दाङका यसबर्ष माघी मेला नलाग्ने

  
  प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७७       | 97 Views   ||

देउखुरी, दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन । कोभिड–१९ संक्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन । यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो ।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताए । उक्त मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्युठान, रोल्पा, रुकुमबाट दैनिक करिब २ सय भक्तजन आउने गरेको अध्यक्ष बुढाले बताए । यहाँ मेलामा भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुला हुने गरेको छ । लमहीको रिहारस्थित तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि ठूलो संख्यामा भक्तजन आउने गर्दछन । यस ठाउँमा हरेक वर्ष पुसको २५ गतेबाट चहलपहल सुरु भइ माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ । थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामाभान्जी मन्दिर, तप्तकुण्ड (तातोपानी पोखरी), घ्यू पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी
हिरालाल बाबाले जानकारी दिए । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । लमही बजारबाट २५ किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन । दाङका धार्मिकस्थलमा अघिल्ला वर्षहरूमा माघीमा मेला एक महिनाअघिदेखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *