सरकार आफैं सबैथोक होइन,सरकारले पार्टी चलाउने होइन।

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५       | 345 Views   ||

नारायणकाजी श्रेष्ठ, नेकपा,प्रवत्ता

केही शीर्षनेतासहित पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक छाडेर हिँडेपछि सत्तारुढ राजनीति तरंगित भएको छ, त्यो शीर्ष नेतृत्वलाई समय पालना गराउन मात्र हो कि असन्तुष्टि पनि लुकेका छन् ?

हामीले ‘समय’ कै विषयलाई लिएर बैठक छोडेका हौं। बैठक बोलाउने अनि कुरेर बस्नुपर्ने। तरिका ठीक भएन भनेर यस्तो निर्णयमा पुगेका हौं। विधिको शासन गर्छु भन्ने आफैंले विधि पालना नगर्ने रु पुरानो निर्णयअनुसार १५ मिनेट कुर्ने र कुरेको समयमा पनि बैठकबारे जानकारी केही आएन भने हिँड्ने सहमति थियो। हामीले पार्टीलाई व्यवस्थित गर्ने र समयको महत्व रहेको जानकारी गराउन पनि खरो उत्रेका हौं। बैठक समयमा भएन, केही खबर पनि आएन, काम नभएजस्तो हामी किन पर्खिरहने ?

सधैं यस्तै ढिला हुने हो कि, पहिलो पटक हो ?

यो तहको बैठक नै छाडेर हिँडेको पहिलो पटक नै हो। तर, कुराउने काम धेरै पटक भएकाले समयको पालनबारे कमिटीमा निर्णय नै गरेका हौं। ‘नेपाली समय’ भन्दै मुलुकको बेइज्जत हुँदा पनि नेतृत्वको चेत नखुल्नु दुर्भाग्य हो। समयको उपेक्षा कसैले पनि गर्नुहुन्न।

सरकार नै सहभागी धर्मप्रचारकहरूले गराएको ‘एसिया प्यासिफिक समिट’ प्रतिको आलोचनाका कारण यस्तो भएको त होइन ?

त्यस्तो लाग्दैन। तर, त्यो विषयमा छलफल भइरहेको छ, हुनेछ। यो सम्मेलनको विषयमा म बोल्दै आएको छु। सरकारको संलग्नता जुन स्तर र आयतनमा भयो यो उपयुक्त भएन। सम्मेलन गरिने विषय चर्चामा आएदेखि मैले विमति राख्दै आएँ। निश्चित उद्देश्य र फरक प्रकारको क्रिश्चियानिटी बोकेको आईएनजीओद्वारा गरिने सम्मेलन थियो त्यो। आईएनजीओ पछाडि एउटा निश्चित धर्म प्रचार गर्ने संस्था रहेकाले पनि मैले सम्मेलन गर्न ठीक नहुने बताउँदै आएको हुँ। अन्ततः निश्चित धर्म प्रचार गर्ने विषय सम्मेलनले पुष्टि गर्‍यो। यसको पछाडि युनिफिकेसन चर्च छ भनेर मैले पहिले नै भनेको थिएँ। युनिफिकेसन चर्चलाई आधार बनाएर खडा गरिएको आईएनजीओले कुनै सम्मेलन गर्छ भने सरकारले सक्रिय सहभागिता जनाउनु हुँदैन भनेर मैले भन्दै आएको हुँ। मेरा कुरा सुन्न आवश्यक ठानिएन वा गम्भीरतापूर्वक लिइएन।

सम्मेलनले मुलुकको छवि उचो मात्र बनाएको छैन बाहिरी विश्वमा नेपाललाई चिनाएको छ भन्ने तर्क सरकार, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सल्लाहकारहरूको पनि छ नि ?

यस्तै विषयमा रमेर त यो हालत हुँदै आएको हो। हामीले प्राथमिकता तय गर्न सकेनौं। केहीको घेरामा परेर काम गर्‍यौं। अरूको सल्लाह सुनेनौं। कुनै सानो समूहको इन्ट्रेस्टमा काम गर्दा यस्तो अवस्था आएको हो। जनताले यस्तै काम गर्न यो स्तरको अवसर दिएका हुन् र रु यसमा आत्मसमीक्षा खाँचो छ। माधवजीसँग मेरो केही विषयमा मत मिलेपनि यस्ता विषयमा मिल्दैन। मेरो सम्बन्ध विषयअनुसार हुन्छ। मुलुकको दुर्नाम गर्ने र विश्वमा नै मुलुकलाई आलोचित गराउने यस्ता सम्मेलनको पक्षमा म कहिल्यै छैन र रहने पनि छैन। सम्मेलन गर्न नहुने भन्ने होइन तर सरकारले दिएको महत्व, संलग्नता, निमन्त्रणाको शैलीले कूटनीतिक जगत् हाँसेको छ।

यहाँहरूको स्तरमा हुने छलफल अनि निर्णय पनि सुनुवाइरकार्यावन्यन हुँदैन भने यसको वास्तविक समस्या के होला ?

यो गम्भीरतापूर्वक छलफल गर्नुपर्ने विषय हो। हाम्रो पार्टीमा सरकार, दल, र संसद् सञ्चालनबारे कार्यसूची बनाएर छलफल गर्ने प्रस्ताव पेस भएको छ। त्यो प्रस्ताव स्वीकृत पनि भइसकेको छ। यस विषयमा छलफल हुन्छ। पार्टीमा विधिसंगत ढंगले, संस्थागत रूपमा र सामूहिकताको आधारमा काम हुनुपर्‍यो। सरकार सञ्चालनबारे पार्टीले निर्देश गर्नु पर्‍यो। कतिपय विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक छ। कार्यविधि छलफललाई औपचारिकतामा मात्र सीमित नराखौं भन्ने मेरो मान्यता हो।

दुई दल एकीकृत भएपछि दुई अध्यक्षात्मक प्रणालीमा गएकाले यस्तो समस्या देखा परेको त होइन ?

त्यस्तो लाग्दैन। पूर्व समूहको आधारमा दृष्टिकोण बनेको वा पूर्व समूहको आधारमा मतभेद भएको म देख्दिन। समग्र पार्टीलाई कसरी हाँक्ने वा सञ्चालन गर्ने भन्ने बारेमा सही अभ्यास र निर्देशनमा समस्या छन्। यसमा हामी घोत्लिनैपर्छ। यस विषयमा पार्टीको नेतृत्व र समूहले आत्मसात् गर्दै समाधान खोज्नैपर्छ। नत्र तलैबाट समाधानको खोजी हुन्छ।

दुई अध्यक्षात्मक प्रणाली कायम रहँदा दुर्घटना वा गुटको राजनीतिलाई सहजीकरण हुँदैन र ?

दुई अध्यक्षबीच भने छलफल भएकै छ। कति विषय बाहिर आएका होलान् कति नआएका होलान्। कति सुनिएको होला कति नसुनिएका होला तर दुई अध्यक्षबीच पार्टीको विषयमा छलफल भइरहेको छ। कतिपय विषयमा मतभेद भएपनि सल्लाह नभएको होइन। भएका सल्लाहअनुरूप सरकार अघि बढेको छ कि छैन, त्यसको समीक्षा हुन जरुरी छ।

दलभित्रको भागबन्डा नमिल्दा वा भावनात्मक सहकार्य हुन नसक्दा यस्तो समस्या देखिएको हो कि ?

सांगठनिक विषय अझै टुंगो नलाग्दा केही असर परेको छ। मुख्य कुरा लिडरसीप हो। स्थानीय सरकारलाई पार्टीले गाइड गर्न नसक्ने अवस्था रहनु दुखद् छ। सरकारबारे दलमा छलफल गरेर आधारभूत नीति तथा कार्यक्रम तय गरी अघि बढ्नुपर्छ। दैनिक कार्य सरकारले नै गर्ने हो, पार्टीले हस्तक्षेप गर्दैन। पार्टीले नै सरकार सञ्चालन गर्ने हो। सरकार आफैं सबैथोक होइन। सरकारले पार्टी चलाउने होइन। पार्टीकै घोषणापत्रका आधारमा निर्वाचन जितेर यो सरकार बनेको हो।

दलभित्रको गुट–उपगुटको प्रभावको छाया सरकारमा परेको त होइन ?

नेपाली कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीभित्र गुट छन् भन्ने स्पष्ट हो। वैचारिक राजनीतिक बहसतिर हामी गइसकेको छैनांै। आवश्यकताअनुसार विचारसमूह बन्नुपर्छ भन्ने हाम्रो बुझाइ हो। तर, हिजोका अवशेष हुनु र स्वार्थ केन्द्रबाट अग्रसर देखिनु दुखद् हो। यही गुट देखिएको छ। त्यसलाई मत्थर गर्न पार्टीभित्र वैचारिक छलफल हुनुपर्छ। वैचारिक राजनीतिक लाइन परिमार्जन हुँदैन, छलफल र बहसलाई प्रोत्साहित गर्दै जानुपर्छ। वैचारिक राजनीतिक पार्टी उपेक्षितसँगै स्खलित हुँदै जाने र गुट बन्दै जाने हो भने पार्टी लामो रेसको घोडा हुन सक्दैन। अहिलेको गुट स्वार्थहरूको समीकरणमात्र बन्न पुगेको छ। ठूलो विचार समूहमा मतभेद हुँदा कहिलेकाहीं गुटले बाटो लिन सक्छ तर त्यो विचारमा छलफल हुने भएकाले यस्तो स्वार्थमा केन्द्रित रहन्न। स्थायी गुट सत्ता स्वार्थनिहित हुने भएकाले त्यस्तो व्यक्ति वा समूहको गिरोह पार्टीका विष वृक्ष हुन्। त्यसको संरक्षण गर्नु हुँदैन।

गुटको राजनीतिक प्रभाव सरकारमा पनि परेको हो ?

सरकारले आरम्भमा लिएको स्वतन्त्र परराष्ट्र नीति र पहलकदमी सही थियो। संघीयता कार्यान्वयन गर्न कानुन बनाउन त्यहीअनुरूप बजेट विनियोजन गर्ने काम राम्रा थिए। संघीयता कार्यान्वयन पाटो, सामाजिक सुरक्षालगायतका विषय आफंैमा सकारात्मक पहल हुन्। संघीयता सरल विषय होइन। यसमा काम भइरहेको छ भन्ने सन्देश दिन नसक्नु असफलता हो। संघीयता राम्रोसँग सञ्चालन गर्न लामो अभ्यास भएका मुलुक त चुक्छन् भने हामी भर्खर प्रवेश गरेका छौं। समय लाग्छ। कतिपय सकारात्मक विषय हुँदाहुँदै पनि जनता र समाजको अपेक्षाअनुरूप पूर्ण सन्तुष्ट हुने अवस्था छैन। गम्भीर समीक्षा आवश्यक छ। लक्ष्य पूरा गर्न हामीले धेरै धैर्य गरेर सहिष्णु भएर काम गर्ने हो। सरकारले धेरै बोल्ने होइन, बोल्ने काम प्रतिपक्षको हो, यद्यपि प्रतिपक्ष शान्त नै छ।

त्यसो भए सरकारको शैलीबाट सन्तुष्ट हुनुहुन्न ?

सरकारका काम समीक्षा गरिनुपर्छ। सरकारको कामबारे दलभित्र छलफल आवश्यक छ। सरकारका सबै कामप्रति पूर्ण सन्तुष्ट हुने अवस्था छैन। जनताले दिएको जिम्मेवारी, राजनीतिक संकट समाधानपछि विकास र समृद्धिको विषयमा अब हामीलाई बोलिरहने छुट छैन। अपेक्षा पूरा गर्न सरकार नयाँ कार्ययोजना बनाएर जानुपर्छ। यो सामान्य बेलाको सरकार होइन, राजनीतिक संघर्षको एउटा अध्याय पूरा गरेर संविधान बनेपछि स्थायी सरकारको रूपमा आएको हो। समाजवादउन्मुख लोकतन्त्र कार्यान्वयन गर्ने र नेपालमा आर्थिक क्रान्ति पूरा गर्ने सरकार हो।

प्राथमिकता तय गर्न सकिएन भन्ने यहाँको बुझाइ हो ?

नयाँ ऐतिहासिक जिम्मेवारी पाएको सरकार भएकाले प्राथमिकतामा ध्यान दिन जरुरी छ। बीपी कोइरालाको सरकारलाई पनि यो सुविधा थिएन। राजाले दिएको अवसरमा उनले काम गर्न सक्थे। तर आफैंले परिवर्तन ल्याएर बनेको सरकार हो। जनताले यति ठूलो जनसमर्थन दिएर त्रिशंकु वा सरकार ढल्ने अवस्था नरहेकाले पनि त्यसतर्फ सोचेर आफ्नो प्रतिवद्धताप्रति गम्भीर हुन आवश्यक छ। व्याप्त भ्रष्टचार र कुशासन मुख्य समस्या हो। यसको अन्त्य नभएसम्म हामी कहीं पुग्न सक्देनौं। अब कुनै कारण देखाएर छुट पाउने अवस्था छैन।

सामाजिक सुरक्षाको विषयमा आलोचना भयो नि ?

पहिलेदेखिकै प्रक्रियामा रहेको र अहिलेको सरकारका पालामा आएकाले हामीलाई जस मिलेको छ। त्यसैले कामको प्रचारलाई पनि ध्यान दिनुपर्ने हो। झन् कम्युनिस्टहरू त काममा केन्द्रित हुने हो, हल्ला र प्रचारमा होइन। कामभन्दा अरू कुराले बढी प्रचार गरिँदा बढी धक्का खाएका हौं।

पार्टीमा मैले भनेको हुनैपर्छ भन्ने धारणा राख्दै आएका प्रधानमन्त्री केपी ओलीले यतिबेला अन्य क्षेत्रको बौद्धिक व्यक्तिमाथि प्रहार गर्नुभएको छ नि ?

हाम्रो पार्टीको एकजना अध्यक्ष हो ओली, जो प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँलाई नेतृत्वमा राखिएकाले हामीले सम्मान गरेका छौं, गर्नुपर्छ। कुन सन्दर्भमा उहाँले त्यो कुरा भन्नुभयो मलाई जानकारी छैन तर उहाँजस्तो व्यक्तिले त्यसो गर्न हुन्छरमिल्छ भनेर म मान्दिन। तर, एउटा सामान्य नेताले पनि असहिष्णु ढंगले प्रस्तुत हुन मिल्दैन। उहाँजस्तो व्यक्तिले आलोचनात्मक चेतका साथ हुने छलफलमा व्यावधान आउने कुरा उठाउनु भएन। लोकतन्त्रका लागि १४ वर्ष जेलजीवन बिताएको भनिरहँदा यस्तो असहिष्णुता सुहाउँदैन।

संघीयताबाट मुलुक पछि हट्न लागेको त होइन ?

त्यस्तो लाग्दैन। संघीयता भन्नासाथ विखण्डन सोच्ने अतिवादी र अर्को जादुको छडी भएको सोच भएकाले यस्तो देखिएको हो। संघीयता भनेको एकात्मक राज्यजस्तो सरल राज्यप्रणाली पनि होइन। यो जटिल नै हुन्छ। जब यसले स्वशासन लागू गराउँछ तब मात्र सफल हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *