भान्सामै रहेका हाम्रा औषधी

डा.मिथिलेश कुमार साह
चरकमा आचार्य चरकको एउटा भनाइ चर्चित छ– जसरी नगरप्रमुखले आफनो नगरको आवश्यकताको समाधान सधैं गर्दछन् र सतर्क रहुन्छन । जसरी सारथीले रथलाई सावधानीपूर्वक राम्रो मार्गबाट अघि बढाउँछन । त्यसरी नै एउटा बुद्धिमान व्यक्ति शरीरका सबै क्रियाहरूको समग्र सम्पादनका लागि सदैव सचेत रहनुपर्ने हुन्छ। अहिले, मानिसले आफनो
शरीरको ख्याल नराख्दा विभिन्न स्वास्थ्य जटिलता उत्पन्न भएका छन । सरुवा रोगले महामारीको रूप लिइरहेका छन । आयुर्वेदमा स्वस्थ जीवनका लागि विभिन्न मार्ग बताइएको छ । हाम्रो दैनिक खानपानको यसमा ठूलो भूमिका रहन्छ। हाम्रो समाजमा एउटा समूह मसला खानै हुँदैन भनेर प्रचार गरिरहेको छ । अर्को समूह, मिठो स्वादका लागि अत्यधिक रूपमा मसला प्रयोग गरिरहेको छ। हामीले सन्तुलित रूपमा मसलाको प्रयोग गर्ने हो भने यसले हामीलाई निरोगी रहन सहयोग गर्छ । हाम्रो भान्सामै औषधीय गुण भएका जडीबुटी उपलब्ध हुने भएकाले हामीले घरमै पकाएका खाने कुरामा जोड दिन जरुरी छ ।
सुठोः
सुकेको अदुवा धुलोलाई हामी सुठो भन्छौं ।यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, खाना पचाउन सहयोग गर्ने गर्छ । पानीमा सुठो उमालेर पिउँदा दम,रुखाखोकी, श्वासप्रश्वास,
ज्वरो, बान्ता, पेट दुख्ने,बाथ, ढाड दुख्ने लगायत समस्या समाधानमा मद्दत मिल्छ।
मरिच ः
अहिले रुखाखोकीको मौसम चलिरहेको छ । यसले रुघाखोकी,टन्सिल, पिनास, दम, टाउको दुखेको लगायत समस्या समाधानमा सहयोग गर्छ । खाना खाइसकेपछि दुईवटा मरिच खाँदा खाना राम्ररी पच्छ ।
बेसारः
यसलाई कोभिड कालमा पनि धेरैले प्रतिरोधात्मक औषधिका रूपमा प्रयोग गरे । यसलाई पनि रुघाखोकी, टन्सिल भएका वेला पानीमा उमालेर पिउन सकिन्छ।
ज्वानोः ज्वानोपानी रुघाखोकी र ज्वरोमा निकै राम्रो हुन्छ । जिउ, हात दुख्ने, जोर्नी दुख्ने लगायत
बाथरोगमा ज्वानोले सहयोग गर्छ । यसले शरीरलाई तातो
बनाउँछ ।
मेथीः
मधुमेहका बिरामी, जसलाई बारम्बार पिसाब लाग्छ, त्यस्तो बिरामीलाई मेथी निकै लाभकारी छ । यसले
ज्वरोलाई पनि निको पार्छ । बाथरोग, जन्डिस, रुघाखोकी, कफ बढेको अवस्थामा पनि यसको प्रयोग गर्न सकिन्छ । मेथी पिसेर लगाउँदा वा यसको पानी पिउँदा छालामा डन्डिफोर आउने समस्या कम हुन्छ ।
तुलसीः
हाम्रो भान्सामा पाइने जडीबुटी मध्ये तुलसी पनि एक हो । धेरै रोग निको पार्न सक्ने गुण भएकाले हामी यसलाई भगवानका रूपमा पुज्छौं । तुलसीको नियमित प्रयोग गर्दा प्रतिरोधी क्षमता बढ्छ। मुटुको समस्या, मिगौंलाको समस्या, दमको समस्या, ज्वरो, रुघाखोकी लगायतमा यसले राम्रो काम गर्छ ।
प्याज ः
प्याजले शीतलता प्रदान गर्छ । मुटु सम्बन्धी समस्या भएका, एनिमिया (ब्लड काउन्ट कम भएको अवस्था), कब्जियतका
बिरामीका लागि पनि यो लाभकारी छ ।
जिराः शरीरमा गर्मी हुने, जिउ–हात पोल्ने, पिसाब पोल्ने लगायत समस्यामा जिरा प्रभावकारी मानिन्छ । यसले गर्मीमा शीतलता प्रदान गर्छ ।
तिल ः तिल पनि औषधीय गुण भएको जडीबुटी हो । यसले छाला सम्बन्धी रोग
(मुखमा आउने पोतो, दाग, धब्बा) हटाउन तथा कम्मर दुखाइ कम गर्न सहयोग गर्छ। अलि मोटो मानिसले तिल खाँदा तौल नियन्त्रण हुन्छ । तर,धेरै दुब्लो मानिसले तिल खानु राम्रो हुँदैन ।
तेजपत्ता ः तेज पत्ताले कुनै पनि खानालाई हल्का बनाउँछ । शरीरलाई पनि कोलेस्टोरेलहरू बढेको अवस्थामा राम्रो काम गर्छ । यसले रुघाखोकी,ज्वरो, घाँटी बस्ने अवस्थामा पनि
राम्रो गर्छ ।
लसुनः
घाँटी बसेर स्वर बिग्रिएको वा बोल्न नसक्ने अवस्थामा स्वर खुलाउन यसले राम्रो काम गर्छ ।
नोटः यी जडीबुटीको प्रयोग मात्रा मिलाएर गर्नुपर्ने हुन्छ । स्वादका लागि अत्यधिक प्रयोग गर्दा उल्टै हानि हुन सक्छ । रोगसँग
जुधिरहेका,औषधि सेवन गरिरहेकाहरूले सम्बन्धित चिकित्सक वा आयुर्वेदिकचिकित्सकसँग परामर्श गरेर आवश्यकता अनुसार यसको प्रयोग गर्न सकिन्छ ।