नेकपा बैठकमा फरक मतको चाङ

  
  प्रकाशित मितिः शनिबार, पुस ७, २०७५       | 154 Views   ||

 

मङ्सिर २९ देखि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक धेरैको लागि चासो थियो । मूलत यो बैठकबाट पार्टीभित्र देखिएको आन्तरिक विवाद सुल्झाउने, पार्टी एकताका बाँकी काम टुङ्ग्याउने र सरकारका कामको समीक्षा गरेर सरकारलाई जनपक्षीय काम गर्न लगाउने निर्णयको अपेक्षा नेकपाका धेरै नेता–कार्यकर्ताको थियो । नेकपाका धेरै नेता–कार्यकर्ताले अपेक्षा गरेजस्तो स्थायी कमिटी बैठकको तस्बिर देखिएको छैन । बरु यहाँ विवाद सुल्झिनुको सट्टा थप बल्झिँदै गएको छ ।
बैठकमा मौखिक धारणा मात्रै होइन, नेताहरूले लिखित रूपमै समेत फरक मतको चाङ लगाएका छन् । पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डको प्रतिवेदनमा चित्त नबुझेपछि अहिलेसम्म बैठकमा सचिवालय सदस्य बामदेव गौतमसहित भीम रावल र हरिबोल गजुरलेको लिखित असहमति पेश भइसकेको छ ।

प्रदेश कमिटीको पदाधिकारी चयनमा वरिष्ठ नेता माधव नेपालले असोज ५ गते सचिवालय बैठकको निर्णयप्रति ‘असहमति पत्र’ लेखेका थिए । नेता नेपालले असोज १२ गते आफ्नो ‘असहमति पत्र’ पार्टी महासचिव विष्णु पौडेललाई बुझाएका थिए । उनले मुख्यमन्त्री भएकालाई दोहोरो जिम्मेवारी दिन नहुने भन्दै व्यक्तिको नाममै असहमति जनाउँदै फरक मत राखेका थिए । आफ्नो असहमतिलाई पार्टी स्थायी कमिटी बैठकमा राख्न पाउने अडान उनले राख्दै आएका थिए । नेकपाको इतिहासमा पार्टीकै वरिष्ठ नेताले लिखितरूपमै ‘असहमति पत्र’ बुझाउने पहिलो नेता बन्न पुगे । उनले राखेको फरक मत यसअघि नै बैठकको एजेन्डामा छ ।

त्यसबाहेक विभिन्न माग राखेर २१ जना केन्द्रीय सदस्यले मङ्सिर ५ गते पार्टी नेतृत्वलाई बुझाएको ज्ञापनपत्र पनि यो बैठकमा प्रवेश गरेको छ । पार्टीभित्रका बेथितिलाई लिपिबद्ध गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई सम्बोधन गरेर बुझाएको ज्ञापनपत्रमा सचिवालयका धेरै नेताको सकारात्मक देखिएका छन् ।

लामो समयदेखि पार्टीका गतिविधि शून्य देखिएको नेकपामा उक्त ज्ञापनपत्रले एकाएक तरङ्ग ल्याइदिएको थियो । केन्द्रीय कमिटी बैठकको मागसहित ज्ञापनपत्रमा सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्वयका आधारमा नभएको उल्लेख छ । त्यस्तै तत्काल पोलिटब्युरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुङ्ग्याउन उनीहरूले माग गरेका छन् । पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँडमा मनोमानी, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको समेत ज्ञापनपत्रमा उल्लेख गरेका छन् । अहिले चलिरहेको स्थायी कमिटी बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले यिनै विषयमा नेतृत्वको आलोचना गरेका छन् ।

जारी बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमा असहमति जनाउँदै सचिवालयका नेता बामदेव गौतमले १६ पृष्ठ लामो पूरक प्रतिवेदन पेश गरिसकेका छन् । उनले नेतृत्वका कमिकमजोरीसँगै नयाँ प्रस्ताव र सुझाव पेश गरेका छन् । त्यस्तै बैठमा स्थायी कमिटी सदस्य भीम रावलले आफ्नो १४ पृष्ठ लामो नेतृत्वबाटत्यस्तै बैठमा स्थायी कमिटी सदस्य भीम रावलले आफ्नो १४ पृष्ठ लामो नेतृत्वबाट भएका कमिकमजोरी, प्रस्ताव र सुझाव पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *