गर्मीबाट बच्ने उपाय

गर्मी बढिरहेको छ । स्वास्थ्य विशेषज्ञले सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कन सल्लाह दिइरहेका छन ।
चर्को घामका कारण शरीरमा तापमानको सन्तुलन बिग्रेर ‘ल’ु लाग्ने खतरा बढी हुन्छ । गर्मीका कारण धेरैजसो मानिसमा कडा टाउको दुख्नु बाहेक चक्कर लाग्ने, बान्ता हुने पखाला लाग्ने, वाकवाकी लाग्ने,बेचैनी हुने, उच्च ज्वरो आउने र घबराहट हुने गर्छ ।
गर्मीबाट बच्ने उपाय
– गर्मीमा दिनभरि ३–४ लिटर पानी पिउनुस् । तिर्खा नलागेको भए पनि हाम्रो शरीर प्रणालीलाई चिसो पार्न प्रशस्त पानी पिउनुस् । यसले हामीलाई निर्जलीकरणबाट पनि बचाउँछ ।
नरिवलको पानी, मोही र कागती पानीजस्ता पेय पदार्थले राम्रो गर्छ । क्याफिन र अल्कोहलयुक्त पेय पदार्थको सेवन कम गर्नुस् किनकि यसले निर्जलीकरण हुन सक्छ ।
– घाममा धेरै समय नबस्नुस्। सनस्क्रिन लगाउनुस् । फराकिलो टोपी लगाउनुस् र घाममा बाहिर निस्कँदा सन ग्लासको प्रयोग गर्नुस् ।
– हल्का रङको खुकुलो र सुती कपडा लगाउनुस्, जसले सजिलै पसिना सोस्ने र शरीरलाई चिसो राख्न सक्छ। टाइट वा पोलिस्टरका लुगा नलगाउनुस् ।
– सकेसम्म छायामा बस्नुस् र शरीरलाई चिसो
राख्नुस् ।
– टन्न खाना नखानुस् । हरियो तरकारीहरू समावेश गर्दै थोरै–थोरै नियमित रूपमा खाना खानुस् । जसले ‘हाइड्रेसन’मा मद्दत गर्दछ ।
– गर्मीले वृद्ध र साना बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ । उनीहरूको विशेष ख्याल राख्नुस् ।
– निर्जलीकरणबाट जोगिनुस्। किनकि यसले शरीरको पसिना निस्कने क्षमतालाई कम गर्छ
– गर्मीमा दिउँसो १२ बजेदेखि ३ बजेसम्मको घाम स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यतिबेला तापक्रम उच्च हुने भएकाले बाहिर जानै पर्छ भने आफ्नो टाउकोमा सुतीको कपडाले छोप्नुस वा छाता र टोपी प्रयोग गर्नुस् ।
– प्रशोधित र तेलयुक्त खाने कुराको उपभोग नगर्नुस्। गर्मीको मौसममा प्रशोधित र तेलयुक्त खानेकुराको सेवन गरेमा यसले शरीरमा तातो बढाउनुका साथै लुको जोखिम पनि बढाउँछ । प्रशोधित,तेलयुक्त र जङ्क फुडले शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन सक्छ ।
गर्मीमा स्वस्थ रहन के खाने ?
काँचो प्याज ः
गर्मीमा काँचो प्याजको सेवनले शरीरलाई चिसो बनाउन मद्दत गर्छ । प्याजमा पाइने गुणहरूले प्राकृतिक शीतलता प्रदान गर्छ ।
सलाद वा चटनीका रूपमा खान सकिने काँचो प्याजले शरीरलाई निर्जलीकरणबाट बचाउन मद्दत गर्छ ।
सौंफ ः
गर्मीमा सौफको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
तपाईं गर्मी स्ट्रोकजस्ता समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ वा यसबाट बच्न चाहनुहुन्छ भने सौँफको सर्बत पिउन सक्नुहुन्छ । सौँफ चपाउन पनि सकिन्छ । आयुर्वेदका अनुसार सौँफमा पाइने गुणले शरीरलाई भित्रबाट शीतल राख्छ र गर्मीको असरलाई कम गर्छ ।
पुदिना ः
पुदिना एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लामेटरी गुणहरूले भरिपूर्ण छ । गर्मीमा पुदिनाको सेवनले पेटलाई शीतलता प्रदान गर्नुका साथै पाचनसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
दही ः
दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउन र पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्छ । दहीलाई सुपरफुडमा गनिन्छ । शरीरमा हाइड्रेसन कायम राख्न र गर्मीको लहरको प्रभावलाई कम गर्न यसले मद्दत गर्छ ।