सांसदहरुलाई उद्धार र राहतमा खटिन सभामुखको आग्रह

  
  प्रकाशित मितिः सोमवार, असार ३०, २०७६       | 66 Views   ||

काठमाडौँ, ३० असार । संघीय संसदका सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
सोमबार संघीय संसदको बैठक ९ दिनलाई स्थगित गरी सांसदहरुलाई विपद पीडितको सहयोगमा खटिन आग्रह गर्नु भएको हो । सभामुखले विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपदबाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार,राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न विशेष आग्रह गर्नु भएको छ ।

सभामुख महराले राहत तथा उद्दारमा कुनै कसर बाँकी नराख्न सरकारसँग समेत आग्रह गर्नु भएको छ । ‘प्राकृतिक विपदमा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु’, विज्ञप्तीमा भनिएको छ । ‘साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपील गर्दछु ।’

त्यस्तै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन सभामुख महराले अनुरोध गर्नु भएको छ ।प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सभामुखले सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ ।
संसद बैठक सूचना टाँस गरेर साउन ८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *