पर्यटक तान्दै यी अनौठा ढुंगा

  
  प्रकाशित मितिः शनिबार, कार्तिक २, २०७६       | 240 Views   ||

दाङ, तुलसी पुउपमहानगरपालिका वडानम्वर–१४ स्थित अगमी ड्वाङपुरमा अलौकिक किसिमका ढुङाहरु फेला परेकाछन् । जङ्गलमा भेटिएका ती सम्पदाहरुले सबैको ध्यान खिचेका मात्र छैनन त्यहाँ हेर्न आउने पर्यटकको भिड लाग्न थालेको छ ।

आज भन्दा २ सय वर्ष पुराना मानिने हात्तीढुंगा,जन्ती ढुंगा र राजा महेन्द्रको स्वागतार्थ निर्माण गरिएको बाघढुंगा रहेको भनि त्यहाँ हेर्न दिनहुँ सयौं मानिस पुग्ने गरेका छन ।सबैलाई अचम्मित तुल्याउने ती ढुङाको संरक्षण नहुँदा जीर्ण बन्दै जाने भइरहेको छ । चुरे पर्वत श्रृंङ्खलामा रहेका बहुमूल्य अलौकिक सम्पदाहरु देख्दा जति सुन्दर र आकर्षक देखिन्छन तिनको उत्पत्तिको कथा पनि त्यत्तिकै चाख लाग्दो रहेको छ । जिल्ला सदरमुकाम घोराहीदेखि २० किलोमिटर दक्षिण पश्चिममा रहेका सम्पदाहरु प्रति स्थानीयका आ–आफ्नै मान्यता र विश्वास रहेकाछन् । यिनै विश्वासका आधारमा सम्पदा संरक्षण गर्दै आएका स्थानीय अगुवाहरु अचेल सम्पदालाई पर्यटकीय आकर्षणका केन्द्र बनाउने अभियानमा जुटेका छन । करिव २ सय वर्ष पुरानो मानिने हात्तीढुंगालाई स्थानीयहरुले शक्तिको स्वरुपमा रुपमा लिने गरेकाछन् । करिव १० टन तौलको ढुंगा २५ फिट अग्लो माटोको ढिस्कोमा अडिएको छ ।

२ सय वर्ष पहिलेदेखि यस्तै अवस्थामा रहेको उक्त सम्पदालाई स्थानीयहरुले हात्तीढुंगा भनि नामाकरण गरी प्रचार,प्रसार शुरु गरेकाछन् । टाढाबाट देख्दा ढिस्का ेमाथि हात्ती बसेको जस्तो दृश्य देखिने भएपछि त्यसलाई हात्तीढुंगो भनि नामाकरण गरिएको स्थानीय अगुवा कृष्ण केसीले जानकारी दिए ।
सुन्दर जंगलको फेदीमा रहेको उक्त सम्पदालाई केहीले शिवलिङ्गका रुपमा पनि लिने गरेको भन्दै स्थानीय अगुवा केसीले वजेट अभावका कारण हात्ती ढुंगाको संरक्षण गर्न नसकेको बताउनु भयो । पछिल्लो केही वर्ष यता विस्तारै–विस्तारै माटो बगेर जान थालेपछि सम्पदाको नास भएर जान्छ कि भन्ने चिन्ताले आफूहरुलाई सताउने गरेको केसीले जानकारी दिए ।

अगमी ड्वाङपुरको जंगलमा भेटिएको जन्ती ढुंगाको उत्पत्तिको कथा झन रहस्यमय छ । करिव २ सय वर्ष पहिले उक्त स्थान भएर दुलही सहित गइरहेको जन्ती एकाएक ढुंगामा परिणत भएको किम्बदन्ती रहेको सम्पदा संरक्षण समितिका संयोजक बलबहादुर विश्वकर्माले जानकारी दिए । विश्रामका लागि बसेको जन्ती ढुंगामा परिणत भएको भन्ने किंबदन्ती रहेको उक्त स्थानमा रहेका ढुंगाहरु अनौठो प्रकृतिका देखिन्छन् । त्यहाँ रहेका ढुंगाहरु लक्सरै मानिस बसेझैं देखिन्छन । यतिमात्र होइन दुलही बसेको डोली, दुलाहा बसेको घोडा आकारका ढुंगाहरु समेत त्यहाँ देखिन्छन् । जसलाई स्थानीयहरु जन्तीढुंगा नामाकरण गरी प्रचार प्रसारमा जुटेका छन ।

जहाँबाट दाङ उपत्यकाको सुन्दर दृश्य नियाल्न सकिन्छ । जन्ती ढुंगा र हात्तीढुंगा भन्दा व्यग्लै कथा बाघ ढुंगाको रहेको छ । राजा महेन्द्रको स्वागतार्थ पहाडको काखमा बनाइएको बाघ ढुंगोले बाख्रा खाने गरेको स्थानीयहरुको विश्वास रहेको छ । २०१६ सालमा भ्रमणका लागि बाग्लुङ, प्यूठान हुँदै दाङ आएका राजा महेन्द्रको स्वागतका लागि स्थानीय रामकुमार बिश्वकर्मा र शेरबहादुर बिश्वकर्माले बनाएको बाघढुंगो अत्यन्तै आकर्षणको केन्द्र बनेको छ । नेपालगञ्ज जाने क्रममा राजा महेन्द्रले उक्त बाटो नभई अर्को बाटो प्रयोग गरेका कारण राजालाई आफ्नो कला देखाउन नपाएकोमा अझै दुःख लाग्ने गरेको शेरबहादुर विश्वकर्माले जानकारी दिए । राजा महेन्द्रलाई देखाउने उद्देश्यले बनाइएको ढुंगो प्रति स्थानीयहरुले भिन्दै विश्वास व्यक्त गर्दै आएकाछन् ।

जंगलमा गएका बाख्रा हराउँदा स्थानीयहरुले यही बाघले आफ्नो बाख्रा खायो भनेर गाली गर्ने गरेको भन्दै संरक्षण समितिका संयोजक विश्वकर्माले द्वन्द्वकालमा गस्तीमा गएका नेपाली सेनाका जवानहरुले साँच्चिकै बाघ सम्झेर गोली चलाएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *