पर्यटन र तीर्थस्थलका लागि प्रसिद्ध सल्यान

  
  प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       | 212 Views   ||

सुन्तला  र अदुवाका लागि प्रसिद्ध जिल्ला मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट कृषककहाँ नै पुग्ने गर्दछन् ।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण सम्वद्र्धनको अभावमा ओझेलमा परेको छ ।
तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको कपुरकोटस्थित चर्चित तरकारी बजार केन्द्र हुँदैं सल्यान प्रवेश गर्ने मुख्य नाका हो । जिल्लाको बीच भागबाटनै बगेको शारदा नदीले जिल्लाको सुन्दरता बढाउनुका साथै शारदाका फाँटहरुमा धानबालीका लागि सिचाइको सुविधा प्रदान गरेको छ ।
राप्ती राजमार्ग सल्यान हुँदै रुकुमसम्म पुगेको छ । त्यस्तै,सुर्खेत हुँदै भेरी नदीको तिरैतिर भएर पश्चिम सल्यानको सल्ली बजारबाट पनि सल्यान प्रवेश गर्न सकिन्छ । यो सडकले सुर्खेत हुँदै जाजरकोट पुग्ने गर्दछ ।
कुपिन्डे दह–
सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थलको रुपमा कुपिण्डे दह पर्छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्छ । जिल्ला सदरमुकाम देखि २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड,हरियो जंगल र बीचमा नीलो आकाश झैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे दह ।
कुपिन्डे दहको क्षेत्रफल कति छ भनेर नाप नभएपनि स्थानीयवासीले २ हजार ८ सय क्षेत्रफलमा फैलिएको दावी गर्छन । वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा,टाढा भक्तजनहरु समेत आउने गर्छन । कुपिण्डे दहले वर्षमा तीन रङ् बदल्ने गर्छ,वर्षा,हिउँद र गर्मी याममा दहले रङ बदल्ने विश्वास गरिन्छ ।
रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमान बाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन । दह कै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन ठूलो मेला लाग्छ ।

छायाँ क्षेत्र –
नेपालका सबै शक्तिपीठहरु मध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंगपतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ । सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाँ क्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा–टाढाबाट मानिसहरु आएपनि यहाँ आउने बाटो, आवास, पानी लगायतको राम्रो व्यवस्था हुन सकेको छैन ।
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्छ ।
सल्यानमा बाँके,बर्दिया,जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, दाङ, प्यूठान लगायतका जिल्लाबाट थुप्रै पर्यटक तथा तीर्थयात्रीहरु आउने गर्छन ।
खैराबाङ –
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक,धार्मिक एवं प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं. ११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्य युगमा महादेवले सत्य देवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंङग पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्छ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतल पार्टीबाट एक घण्टा र सदरमुकाम खलंगाहुँदै साढे दुई घण्टा लाग्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्छ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्छ ।
मन्दिरमा सदरमुकाम र शीतलपाटीबाट मोटरबाटो र मन्दिर परिसरमा विद्युत सेवा उपलब्ध छ । मन्दिर २७ रोपनी जग्गामा फैलिएको मन्दिरलाई व्यवस्थित गर्दै प्रचार प्रसार गरेर लैजान सके सल्यान जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको गन्तव्य बनाउन सकिने निकै राम्रो सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *