प्रविधिमा बढ्यो किसानको आर्कषण, मेसिनबाटै मकै छर्दै र गोड्दै

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       | 164 Views   ||

दशरथ घिमिरे
लमही । गढवा गाउँपालिका वडा नं.४ कटियान गाउँ निवासी हेमन्त चौधरीले डेढ विगाह जमिनमा उन्नत तरिकाले मकै छरेकाछन् । सिड्रिल मेसिनको प्रयोग गरेर उनले हिँउदे मकै छरे । ‘गोड मेल गर्न मजदुर पाइदैन, त्यही अप्ःठेरो पर्छ’ उनले भने –‘मेसिनको साहेयताले मकै छर्दा बीउ पनि बचत हुने र गोड मेल गर्न पनि सजिलो हुने रहेछ ।’

मेसिनले मकै छरेको कमैले देखेका थिए । गाउँभरीका मानिस जम्मा भए र मेसिनले मकै छरेको हेरिरहे । ‘धेरै ठाउँबाट माग आयो । सबै ठाउँ पुग्दा रात समेत प¥यो’ हेमन्तले भने– ‘मेसिनले मकै छर्ने,मेसिनले नै मकै गोड्दा धेरै फाइदा र सजिलो हुने बुझेर मेसिनबाट मकै छरे । अर्काे पटक सबै बारीमा मेसिननै लगाउछु ।’

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन–मकै कार्यक्रमले दाङको राजपुर र गढवा गाउँपालिकामा प्रविधि प्रदर्शन तथा सिकाई केन्द्र स्थापना गरेपछि किसानहरुलाई उन्नत तरिकाबाट मकै खेती गर्न सहज भएको छ । परियोजना अन्र्तगत ५ स्थानमा सिकाई केन्द्र स्थापना गरिएको छ । राजपुर गाउँपालिकाका वडा नं. २ मटेरीया र गढवा गाउँपालिका ४ को परस्पुर, पर्सा, वडा नं. ६ को वालाखुट्टी र वडा नं. ३ को गोवरडिहामा प्रविधि प्रदर्शन तथा सिकाई केन्द्र स्थापना गरिएको मकै सुपरजोनका कृषि अधिकृत पिताम्बर बस्नेतले जानकारी दिए । ‘ किसानलाई प्रविधि तर्फ आकर्षित गर्न सिकाई केन्द्र स्थापना गरिएको हो’ कृषि अधिकृत बस्नेतले भने–‘मकै रोप्नु भन्दा पहिला जग्गाको तयारी देखि लिएर मकै रोप्ने, गोडमेल गर्ने र भित्रयाउने कार्यसम्म मेसिनको प्रयोग हुने भएकाले यस बारेमा किसानलाई जानकारी दिन थालेका हौं ।’

राजपुर र गढवा गाउँपालिकाको ७ हेक्टर जमिनमा मेसिनद्धारा हिउँदे मकै छरिएको छ । ‘कृषि सहकारी तथा समूहमा आबद्ध किसानहरुलाई लक्षितगरी मकैको उत्पादन बढाउने उद्देश्यले काम भइरहेको छ’ मकै सुपरजोनका प्रमुख महेश रेग्मीले भने– ‘प्रविधिबाट खेती गर्दा आर्थिक रुपमा बचत, समयको बचत र गुणस्तरिय उत्पादन हुन्छ ।’
यसअघि लमही नगरपालिका र राप्ती गाउँपालिकामा मकै सुपरजोनको कार्यक्रम लागू भएको थियो । त्यहाँ कस्टम हाइरिङ्ग सेन्टर र पोस्ट हारवेस्ट सेन्टर स्थापना गरी किसानलाई प्रविधि हस्तान्तरण गरिएको छ । किसानहरुले समूह मार्फत मकै छर्ने मेसिनको प्रयोग गर्दै मकैको उत्पादन गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *