स्वर्गद्धारी गुठी पिडित किसान आन्दोलनको समर्थनमा पूर्वमन्त्री– शर्मा

दाङ, काठमाण्डौं माइतीघर मण्डलामा विगत केही दिनदेखि स्वर्गद्धारी गुठी पिडित किसानहरुले गरिरहेको आन्दोलनलाई पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा दाङ क्षेत्र नं. २ की जनप्रतिनिधी रेखा शर्माले समर्थन गदैं आन्दोलन प्रति ऐक्यबद्धता जनाउनु भएको छ । दाङबाट काठमाण्डौं गएर आन्दोलन गरिरहेका स्वर्गद्धारी गुठी पिडित किसानहरुको पक्षमा आफू उभिने प्रतिबद्धता जनाउँदै सांसद शर्माले भन्नुभयो–‘सरकारले स्वर्गद्धारी गुठी पिडित किसानहरूको समस्या तत्काल समाधान गर्ने बाटो खोज्नुपर्ने भन्दै त्यसका लागि तत्काल विधेयक मार्फत कानूनी व्यवस्था गर्न अत्यावश्यक छ’।
पूर्वमन्त्री शर्माले आफू मन्त्री हुँदा गुठी पिडित किसानहरूको समस्यामा निरन्तर प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेको स्मरण गराउँदै, नागरिक आवास र भूमि अधिकार संविधानले ग्यारेन्टी गरेको हो,त्यसैले अदालतको फैसलालाई आधार मानेर संविधानको उल्ङ्घन गर्ने कार्यलाई तत्काल सच्याउनु पर्ने बताउनु ।
पूर्व मन्त्री शर्माले सरकारले ३१ वटा कानुनी संशोधनका विधेयक ल्याउँदा स्वर्गद्धारी गुठी पिडित किसानको पक्षमा कुनै कानुनी नआउँदा सरकारको नियत नै गलत भएको बताउनु भयो । माओवादी केन्द्रकी स्थायी सदस्य रेखा शर्माले आगामी संसद बैठकमा स्वर्गद्धारी गुठी पिडित किसानको माग सम्बोधन गर्न फास्ट ट्रयाक मार्फत विधेयक ल्याएर किसानलाई भूमि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनुभएको छ।
आन्दोलनमा प्रतिबद्धता जनाउन जिल्लाका अर्का जनप्रतिनिधि सांसद माननीय नारायणी शर्मा, रुपा चौधरी र पूर्वराज्यमन्त्री सुसिला श्रीपाली पनि पुग्नु भएको थियो ।