चुनावसम्म पार्टी प्रवेश गराएर १५ लाख सदस्य बनाउनैपर्छ : गगन थापा

अर्घाखाँची । कांग्रेस महामन्त्री गगन थापाले १४ औं महाधिवेशनपछि पार्टीभित्र गुट, उपगुटको अन्त्य भएको र अब विधिसम्मत पार्टी सञ्चालन हुने बताएका छन् ।

साथै आउँदो तीन तहको चुनावको तयारी थाल्न कार्यकर्तालाई अनुरोध गरेका छन् । कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै थापाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारलाई केपी ओलीको अहमताले सरकार ढलेको बताए ।

‘आउँदो चुनावसम्म पार्टी प्रवेश गराएर १५ लाख पार्टी सदस्य बनाउनैपर्छ,’ थापाले भने, ‘चुनावपछि बहुमत सरकार बनाएर ५ वर्ष जनताको जीवनस्तर बदल्ने, विकास गर्ने, देश बदल्ने, अवस्था बदल्ने र जनतालाई ढुक्कसँग आफ्नै सरकार छ भन्ने गराउँछौं ।’

पार्टीभित्रको झगडाकै कारण कम्युनिस्टले जस्तै कांग्रेसले देशलाई बिग्रन नदिने उनको दाबी थियो । पार्टीभित्र वडादेखि निर्वाचन क्षेत्रको चुनाव कसरी जिताउने भनेर पार्टीभित्र बृहत छलफल गर्दै गाउँमा पुगेर चुनावको तयारीमा लाग्न थापाले कार्यकर्तालाई अनुरोध गरे ।

‘अब पार्टीभित्र गुट-सुट केही हुँदैन, विधिसम्मत पार्टी चल्छ, त्यसमा चिन्ता नगर्नुस् केन्द्रमा हामी मिलाउँछौं,’ थापाले भने, ‘जिल्ला र गाउँमा पार्टी प्रवेश गराएर चुनावमा जित्ने कांग्रेस बनाउनुस् । अब आउँदो चुनावबाट ५ वर्ष कांग्रेसले बहुमतको सरकार चलाएर देशलाई बदल्ने हो ।’

कांग्रेसको एकल बहुमतको सरकार भएपछि रोजगारीको लागि कतार लगायत देशमा जाने युवाको संख्या घटाउने, देशको विकास गर्ने पनि उनले बताए । ‘कम्युनिस्ट बिग्रे, अब कांग्रेसलाई भोट दिनुस् भन्ने होइन,’ उनले भने, ‘अब देश बदल्ने, अवस्था बदल्ने, मुलुकको समग्र विकास गर्ने नारा लिएर अहिल्यै गाउँमा पुगेर मत माग्नुस, चुनावी तयारी थाल्नुस् ।’

आमसभामा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित डेढ सयको संख्यामा एमाले र माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । थापासहित केन्द्रीय सदस्य पुष्पा भुसाल, सञ्जय गौतम हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट दुर्गाफाँट पुगेका थिए । थापा भाषण छोट्याएर काठमाडौं फर्के ।