आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

  
  प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५       | 274 Views   ||

काठमाडौं, आर्थिक रूपमा सबल हुँदा महिला आत्मनिर्भर बन्छन्। उनीहरूले पनि आफ्नो र परिवारको आवश्यकता छोराले जस्तै पूरा गर्न सक्छन्। तर छोरा नै बन्न भने सक्दैनन्। चलचित्र साइँलीमा यही विषयको उठान गरिएको छ। जहाँ साइँली पैसा कमाउन बिदेसिन्छे। पाँच वर्षसम्म कमाएको पैसाले ऊ आर्थिक रूपमा सक्षम त हुन्छे तर पितृसतात्मक समाजको सिकार हुन छाड्दिन।

रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता देशमा कत्ति पनि कम भएको छैन। यही परिस्थिति नै नेपाली चलचित्रको मुख्य कथावस्तु बनेको छ। वैदेशिक रोजगारीकै विषय हाल पुरानो भइसक्यो। यद्यपि ‘साइँली’ को कथावस्तु टुइस्ट गरिएको छ।

मदनहरू बिदेसिएको कथा त हामीले सुन्दै र पढ्दै आएका छौं। आज मुनाहरू पनि बिदेसिनु परेको कथा साइँलीले देखाउन खोजेको छ। पति बिदेसिँदा पत्नीहरू बरालिएको कथा सुनाउँदै आएको नेपाली चलचित्रले अब साइँली मार्फत पत्नी बिदेसिँदा पति बिग्रिएको कथा देखाएको छ।

समानताको मुद्दा उठिरहँदा आधा आकाश भनिने महिलाको कथा चलचित्रले बोल्नु पक्कै राम्रो प्रयास हो। तर निर्देशकले साइँली पात्रलाई सशक्त रूपमा प्रस्तुत गर्न सकेका छैनन्।

आर्थिक रूपमा सक्षम साइँली फेरि किन माइती र पतिकै भर पर्न चाहिन् त रु फिल्ममा साइँलीको एक संवाद छ, ‘छोरी मान्छेले आफ्नो घर खोज्दाखोज्दै जिन्दगी बित्दो रहेछ।’ यसलाई महिलाको कमजोरीको रूपमा फिल्ममा दर्शाइएको छ।

आफैंले मन पराएर ल्याएकी श्रीमतीलाई धोका दिएर परस्त्रीसँग सम्बन्ध बनाउने पीताम्बर जस्ता पात्रकै अगाडि साइँली किन झुक्नुपर्ने रु छोरीको रोजाइलाई अस्वीकार गर्ने माइती र पत्नीको कमाइ खान नचाहने पुरुषत्वको चपेटामा साइँलीलाई फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङले उभ्याएका छन्।

महिला खाडी मुलुक पस्नुलाई नेपाली समाजले अझै स्विकार गर्न सकेको छैन। यही विषयलाई लेखकले उठान गरेका हुन्। तर पुरुषसत्तात्मक सोचबाट साइँलीहरूलाई मुक्त गराउन नसक्नु निर्देशकको कमजोरी हो। यहाँ साइँली आत्मनिर्भर भएर पनि परनिर्भर हुन पुगेकिछे।

फिल्ममा गाउँले परिवेश छ। मुख्य भूमिकामा छन् पीताम्बर ९गौरव पहाडी० र पल्लो गाउँकी साहुकी छोरी साइँली माया (मेनुका प्रधान)। यी दुईबीच प्रेम छ। पीताम्बर गरिब छ भने साइँलीको परिवार केही हदसम्म सम्पन्न।

यी दुईमा जातीय परिवेश र संस्कार मिल्दैन। त्यसमाथि पीताम्बरका बुवाले साइँलीको बुबासँग ऋण लिएको प्रसंग सुरुदेखि अन्त्यसम्म नै तगारो बनी राख्छ। यी सबै अप्ठ्यारो परिस्थितिका बाबजुत पीताम्बर र साइँलीले भागेर विवाह गरेका हुन्छन्।

साइँलीको बुवाले यो विवाह नस्विकार्दा ऋण तिर्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ। पीताम्बरलाई विदेश पठाएर पैसा असुल्ने सर्तबमोजिम गाउँकै एक म्यानपावर कम्पनीका व्यक्तिले ऋण चुक्ता गरिदिए पनि पीताम्बर कागजी अप्ठ्याराका कारण विदेश जान पाउँदैन।

ऋण जसरी नि तिर्नुपर्ने भएपछि पीताम्बरको ठाउँमा साइँली बिदेसिने निधो गर्छिन्। यो कुरा पीताम्बरले स्विकार्न सक्दैन र मुनामदन जस्तो यिनीहरूको जोडी बिथोलिन्छ।

आफ्नो श्रीमान्को इच्छाविपरीत साइँली विदेश जान्छे र पैसा कमाएर सबै ऋण चुक्ता गरिदिन्छे। ऋण मुक्त भएपछि पारिवारिक जीवन सुखी हुने उनले कल्पना गरेकी हुन्छे। तर परिस्थिति सोचेजस्तो हुँदैन।

फिल्मको राम्रो पक्ष भनेको छायांकन हो। गाउँले परिवेश र दयाहाङ जस्ता कलाकारले कथाको वास्तविकतालाई उठान गर्न मद्दत मिलेको छ। फिल्मको कथावस्तु दर्शकलाई अन्त्यसम्म नै होल्ड गर्न सक्षम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *