७ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी कारवाही हुने बताएका छन् ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए ।
यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा आइतबार एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए ।
उनले सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास र नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए ।