एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, आवेदन दिनेको भीड

 

६ चैत, काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । देशभर एक लाख भ्यादी प्रहरीका लागि नेपाल प्रहरीले आवेदन खुलाएको हो । काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका प्रहरी कार्यालयहरुमा दर्खास्त दिनेहरुको भीड लागेछ ।

म्यादी प्रहरी बन्नका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्ति हुनुपर्ने छ । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त भएका नेपाली नागरिकले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ ।

आवेदन दिनेहरुले जुन ठाउँबाट आवदेन दिएको हो सोही ठाउँमा चैत १३ गते सम्पर्क गर्नु पर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ । आवेदन ११ चैतसम्म खुला रहनेछ ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।