जनयुद्धकी कलाकार बनिन् सफल उद्यमी

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       | 375 Views   ||

रोल्पा । पहिला जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार पनि भूमिगत भए । तत्कालीन सरकारले खुला रुपमा सांस्कृतिक कार्यक्रम देखाउन प्रतिबन्ध लगायो । गीत सङ्गीत प्रति रुची भएकी उनी कलाकार बनेरै छाड्ने निश्चयका साथ १५ बर्षको उमेर नपुग्दै २०५५मा पूर्णकालीन भइन् ।
सांस्कृतिक कार्यक्रम मार्फत जनताका घर, घरमा समानता,न्याय र परिवर्तनका पक्षमा क्रान्तिकारी गीत गुञ्जाउने उनको टोलीलाई जिम्मा थियो । त्यसकै लागि उनी अविराम खटिरहिन् । विसं २०६१ मा जनवादी अन्तरजातीय विवाह गरेकी उनले २०६२ सालमा छोरी जन्मिएपछि छ वर्षदेखि निरन्तर खट्दै आएको सांस्कृतिक मोर्चाबाट बिदा लिनुपर्ने भयो ।
विसं २०६२÷०६३ को आन्दोलनपछि देशमा शान्ति प्रक्रिया आयो । सात बर्ष लामो भूमिगत जीवनको अन्त्य गर्दै सामान्य जीवन बिताउन सदरमुकाम लिवाङस्थित घरमा श्रीमान र छोरीसँग आइन । उनले राजनीतिकर्मीका साथै गृहिणीका रुपमा समेत भूमिका पाइन । शान्ति प्रकृयापछि पार्टीका काम पातलिदै गए कार्यकर्ता वेरोजगार हुने स्थिति आयो । त्यसको विकल्पको रुपमा उनले सिलाइकटाइ सिक्ने सोच गरिन । तीन महिना सिलाइकटाइ सिकेर उनले घरेलु उद्योग स्थापना गर्ने सोचका साथ घरेलु विकास समिति, मेडेप, तत्कालीन जिल्ला विकास समिति लगायत संस्था तथा कार्यालयसँग परामर्श गरिन ।

सबैको सहयोगले उनी लगायत ११ जनाको शेयर रहने गरी घरेलु उद्योग दर्ता भयो ।शुरु शुरुमा उद्योगले झोला, पछ्यौरा र अल्लोको कपडा उत्पादन गरेर बिक्री गथ्र्यो । जिल्लाभर झोलाको राम्रो बजार भएका कारण आम्दानी पनि राम्रो थियो । पछिल्ला दिनमा झोला बुन्ने उद्योग गाउँ गाउँमा स्थापना भएसँगै झोलाको बजार घट्दै गएको उनको भनाइ छ । रोल्पाको आफ्नै उत्पादन अल्लोेलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित अहिले उनको उद्योगले अल्लोको कपडा तयार गर्न थालेको छ ।

जिल्ला बाहिरबाट रोल्पा आउने पाहुनाहरु अल्लोका सामान किन्न उनको उद्योगमा पुग्ने गर्छन । निजामती कर्मचारी, सेना र प्रहरीमा समेत अल्लोबाट निर्मित कोट,इष्टकोट तथा टोपी प्रयोग गर्ने प्रवृत्ति बढेसँगै अल्लोको माग समेत बढेको थापाले बताइन् ।जिल्लाका स्थानीय तहले समेत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै अल्लोबाट निर्मित पोशाकलाई औपचारिक पोशाक बनाउने निर्णय गरेका छन । “रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले उक्त निर्णय गरेर पोशाक तयारी समेत गरिसकेका छन” थापाले भनिन “पुरुष जनप्रतिनिधिका लागि अल्लोको कोट र महिला प्रतिनिधिका लागि अल्लोको कोट तथा स्थानीय उद्योगबाट निर्मित ऊलनी कपडाको साडी तयार गरीदिएका छौँ ।” जिल्लाका अन्य स्थानीय तहवाट समेत अर्डर आउने क्रम चलिरहेको जानकारी उनले जानकारी दिइन् ।

जिल्लाका धवाङ, गाम, सेरम लगायत स्थानबाट अल्लोको धागो आपूर्ति गर्ने गरेको भूमिका थापाले बताइन् । “कहिलेकाहीँ कम्सल धागो आउँदा उत्पादन नै नराम्रो हुन्छ”, थापाले भनिन् । उनीसँगै ९ जनाले उद्योगका काम गर्छन् । जनयुद्धमा सहभागी भई ज्यान गुमाएकाहरुको परिवार, एकल महिला समेत मिलेर उतm उद्योग सञ्चालन भएको छ । “उद्योगमा अधिकांश जनयुद्धबाट प्रभावितहरु छौँ”,थापाले भनिन् । हरेक सदस्यले मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्दै आएको थापाको भनाई छ । परिवारको पालनपोषण, बालबालिकाको पढाइ र औषधोपचारका लागि सहयोग भइरहेको उनले बताइन् ।उनले विभिन्न पुरस्कार तथा सम्मान समेत प्राप्त गरिसकेकीछिन् । उनलाई घरेलु तथा साना उद्योग विकास समिति रोल्पा, राष्ट्रिय युवा परिषद्बाट ४० वर्षमुनिका युवा उद्यमीलाई गरिने सम्मान र उद्योग मन्त्रालयबाट सम्मान मिलेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *