गढवामा लालपूर्जा वितरणका लागि नापजाँच कार्य शुरु

असोज १४,गढवा । देउखुरीको गढवा गाउँपालिका वडा नं.३ को खैरा गाउँबाट भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अब्यवस्थित बसोबासीहरूले जोतभोग गरिरहेको जग्गा नापजाँच शुरु भएको छ । भूमिहीन दलित, सुकुम्बासी आयोगसँग समन्वय गर्दै गढवा गाउँपालिकाले वडा नं.१ र २को नापजाँच कार्य सम्पन्न गरेर वडा नं.३ मा नाप नक्सा कार्य शुरु गरेको गढवा गाउँपालिका भूमि शाखाका सञ्जित पौडेलले जानकारी दिनुभयो ।

नापनक्सा कार्य शुरु भएपछि वर्षौंदेखि लालपुर्जाबिहीन नागरिकहरुमा पूर्जा पाउने आशा पलाएको छ । यसअघि गढवा–१ र २ मा नापनक्सा कार्य पुरा गरिसकेको गढवा गाउँपालिकाका अमिन नारायण सुवेदीले जानकारी दिनुभयो । हालसम्म वडा नं.१ मा एक हजार पाँच सय सात घरधुरीको नापजाँच गरिएको छ ।
जसमा अव्यवस्थित एक हजार एक सय पाँच, भूमिहीन दलित ९५,भूमिहीन सुकुम्बासी तीन सय सात गरी जम्मा दुई हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ । चार सय १२ बिगाह क्षेत्रफल जग्गा नाप गरिएको अमिन सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं.२ मा दुई सय ४४ बिगाह जमिनको दुई हजार सात सय ९६ कित्ताको नापजाँच गरिएको छ । जस अनुसार अव्यवस्थित नौ सय ३८,भूमिहीन दलित १९, भूमिहीन सुकुम्बासी ५१ गरी जम्मा दुई हजार सात सय ९६ कित्ताको नापजाँच गरिएको गढवा गाउँपालिका भूमिशाखाका सञ्जित पौडेलले बताउनु भयो । यो आर्थिक वर्षमा नापजाँच सकाएर अर्को आर्थिक वर्षमा लालपूर्जा वितरण गर्ने तयारीमा जुटेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।