम कार्वाही अघि बढेको छ ।त्यसैगरी विभिन्न चार्डपर्वमा संयुक्त रुपमा कार्यक्रम गर्ने काम भइरहेको छ । यहि अन्तर्गत हामीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा विजयादशमी,दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम ग¥यौं । अहिले साथीहरुको व्यवस्तताका कारण एकताको काम हुन नसकेको हो । अब हामी चाँडै बसेर पार्टी एकताको सम्पूर्ण काम टुंगोमा पु¥याउँछौं ।

पछिल्लो घटनाक्रम हेर्दा पार्टी कार्यदल भित्र निकै ठूलो अन्तरविरोध उत्पन्न भएको जस्तो देखिन्छ । एकैदिन कार्यदलका सदस्यहरुले फरक–फरक कार्यक्रम गरिरहनु भएको छ । यसले पार्टी एकतामा कुनै असर गर्दैन ?

हामी बीच कुनै विवाद छैन । हामी जिल्ला कार्यदलको बैठक बसेर विगतमा पूर्व एमालेका साथीहरुले मनाउँदै आएको शहिद दिवसको कार्यक्रम गरौं भनेर छलफल गर्न खोजेका थियौं । केही साथीहरु कार्य व्यवस्थताका कारण बैठकमा आउन नपाउने भन्ने खबर भएपछि हामी बैंठक बसेनौं । जिल्ला कार्यदलको बैठक बसेर कार्यक्रम तय नहुने भएपछि हामीले सम्वन्धित स्थानीय तहको दुबै पार्टीका प्रमुखहरुले निर्णय गरेर शहिद परिवारलाई अभिनन्दन तथा शहिद दिवसको कार्यक्रम गर्नु भयो । हामीलाई पनि आमन्त्रण गर्नुभएको थियो । हामी पनि गयौं । त्यसमा विभाजन भएको वा विवाद उत्पन्न भएको भन्ने होइन । स्थानीय २ पार्टी मिलेर गरेको कार्यक्रममा हामीलाई पनि निम्तो थियो र हामी गएका हौं । हुन त अरु कमरेडहरुलाई पनि निमन्त्रणा गरिएको थियो रे । केही कमरेडहरु आउनु भएन । त्यसपछि अर्को कार्यक्रम पनि भयो भन्ने सुन्नमा आएको छ । त्यो कार्यक्रम पार्टीको वा कार्यदलको निर्णय अनुसार भएको होइन । कुनै पनि पार्टी तहको छलफल वा निर्णयबाट भएको होइन । मैले भर्खरै नाम सुने पूर्व विद्यार्थी समाजले राखेको अन्तक्र्रिया कार्यक्रम रहेछ । यसलाई विवादको रुपमा लिनु हुँदैन ।

तपाईले पार्टीको कार्यक्रम होइन त भन्नुभयो । तर, त्यो कार्यक्रममा आयोजकको रुपमा नेपाल कम्युनिष्ट पार्टीकै नाम उल्लेख थियो त ?

कार्यदलको कुनै पनि निर्णय भएको छैन । कार्यदलले जिल्ला स्तरबाट कुनै पनि कार्यक्रम गर्ने निर्णय गरेको छैन । त्यो व्यानर टागिएको हो भन्ने मलाई लाग्दैन । केही हल्ला तथा सूचना भनेको सुनेका आधारमा टांगिएको थियो रे भन्ने थाहा पाँए । तर, त्यो मलाई सत्य हो जस्तो लाग्दैन् ।
कार्यक्रममा नेकपाको व्यानर टांगिएको साच्चै हो । तपाईले पत्रपत्रिका तथा सामाजिक सञ्जाल हेर्नु भएन छ । अब त्यो विषय कार्यदलको बैठकमा छलफल हुन्छ कि हुँदैन ?
त्यो विषयमा कार्यदलले निर्णयनै गरेको छैन । कसैले आफ्नो इच्छा र चाहनामा व्यानर टाँगेको हो जस्तो मलाई लाग्दैन । त्यो बिषयमा अब छलफल गर्न जरुरी छैन । हामीले कार्यदलबाट नगर्ने निर्णय पनि गरेका थिएनौं । गर्ने निर्णय पनि गरेका थिएनौं । पार्टीले तोकेको कार्यदलमा हामी ४ जना सदस्य छौं । अहिले हामीलाई जिल्ला पार्टी ह्याण्डिल गर्ने जिम्मा पनि छ । विगतमा पनि यो विषयमा कार्यदलमा कुनै निर्णयनै भएको छैन भने अब त्यो विषयमा छलफल गर्नुपर्छ जस्तो लाग्दैन् ।

अहिले बजारमा पूर्व एमालेहरु बीचको गुटबन्दीले गर्दा पूर्व माओवादीहरु निकै अप्ठेरोमा परेको भन्ने सुनिन्छ । पूर्व एमाले बीचको अन्तरविरोधले गर्दा तपाईहरुलाई काम गर्न गाह्रो भएको त छैन ?

त्यस्तो अनुभुति भएको छैन । कार्यदलमा उहाँहरुको तर्फबाट दुईजना सदस्यहरु हुनुहुन्छ । उहाँहरु बीच बैठकमा मतान्तर भएको पाइदैन् । अहिलेसम्मका सबै निर्णयहरु हामीले सर्वसहमतिबाटै गरेका छौं । यसमा कुनै पनि सदस्यको विमति रहेको छैन । अहिलेसम्म कुनै पनि सदस्यले पनि नोट अफ डिसेन्ट लेखेका छैनौं । हाम्रो तर्फबाट पनि दुई जना छौं । बैठकमा हामी ४ जना बीच कुनै खाले अन्तरविरोध छैन ।

कार्यदललाई कुन–कुन कामको जिम्मेवारी दिइएको छ ?

हामीलाई स्थानीय तहका पार्टी संरचनाको विषयमा सिफारिस गर्ने मुल जिम्मेवारी थियो । त्यसैगरी आजसम्मका दुबै पार्टीका पार्टी सदस्यहरुको सिफारिस गर्ने भन्ने छ । त्यो भइरहेको छ । अर्को कुरा पार्टी कार्यालयहरुलाई केन्द्रित गर्ने र एउटै पार्टी कार्यालय सञ्चालन गर्ने भन्ने थियो । त्यो हामीले गरिसकेका छौं । बाँकी पार्टीका नियमित दैनिक गर्नुपर्ने काम छ त्यो माथिको निर्देशन अनुसार हामीले गरिरहेका छौं ।

यी त नितान्त प्राविधिक बिषयका कुरा भए । पार्टीको सांगठनिक एकता भन्दा पनि भावनात्मक एकताको कुरा सबैभन्दा मुख्य हो । तपाईहरु बीच भावनात्मक रुपमा कत्तिको एकता पैदा भएको छ ?

अहिलेसम्म जिल्ला तथा स्थानीयस्तरमा एकता भइसकेको छैन । केन्द्रमा एकता भएको छ । प्रदेशमा सानो एउटा पदाधिकारी टिम बनेको छ । त्यो बाहेक तल्ला निकायमा पार्टी एकताको काम भएको छैन । अहिलेसम्म हामीले गरेको काम र सहकार्य हेर्दा त्यति ठूलो नमिल्ने कुरा देखिदैन् । राष्ट्रियस्तरका दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकता हो । संख्या निकै ठूलो छ । धेरै संरचना छन । यी २ वटा संरचनालाई एउटा संरचना बनाउदा केही जटिलता आउनु स्वाभाविक हो । तर,मुल रुपमा पार्टी एकतालाई नै अप्ठयारो पार्ने गरी कुनै समस्या आउँला जस्तो लाग्दैन् ।

जिल्ला तहमा तपाईहरुलाई दिइएको जिम्मेवारी अनुसार प्राविधिक काम त गरिएकै देखियो । तपाईहरु बीच वैचारिक विषयमा केही कुरा हुन्छ कि हुँदैन ?

बैचारिक रुपमा हाम्रो पार्टीको एकता महाधिवेशनबाट पारित भएको राजनीति प्रतिवेदन र अन्तरिम विधान हामीसँग छ । त्यसैको आधारमा केन्द्रबाट पार्टी सञ्चालन भइरहेको छ । हामीले सो निर्णय अनुसारको केन्द्रिय समिति र खासगरी सचिवालयको मिटिङबाट प्राप्त निर्देशन र प्रदेशको बैठकबाट प्राप्त निर्देशन अनुसार हामीले काम गरेका छौं । गहन ढंगले राजनीति,वैैचारिक र दार्शनिक रुपमा छलफल र बहस गर्न पाएका छैनौं । सबै निर्णय केन्द्रबाट टुंगिएको हुनाले त्यो बिषयमा हामीले थप छलफल र बहस गर्न त्यति आवश्यक छ जस्तो लाग्दैन् ।

दुबै पार्टीका जनवर्गीय संगठनहरु छन् । तिनको एकता केन्द्रबाटनै टुंगो लाग्छ कि जिल्ला कार्यदलले टुंगो लगाउँछ ?

कतिपय जनवर्गीय संगठनको केन्द्रियस्तरमा एकता कार्यदल निर्माण भएको थियो । उसले आफ्नो प्रतिवेदन पेश गरेको थियो । त्यो पेश गरेको प्रतिवेदन पार्टीको केन्द्रिय समिति अन्र्तगत कुनै निकायले छलफल गरेर टुंगो लगाउने छ । एक तह सम्मको निर्णय सम्बन्धित जनवर्गिय संगठनका निकायहरु र सो मातहतमा बन्ने प्रदेशस्तरीय समितिबाट टुंगो लगाउने भन्ने हुन्छ । जिल्लास्तरमा हामी कार्यदल तथा अन्य जिम्मेवार सदस्यहरुसँग सर–सल्लाह पनि होला । त्यस बारेमा हामीलाई अहिलेसम्म कुनै निर्देशन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *