कमिरेचौर,दाङ – बंगलाचुली गाउँपालिकाले कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूका लागि तयार पारिएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बंगलाचुली’ आज बुधबार एक विशेष समारोह बीच हस्तान्तरण सहित विमोचन गरेको छ ।
नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्रका पाठ्यक्रम विज्ञ डा.प्रेम तिवारी र शालिकराम पौडेलले उक्त पुस्तक गाउँपालिका अध्यक्ष तुल्सीराम पुनलाई हस्तान्तरण गर्नु भएको छ ।
अध्यक्ष पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई गाउँ पालिकाको शिक्षामा आत्मनिर्भरता र स्थानियतालाई जोड्ने ऐतिहासिक पाइला मानिएको छ । कार्यक्रममा अध्यक्ष पुनले शैक्षिक क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र मानव संसाधन विकासमा विशेष ध्यान दिइएको बताउनु भयो । उपाध्यक्ष भक्त बहादुर जिसिले बालबालिकालाई आफ्नै गाउँ बारे गहिरो ज्ञान दिलाउन पाठ्यपुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्मा, कार्यपालिका सदस्यहरू,शिक्षक तथा विद्यालयका प्रधानाध्यापकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पाठ्यक्रम निर्माण विज्ञ शालिकराम पौडेलले पुस्तकमा समेटिएका विषयवस्तुहरू बारे जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख
ओम प्रकाश केसीले गर्नु भएको थियो ।
