अब चालकले सवारी चलाउँदा मोवाईल प्रयोग गर्न नपाउने

  
  प्रकाशित मितिः आइतवार, पुस ८, २०७५       | 158 Views   ||

तुलसीपुर । राम्रीमा ठूलो बस दुर्घटना भएपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चलाउँदा मोवाईल प्रयोग गर्न नदिने भएको छ । प्रदेश नम्बर ५ र दाङ, प्रहरी कार्यालयले सवारी चलाउँदा चालकहरुलाई मोवाइल प्रयोग गर्न रोक लगाएको प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्वर अधिकारीले बताए । ‘एक पछि अर्को ठूला दुर्घटनाहरु भइरहेका छन’ उनले भने ‘यसलाई न्यूनीकरण गर्न प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेका हौं ।’

चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकाश ठूला दुर्घटनाहरु भइरहेको भन्दै साना–ठूला जुन सुकै सवारी चलाउँदा मोवाईल प्रयोग गरेको पाइएमा सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कार्वाही अगाडि बढाईने समेत उनले जानकारी दिए । सवारी चलाउँदा कुनै पनि चालकले मोवाईलमा कुरा गरेको पाइएमा यात्रुले पनि प्रहरीलाई जानकारी दिनुपर्ने उनले बताए । ‘यात्रुहरु सचेत भएर यात्रा गर्दा अझ सुरक्षित हुन्छ’ उनले भने‘ हामीले ट्राफिक र सह चालकलाई राखेर ठाउँ,ठाउँमा यात्रुलाई सचेतना र जानकारी दिन अभियान समेत शुरु गर्न लागेका छौं ।’

विशेष गरि लामो रुटमा सञ्चालन हुने सवारी साधनलाई रिफ्रेस सेण्टरमा १५ मिनेट रोकेर यात्रुलाई गन्तव्यमा पुग्न लाग्ने समय पार गरेको दुरी पुग्नुपर्ने बाँकी दुरी र समयका बारेमा जानकारी दिनुपर्ने प्रणालीलाई ब्यबस्थित बनाउन थालेको समेत उनले बताए । यात्राका क्रममा केही समस्या आएमा तत्काल प्रहरी र गाडी धनी तथा सहचालकको नम्बर सहित सार्वजनिक गरेर गाडिहरु पठाउने अभियान सञ्चालन गर्न लागेको उनको भनाई छ ।
अधिकाश दुर्घटना चालकको लापरवाही र सडकको कारण देखिएको भएपनि सवारी साधनको अवस्था र जनचेतनाको कमीले हुने गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *