खेमराज न्यौपाने घोराही,
दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अम्राईमा अवस्थित मन्ठोरिया मन्दिर थारु समुदायको गहिरो धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक स्थल हो।थारु भाषामा ‘मन्ठोरिया’ को अर्थ ‘मनोकामना’ भन्ने हुने भएकाले यो मन्दिर मनले मागेको पूरा हुने आस्थाको केन्द्रका रूपमा चिनिन्छ। हरेक वर्ष माघ ३ र ४ गते यहाँ भव्य मेला लाग्ने गर्छ । भक्तजनहरू आफ्ना मनोकामना लिएर यहाँ आउने भाकल गर्ने र पूरा भएपछि पूजाआजा गर्ने परम्परा रहिआएको छ।
मन्दिरको वातावरण भक्तिभाव,विश्वास र सामुहिक एकताको भावले भरिएको हुन्छ।
मन्ठोरिया मन्दिरको वास्तुकलामा मुगल प्रभाव सहितको हिन्दूशैली देखिन्छ। गोलाकार गुम्बज,मेहराबदार ढोका र सादा तर प्रभावशाली भित्ताहरूले मन्दिरलाई ऐतिहासिक र कलात्मक रूपमा महत्वपूर्ण बनाएको छ।यस शैलीले थारु समुदायको कलामा रुचि र ऐतिहासिक महत्वलाई झल्काउँछ। स्थानीय जनकिंवदन्ती अनुसार मन्ठोरिया मन्दिर एकै रातमा निर्माण भएको
भन्ने विश्वास छ। यो विश्वासले मन्दिरलाई अझ रहस्यमय बनाई आगन्तुक हरूलाई रुचिकरबनाएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मंगल चौधरीका अनुसार मन्ठोरियामन्दिर थारु समुदायको धार्मिकस्थल मात्र नभई जीवनशैली,कला र इतिहाससँग गाँसिएको सांस्कृतिक प्रतीक हो। यसको संरक्षण गर्नु समुदायको नैतिक जिम्मेवारी रहेको उनी बताउँछन्।मन्दिर क्षेत्रको पूर्वाधार विकासकालागि घोराही–१०नम्बर वडाले गेट निर्माण,मन्दिर परिसरको सौन्दर्यीकरण,वृक्षारोपण र संरक्षणका लागि तारजाली निर्माण जस्ता कामहरू अघि बढाएको छ। वडाध्यक्ष दीपक पाण्डेका अनुसार मन्दिरको दिगो विकासका लागि प्रदेश,संघ र स्थानीय सरकार तीनै तहबाट सहयोग प्राप्त भइरहेको छ। मन्ठोरिया मन्दिर दाङ क्षेत्रकै प्रमुख धार्मिक पर्यटनस्थल बन्ने ठूलो सम्भावना बोकेको छ। यसको प्रचारप्रसार र
संरचनात्मक विकासलाई अझ तीव्रता दिने योजना वडाले अघि सारेको छ। धार्मिक,सांस्कृतिक र ऐतिहासिक महत्वले भरिएको यो मन्दिर अब पर्यटनको नक्शामा पनि उक्लिने दिशा तर्फ अग्रसर हुँदैछ ।
