
पुस ३ गते सीएमसीले मेलम्ची आयोजनाको काम छोडेर क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै इटाली फर्किएको थियो । बुधबार सिंहदरमा बसेको संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समिति सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिबापत सरकारसँग सीएमसीले २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको जानकारी दिए ।
खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड रुपैयाँ लाग्ने देखिएको छ । सीएमसीलाई नै आयोजनाको काममा बोलाउँदा क्षतिपूर्तिबापतको रकम बढी तिर्नुपर्ने दायित्व सरकारलाई रहेको छ ।
आयोजनामा अर्को नयाँ कम्पनी ल्याउन ग्लोबल टेन्डरको लामो प्रक्रिया अपनाउनुपर्ने बाध्यता छ । समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति तिरेर आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोड रुपैयाँमा आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने बताएका थिए ।