मावि सौडियारको महायज्ञबाट ३२ लाख बचत

८ पुस,दाङ- घोराही उपमहानगरपालिका–७ स्थीत माध्यमिक विद्यालय सौडियारमा संचालन भएको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञबाट ३२ लाख बढी बचत गरेको छ । विद्यालयले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि सञ्चालन भएको महायज्ञबाट संकलन भएको ४४ लाख ७० हजार ४४ रुपैयाँमध्ये ११ लाख ९४ हजार चार सय ३६ रुपैयाँ खर्च भएर ३२ लाख ७५ हजार छ सय आठ रुपैयाँ बचत भएको महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले जानकारी दिएका छन् ।

संयोजक भट्टराईका अनुसार दुई लाख ४२ हजार आठ सय ४७ रुपैयाँ उठ्न बाँकी रहेको छ । संकलित रकमबाट विद्यालयमा सभाहल निर्माण गरिने संयोजक भट्टराईले बताए । सभाहल निर्माणका लागि अहिले डिजाइनको काम भइरहेको भन्दै संयोजक भट्टराईले डिजाइन सकिएपछि महायज्ञबाट संकलित रकमसँगै स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वयसँगै सहयोगमा सभाहल निर्माणको कामलाई अघि बढाउने बताए । महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा पुर्ब बिब्यस अध्यक्ष तथा अनुगमन समितिका संयाेजक भिमप्रकाश खड्का र घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको बिशिष्ट आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा महायज्ञलाई सफल बनाउनका लागि सहयोग गर्ने दातालाई धन्यावादसँगै विभिन्न समिति तथा उपसमितिमा रहेर काम गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगी सभाहल निर्माणकालागि विद्यालयले महायज्ञ लगाएर आर्थिक संकलन गरेको र संकलित रकमलाई सही ढंगले प्रयोग गर्नका लागि सवैले सहयोग गर्नुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले महायज्ञ सञ्चालन गर्न सहयोग गर्नेलाई धन्यावाद ज्ञापन गरेका थिए । विद्यालयका शिक्षक नारदप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णु चौधरीले गरेका थिए ।