‘गणतन्त्र ल्याउन हाम्रो रगतको योगदान छ, हाम्रा माग सुन्नुहोस्’

  
  प्रकाशित मितिः आइतवार, पुस ८, २०७५       | 203 Views   ||

काठमाडौं,। तत्कालिन सेनासँग भिँड्दा करङ भाच्चिएका २७ बर्षिय पूर्वलडाकू मंगलसिंह प्रजा वीर अस्पतालमा अनशनरत छन् । तत्कालिन माओवादी विद्रोहका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डलाई उनको सिधा प्रश्न छ– हामीले के पायौं

उनी जोड्छन्, ‘तत्कालीन एमाले र नेपाली कांग्रेस पार्टीका सामान्य कार्यकर्ताले मात्र कैयौं कमाए होलान् तर हामी लडाकू थियौं । हामीले एक रुपैया पाएनौं । माओवादी भएकै कारणले मेरो विजोग भयो । हामीलाई प्रचण्डले चिन्नुहुन्न होला तर हामी चिन्छौं । त्यसैले हामीलाई भेट्नुहोस्, हाम्रा माग सुन्नुहोस् । म पनि जनयुद्धको एउटा सिपाही हुँ । मेरो दाइ पनि सिपाही हुनुहुन्थ्यो, वित्नुभयो तर कसैले केही पाएका छैनौं ।’

मकवानपुर घर भएका प्रजा तत्कालीन सेनासँग पटक–पटक भिडन्तमा परे । तर १२ दिनदेखि अनसन बस्दा पनि कसैले आफ्ना माग सम्बोधन गर्ने बारेमा नसोधेको उनको गुनासो छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका तत्कालीन माओवादी लडाकूलाई अनशनस्थलबाट बुधवार पक्राउ गरि प्रहरीले वीर अस्पताल पुराएको थियो ।

उनीसहित अन्य पाँच पूर्व माओवादी लडाकू पनि अस्पतालमै अनशन बसिरेहका छन् । तत्कालीन विद्रोहको नेतृत्व गरेका प्रचण्ड सत्ताको नेतृत्वमा पुग्दा समेत आफ्नो अवस्था भने दयनीय रहेको उनीहरूको भनाइ छ ।

जुम्ला घर भएका वीरबहादुरको गोलीको छर्रा लागेर दाहिने आँखा फुटेको छ ।

वीर अस्पतालमा अनशनरत परियार प्रश्न गर्छन्, ‘हामीले अनेकौँ दुस्खकष्ट सहेर देशमा परिवर्तन ल्याउनका लागि संविधानसभाका लागि आधा रगत बगायौं नी । यसको मतलब हामीले सुविधा नपाउने भन्ने त होइन नी । राज्यसँग धेरै ठूलो उपहार मागेका छैनौं । लाखौं करोडौँको गाडी, महलको सुविधा पनि मागेका छैनौं । औषधी उपचार गर्न पाउनु हाम्रो अधिकार हो कि होईन रु’

आँखाको चार पटकसम्म शल्यक्रिया गर्दापनि आँखाबाट पीप आउन रोकिएको उनी बताउछन् ।

कालीकोटका संग्रामे सार्कीको गुनासा पनि उस्तै छन् । गोली लागेर दुबै खुट्टामा शल्यकृया भएपनि निको भएको छैन। उनलाई हिँडडुल गर्नैं कठिन छ ।

भन्छन्, ‘प्रचण्डले नभुल्दिनुस् हामी जनयुद्धका योद्धा हौं । गणतन्त्र ल्याउन हाम्रो रगतको योगदान छ । यसलाई नभुलिदिनुस् । मेरो विशेष आग्रह छ, तपाइमार्फत हाम्रा मागहरू सम्बोधन गरियोस् ।’

दैलेख घर भएका नरवीरका पनि तत्कालीन सशस्त्र विद्रोहका नेतृत्वकर्ता र विशेषगरी प्रचण्डसामू अनेकौं प्रश्नहरू रहेका छन् । देब्रे खुट्टा गोलीले छेडेपछि आठौ पटक शल्यक्रिया गर्दापनि निको नभएको उनको पिडा छ । वीर अस्पतालमा पुर्याइनु अघि काठमाण्डूको माइतीघर मण्डलमा झण्डै एक हप्ता यता आमरण अनशनमा बसेका उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको अस्पतालले जनाएको छ ।

नरवीर भन्छन्, ‘प्रचण्डज्यू हामी हिजो पनि तपाईकै सिपाही थियौं र आज पनि तपाईकै सिपाही हौं । हामी अनशन बसिरहँदा तपाइले हाम्रा पाँच बुँदे मागहरू सम्बोधन गर्न राज्यलाई भनिदिनुहुनेछ भन्नेमा हामी आशावादी छौं ।’

बर्दियाका लिलाचन्द्रको पनि गोलीको छर्राका कारण टाउकोमा चोट छ । उपचारका क्रममा सबै सम्पत्ति गुमाएको बताउने उनले यतिका वर्षसम्मपनि राज्यबाट न्याय पाउन नसकेको बताए ।

उनले भने, ‘यो एउटा पार्टीको मात्रै सवाल होईन । यो समग्र राज्यको दायित्व हो । हामीले सामान्य उपचार गर्न पाउनुपर्छ । उपचारका क्रममा मेरो सबै सम्पत्ती गयो, अब बाँकी सास मात्रै छ ।’

जीविकोपार्जन, राहत र स्वास्थ्य उपचारमा बेवास्ता गरेको भन्दै अनशन बसेका उनीहरूले ज्यानको पर्वाह नगरी लडेपनि आफ्नो पुरानो पार्टी, नेता र सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रचण्डलाई अनसनरत कालिकोटका दर्जीको आग्रह छ, ‘म शारीरिक रुपमा अपाङ्ग छु । मेरा बालबच्चा पनि छन् । हामीलाई जसरी हुन्छ बाँच्नका लागि गाँसबास र कपासको व्यवस्था गरिदिनुस् । मसँग अरु केही विकल्प नभएकोले हिजो जुनठाउँबाट हामीलाई आश्वासन दिनुभएको थियो त्यसै अनुसार हामीलाई बाँच्ने आधार बनाइदिनुहोस् ।’

माओवादी सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग तथा घाइते झण्डै ६ हजार भन्दा बढीलाई राज्यले बेवास्ता गरेको उनीहरूको भनाई छ । उनीहरूको पीडा र गुनासाका पोकालाई प्रचण्डले सम्बोधन गर्न सकेका छैनन् । प्रचण्डले मात्र होइन, तत्कालिन माओवादीका कतिपय नेताले पनि सेवा र सुविधाको लहडमा बेवास्ता गरेका छन् । त्यसैले कोही विष बोकेर गृह मन्त्रालयमा पुग्छन्, कोही अस्पतालको बेडमा छटपटाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *