माघीमय दाङका थारू बस्ती

माघ २ दाङ, थारू जातिको सबैभन्दा ठुलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको बस्तीमा माघी पर्वको चहलपहल बाक्लो देखिन्छ। विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ–बस्तीमा यो पर्व लाई विशेष उत्सवका रुपमा मनाउने गरिन्छ ।
थारू समुदायको मुख्य पर्व भएकाले यतिवेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको विशेषगरी थारू समुदाय बसोबास गर्ने गाउँ–बस्तीहरु अहिले माघीमय भएका छन । यति मात्र नभएर थारू जातिको
परम्परा,लोकसंस्कृति झल्कने मघौटा नाच,लोकगीतसँगै डफ र मादलको आवाजले गाउँघरहरु गुञ्जियामान छन । माघीको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन थारू बस्तीमा मासुका लागि जिता मार्ने (बंगुर काट्ने) क्रियाकलापबाट शुरु भएर त्यसै दिन राती थारू जातिको संस्कृति अनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, आगो ताप्ने, गन्जी,तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ ।
‘माघे संक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने वेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ । त्यसपछि घरमा भएका पुर्खा तथा आफूभन्दा ठुलाबडाबाट आशीर्वाद लिने परम्परा रहिआएको छ । तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा रहेको थारु अगुवाहरु बताउने गर्छन।
विशेष गरी यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन् । माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डा लगायत कार्यको थालनी हुन्छ । यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त,इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासु लगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने प्रचलन रहि आएको छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ–नयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विशेष गरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोँगी, बंगुरको मासु, माछा, गँगटालगायत स्थानीय खानाका पकवान खाने चलन रहि आएको
छ ।
यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महटवा (अगुवा)को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको
घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बताउनु हुन्छ। उहाँका अनुसार अहिले थारू बस्तीमा नाचगान र खानपिन चलिरहेको छ ।थारु जातीमा माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उहाँले बताउन ुभयो ।
थारू समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताउनु भयो । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उहाँले जानकारी दिनुभयो । मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताउनु भयो ।