बारा,पर्सामा आएको हुन्डरी बारे विज्ञ अझै अन्योलमा

  
  प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५       | 138 Views   ||

काठमाडौं , हावा, हुरी र हुन्डरीको जोखिममा पहाड छँदैथ्यो । चक्रवात् शैलीको भूमरीले वर्षेनी पहाडका घर छानोविहीन बनाउँथ्यो । यसपाली मध्यतराईको बारा र पर्सा त्यो चपेटामा परेका छन् । आइतबार साँझ चलेको असिना–पानीसहितको भूमरीले बारा र पर्सामा २९ जनाको ज्यान लियो । झन्डै १ हजार घर भूमरीको मुख्य निशानामा परे । ५ सय घाइते अझै अस्पतालको शय्यामा छन् ।

तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले त्यो कुन प्रकारको आँधी थियो भनेर अहिलेसम्म यकिन गर्न सकेको छैन ।“नेपालमा त्यसप्रकारको आँधी यसअघि देखिएको थिएन,” मौसमविद् विभूती पोखरेल भन्छिन्, “मिडियामा आएको समाचार हेर्दा त्यो टोर्नेडो ९भूमरी० हुनसक्छ । यद्यपि त्यस प्रकारको आँधी पनि यसअघि नेपालमा आएको छैन ।”

चक्रवात होइन

चैत–वैशाख -प्रि–मनसुन_को समयमा मौसममा बदली भइरहन्छ । र, मेघगर्जनसहित असिना–पानी पर्छ, हुरी–बतास चल्न थाल्छ । सामान्यतः बंगालको खाडी र अरेबियन सागरबाट आएको तातो वायु र पश्चिमबाट आएको चिसो वायु एक–आपसमा ठोक्किँदा आँधी–भूमरीको आकार लिने र विनासलिला मच्चाउने मौसमविद्को दाबी छ । यसर्थ आइतबारको आँधीको कारण यहीमात्रै मान्न नहुने तर्क पोखरेलको छ ।

“बारा–पर्साको आँधी सानो स्केलको भएकाले यही नै हो भनेर यकिन गर्न गाह्रो छ । त्यस प्रकृतिको आँधी यसअघि नदेखिएकोले विस्तृत अध्ययन गरेरमात्रै निक्र्यौल गर्नु उपयुक्त हुन्छ,” मौसमविद् राजु प्रधानाङ्ग थप्छन् । उनका अनुसार आइतबारको आँधीलाई ‘चक्रवात्’ भन्न मिल्दैन । ‘चक्रवात्’ विशेषतः बंगालको खाडी, अरेबियन सागरलगायत सामुद्रिक तटवर्ती क्षेत्रमा उत्पन्न हुन्छ । भारत हुँदै नेपाल प्रवृष्ट हुन्छ । र, यो ठूलो आकारको हुन्छ ।

‘‘अरेबियन सागरबाट जुन गतिमा बहन्छ, त्यही गतिमा नेपाल भित्रने हो भने त्यसले निम्त्याउने क्षति अकल्पनीय हुन्छ । तर, नेपाल आइपुग्दा यसको शक्ति क्षीण भइसकेको हुन्छ । र, सामान्य आँधीको रूपमा मात्रै वायुमण्डलमा फैलन्छ,’’ उनले भने ।

टोर्नेडो पनि होइन
आइतबारको आँधीलाई ‘टोर्नेडो’ प्रकृतिको भूमरीका रूपमा समेत कतिपय मौसमविद्ले अर्थ्याएका छन् । प्रधानाङ्गका अनुसार ‘टोर्नेडो’ आँधी बादलको माथिल्लो सतहमा उत्पन्न हुन्छ र ट्युव आकारमा भूमरी बन्दै तीव्र वेगसहित जमिनतिर फैलन्छ । विशेषतः अमेरिकामा यस प्रकृतिको आँधी जान्छ । भयानक विनास निम्त्याउँछ । ‘टोर्नेडो’ आँधी चलिरहने हुनाले अमेरिकी सरकारले केही क्षेत्रलाई ‘टोर्नेडो’ प्रभावित क्षेत्रसमेत नामाकरण गरेको छ ।

“टोर्नेडो आँधी अहिलेसम्म नेपालमा गएको छैन । जाने सम्भावना पनि आँकलन गर्न सकिँदैन,” प्रधानाङ्गले भने । खासगरी प्रि–मनसुनको समयमा स्थानीय वायु सक्रिय हुने मौसमविद्को भनाइ छ ।विशेषतः अरेबियन सागरबाट आएको तातो वायु, पश्चिमबाट आएको चिसो वायु र स्थानीय वायुसमेत आपसमा रगडिँदा मेघ गर्जनसहित असिना खनिने र हुरीबतास चल्ने गर्दछ । सामान्यतः स्थानीय वायु अपराह्नपछि सक्रिय हुन्छ । बारा–पर्साको आँधी पनि यस्तै प्रकृतिको भएको मौसमविद् अनुमान गर्छन् ।

आँधीको तीन दिनपछि अनुसन्धान
नयाँ प्रकृतिको, सानो स्केलको भूमरी चलेकाले आँधीको नामाकरण गर्न गाह्रो भएको पोखरेलको भनाइ छ । उनका अनुसार बुधबार ९आज० जल तथा मौसम विज्ञान विभागको टोली बारामा अध्ययन–अनुसन्धानका लागि निस्किएको छ । विनासको प्रकृति र आँधीको फैलावट हेरेरमात्रै नामाकरण गरिने उनले जनाइन् ।

मौसमविद् प्रधानाङ्गका अनुसार नेपालमा यस प्रकारको आँधीको पूर्वानुमान गर्न सकिने यन्त्र–उप्रकरण–प्रणालीको विकास भइसकेको छैन । पश्चिमी वायु र अरेबियन सागरबाट आएको आँधीको पूर्वानुमान गर्न सकिए पनि स्थानीय वायुको उतारचढाव अनुमान गर्न सक्ने प्रविधि नेपाल भित्रिइसकेको छैन ।यसैले पनि आइतबारको आँधीको पूर्वानुमान हुन नसकेको उनको भनाइ छ । यस्तो आँधीको पूर्वानुमान गर्न राडारको आवश्यकता पर्दछ । सुर्खेतमा मात्रै यस्तो राडार छ ।

विश्व बैंकको सहयोगमा २६ करोड लागतमा यो राडार बनिरहेको छ । र, परीक्षणको रूपमा यसले काम गरिरहेको छ । नेपाल सरकारलाई हस्तान्तरण गरिएको छैन । नेपाल सरकारलाई हस्तान्तरण नगरिएकाले त्यसको लाभ उठाउन सकिएको छैन एकातिर भने अर्कोतिर उक्त मौसमी राडारले २ सय किलोमिटर वरिपरिको मात्रै मौसमको पूर्वानुमान गर्ने क्षमता राख्छ ।

बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने भएकाले पूर्व सतर्कताका लागि नमूनाका रूपमा सुर्खेत र दैलेखको सिमाना रातानाङलामा राडार जडान गरिएकोे हो । रातानाङला समुद्री सतहबाट २ हजार २४४ मिटर उचाइमा छ । जल तथा मौसम विज्ञान विभागकोे मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयले बताएअनुसार राडारले २ सय किमी दूरीसम्मको मौसम र त्यसले निम्त्याउन सक्ने जोखिमबारे पूर्वानुमान गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *